Maoist Attack on Nepal Television
‘Nepal Television (एनटिभि) त माओवादीले लुटेरे नि !’ Maoist Attack on Nepal Television, एका बिहानै कसैले खबर सुनायो । खबर सुनेपछि मेरा हात खुट्टा लल्याकलुलुक भए ।
एनटिभि भन्नाले त्यसबेलाको नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुर, हालको एनटिभि कोहलपुर । हिजो दिउँसो मात्रै टेलिभिजन कार्यक्रम बाल दर्पण रेकर्ड गरेका थियौं । आज २०६१ साल फाल्गुन १४ गते बिहानै यस्तो समाचार सुन्नु पर्यो ।
तत्कालिन विद्रोही नेकपा माओवादीले २०६१ साल फाल्गुन १३ गते राती नेपाल टेलिभिजन कोहलपुरको क्षेत्रिय प्रशारण केन्द्रमा आक्रमण गरेको थियो । जसलाई पुनः सुचारु हुन १३ वर्ष लाग्यो । वि.सं. २०७४ बैशाख १ गतेबाट नेपाल टेलिभिजन कोहलपुर पुनः प्रशारणमा आएको छ ।
वि.सं. २०६१ साल । सशस्त्र द्धन्द्ध रापिलो अवस्थामा थियो । त्यो समय बाँके जिल्लामा बालक्लवहरु पनि सक्रिय रुपमा काम गरिरहेका थिए । बाँकेमा बालक्लवको गठन र सशक्तिकरणमा अग्रणी भूमिका खेल्नुहुने पूर्णचन्द्र उपाध्याय ‘मामाजी’ले नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्रबाट बाल कार्यक्रम प्रशारण गर्ने योजना अघि सार्नु भयो । त्यो बेला केन्द्रिय प्रशारणबाट मात्रै बाल कार्यक्रम प्रशारण हुन्थ्यो ।
कोहलपुरबाटनै बालकार्यक्रम सन्चालन गर्ने भनेपछि खुसी नहुने कुरै भएन ।
टेलिभिजनबाट बाल कार्यक्रम प्रशारण गर्ने त भइयो । त्यसलाई बनाउने र चलाउने को त?
‘होइन बालबालिकाको कार्यक्रम कहाँ बुढाहरुले चलाउनु बालबालिकालेनै चलाउनुपर्छ’, मामाजीको बालकेन्द्रित प्रस्ताव आयो । उहाँकै परिकल्पनामा सम्भवतः पश्चिम नेपालको पहिलो बाल टेलिभिजन कार्यक्रम ‘बाल दर्पण’को न्वारन भयो ।
अनि त्यो टेलिभिजन बाल कार्यक्रमको पहिलो कार्यक्रम सञ्चालक हुने सौभाग्य म अनि मेरा बालक्लवका साथीहरु कृष्णा वली र राजन तामाङ्गले पायौं ।
मेरो लागि पत्रकारितामा प्रवेश गर्ने यो पनि एउटा सुनौलो अवसर बनेको थियो ।
हामीलाई टेलिभिजनमा कार्यक्रम कसरी बन्छ, कसरी प्रशारण हुन्छ भन्ने थाहा पनि थिएन । बाल कार्यक्रम निमार्ण तयारी चलिरहेकै बेला मामाजीले एक दिन भन्नुभयो, ‘बिशाल भाई टेलिभिजन कार्यक्रमको सेट कस्तो बनाउने होला ?’
हामीसँग सरोकार राख्ने सवालमा आफ्नो निर्णय दिन नरुचाउने मामाजीले भनेपछि हामी पनि छलफलमा जुट्यौं । काठको तिन वटा टेबल बनाउने र बिचको टेबल जसमा प्रस्तोताहरु बसिन्छ त्यसमा कार्यक्रमको नाम बाल दर्पण लेख्ने निर्णय भयो । प्रस्तोता बस्ने टेबलको दायाँ तर्फको टेबलमा समान अवसर र बायाँ तर्फको टेबलमा समान सहभागीता लेख्ने टुंगो लगायौं ।
सोही अनुसार बिचमा हरियो रंग पोतेको डेस्कमा कार्यक्रमको नाम बाल दर्पण लेखियो भने दाँया बाँयाको डेस्कमा रातो रंग पोतेर समान अवसर समान सहभागीता लेखियो । सायद विपि चोककौ कुनै फर्निचर पसलमा हामीले यो सेट तयार गरेको झै लाग्छ ।
पहिलो कार्यक्रम रेकर्ड गर्न जाँदा बडो अप्ठेरो महसुस भयो । कार्यक्रम रेकर्ड गर्ने हल अध्याँरो थियो । हलमा बिस्तारै बत्ति बल्दै गएपछिपो थाहा भयो हामी उभिएको माथि थुप्रै लाइटहरु रहेछन् । अनि अगाडी, दायाँ र बायाँ बडेमानका क्यामेराहरु । हामी कार्यक्रम सञ्चालकहरु कहिले काही कुन क्यामेरामा हेरेर बोल्ने भन्नेमा अलमलमा पथ्र्यौ ।
हामीलाई सिकाउने मामाजी त हुनुहुन्थ्योनै, नेपाल टेलिभिजन कोहलपुरका प्राविधिक दाजुहरुले पनि हामीलाई क्यामेरा फेस गर्न सिकाउनुभयो ।
बाल दर्पण कार्यक्रम प्रशारण हुन सुरु भयो । म र कृष्णा हरेक हप्ता विभिन्न व्यक्तित्व तथा बालक्लवका सदस्यहरुलाई बोलाएर बाल अधिकारका विविध पक्षहरुको बारेमा कुरा गथ्र्याै । साथी राजनले बालबालिकाले पठाएका विभिन्न रचनाहरुलाई कार्यक्रममा पस्किन्थे ।
कार्यक्रम रेकर्ड भएको भोलिपल्ट हामीसँगै बसेर कार्यक्रमको सम्पादन गथ्र्यौं अनि कार्यक्रम प्रशारण हुन्थ्यो ।
त्यस बेला हामीले तयार गरि प्रशारण गरेको बाल दर्पणका १६ वटा श्रृंखलाहरुमा अधिकारकर्मी तथा संसद सचिवालयका पूर्व सचिव गोपालनाथ योगी, हाल अमेरिकामा रहनुभएका बालकृष्ण जोशीलगायतका व्यक्तिहरुले अन्र्तवार्ता दिनुभएको थियो ।
हामी त त्यो बेला बच्चै थियौ । सायद मामाजीको त्यो हठले काम नगरेको भए एनटिभीको कार्यक्रम चलाउने त के कसरी रेकर्ड हुन्छ भन्ने पनि थाहा पाइदैन थियो होला । त्यो बेला गाउँ घरमा कमैको मात्र घरमा टेलिभिजन हुन्थयो । त्यस्तो बेलामा पनि हाम्रो कार्यक्रम हेरेर कतिपय बालक्लवकै साथीहरुले कुरा गर्दा नाक फुलेर आउथ्यो ।
सुरुवाती दिनहरुमा त कार्यक्रम सञ्चालन गर्न साह्रै गाह्रो भयो । एक्सन, कटमा धेरै समय गयो । सायद मामाजीलाई एनटिभीका प्राविधिकहरुले कहाँ बच्चाबच्ची टिपेर टिभीमा कार्यक्रम बनाउन ल्याको होला पनि भने होलान । तर हामीले विस्तारै क्यामेराको फेस गर्न जानि सकेका थियौं । एक्सन कटसँग सहज हुन थालेका थियो । हामी टिभिमा कार्यक्रम चलाउन पोख्त हुँदै थियौं ।
बालबालिकालाईनै बाल कार्यक्रम चलाउन दिने मामाजीको हठले काम गर्दै थियो ।
सोहि समय तत्कालिन नेकपा माओवादीको शहर केन्द्रित गतिविधिमा तिब्रता आउन थालेको थियोे । बाँकेमा पनि बजार तिरका प्रहरी कार्यालय तथा सरकारी भवनहरुमा आक्रमण हुन थालेका थिए ।
वि.सं. २०६१ साल फाल्गुन १३ गते, सधैंझै हामी कार्यक्रमको १७ औं श्रृंखला रेकर्ड गर्न कोहलपुर पुग्यौं । त्यस दिनको अतिथि मेरा आदरणीय गुरु तथा तत्कालिन त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरका प्रधानाध्यापक बलराम यादव हुनुहुन्थ्यो । मैले सोही विद्यालयमा कक्षा ६ देखि एसएलसीसम्म अध्ययन गरेको थिए ।
आफ्नो गुरुलाई टेलिभिजनमा अन्तवार्ता लिन पाउनु मेरोलाई अहोभाग्य थियो ।
‘मैले पढाएको बच्चाले आज मेरो इन्टरभ्यु लियो ।’ कार्यक्रम रेकर्ड सकिएपछि बलराम सरले गर्वसाथ भन्नुभएको यो वाक्य मलाई अझैपनि सम्झना छ । कार्यक्रम रेकर्ड सकिएपछि बलराम सरले मेरो विद्यार्थीले यस्तो राम्रो काम गरिरहेको छ भनेर त्यहाँ हुनुभएको अरुसँग पनि कुरा गर्नुभएको थियो ।
यसले मलाई पनि साहै खुसी बनाएको थियो ।
तर अफशोच् बलराम सरले जुन अन्र्तवार्ता दिन पाएकोमा गर्व गर्नुभएको थियो, त्यो अन्र्तवार्ता कहिल्यै प्रशारण हुन पाएन । कार्यक्रम रेकर्ड गरेको भोलिपल्ट कार्यक्रमको सम्पादनको लागि समय निर्धारण भएको थियो । भोली सम्पादनको लागि आउने योजनाका साथ हामी नेपालगन्ज फर्किएका थियौ ।
दुर्भाग्य, त्यो २०६१ साल फाल्गुन १३ गतेको रात थियो जुन दिन नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरमा माओवादीले आक्रमण गरे । कार्यालय र स्टुडियोमा आगो लगाईयो । क्यामेरा तथा महंगा प्राविधिक सामाग्रीहरु लुटेर लगियो । ती सामाग्री कहाँ गयो, कसले लग्यो, कहाँ प्रयोग गरिए थाहा भएन ।
अझ दुःखपूर्ण कुरा हामीले प्रशारण गरिसकेका कुनैपनि कार्यक्रमको रेकर्डहरु सद्दे रहेनन् । आगलागिका कारण हामीले रेकर्ड गरेका कार्यक्रमहरु पुनः प्राप्त गर्न सकिएन ।
म जस्ता अन्य बालक्लवका बालबालिकाहरुको बाल कार्यक्रम बाल दर्पण, लोकनाथ वर्माको सपना यथार्थ लगायतका क्षेत्रीय स्तरमा उत्पादन र प्रशारण हुने टेलिभिजन कार्यक्रमहरुका रेकर्डहरु रहेनन् ।
देशमा दोस्रो पटक जनआन्दोलन भयो । सरकार र माओवादि बिच वृहत्त शान्ति सम्झौता भयो । चुनाव भयो । माओवादी स्वयंम ठुलो दल चुनियो । सरकार बनायो । संविधान बन्यो । तर नेपाल टेलिभिजन कोहलपुरको प्रशारणमा आउन भने १३ वर्ष कुर्नुपर्यो ।
याे ब्लग दैनिक नेपालगन्जमा पनि प्रकाशन भएकाे थियाे ।