फेसबुकमा नेपालगन्ज ग्यालरीको नोटिफिकेशन आयो ।
संविधान थापामगरले पोष्ट्याएका रहेछन् । पहिलो पटक Rail हेर्न बाँकेको शिवपुरीबाट आमा र भाइसँग साइकलमै रुपैडिहा पुगेको बारेमा । उनको पोष्टमा केही फोटोहरु पनि छन् ।
जसमध्येको एउटा फोटोमा रेलको डिब्बामा लेखिएको छ, ‘अलविदा छोटी लाइन मिटर गेज’ बहराइच नानपारा नेपालगन्ज रोडमा चल्ने मिटर गेज रेल १० फेब्रुअरी बाट बिदा भएको छ । छोटी लाइन भनेर चिनिने यो रेललाई विस्थापित गर्न बडि रेल लाइनको निर्माण हुँदैछ ।
संविधानलेझै मैले पनि जीवनमा पहिलो पटक देखेको रेल यहि छोटी लाइन हो । जुन अब विधिवत रुपमै सेवाबाट बिदा भएको छ ।
संविधानको पोष्ट पढेपछि रेलसँग जोडिएको एउटा रमाइलो घटना याद आयो ।
भर्खर एसएलसी सकेको हुनुपर्छ । दाईकाे परिवार भारतकाे हैदरावादबाट फर्कदै हुनुहुन्थ्याे । तिहारको दुई दिन अगाडी । उहाँहरु रेलमा गोण्डासम्म आउने भएकाले म उहाँहरुलाई लिन गोण्डा जाने भए ।
पहिले यात्रा गरेकाहरुसँग सोधखोज गरे । सबैले रुपैडिहाबाट बिहान रेलमा गोण्डासम्म जान सुझाए ।
समय ठ्याक्कै याद भएन । बिहानको नौ बजेको हुनुपर्छ । त्यसबेला सायद २० रुपैया भारु थियो होला रुपैडियाबाट गोण्डा जाने रेलको टिकट । टिकट काटेपनि सिट नम्बर चाही भएजस्तो लाग्दैन ।

म एक्लै पहिलो पटक रेलमा यात्रा गर्दै थिए । अरु नेपालीहरु पनि रेलमा यात्रा गर्दैथिए । म आफ्नो सिट खोज्दै जाँदा एकजना नेपाली बसेको सिट खाली देखे । म पनि त्यही सिटमा बसे । चिनजान भयो । उनि भारतिय सेनामा कार्यरत रहेछन् । घर बिदामा आएका, विशेष परिवेशका कारण पल्टन फर्कन बुलावा आएछ । त्यसैले तिहारको दुई दिन अघि फर्कदै थिए । तिहारको मुखमा पल्टन फर्कनु परेकाले होला उनको अनुहारमा खासै चमक भने देखिदैन थियो ।
‘यस्तै छ हो भाई पल्टने जिन्दगी’, छोटो पारि काटेको कपाल मुसार्दै उनले भने, ‘छुट्टी भनेर के गर्नु आवश्यक पर्यो भने फर्किहाल्नुपर्छ ।’
उनिसँग सामान्य कुराकानी हुँदै थियो । उनि गुल्मी तिरका रहेछन् । चार वर्ष भएको रहेछ भारतीय सेनामा भर्ती भएको । कदकाँठी ठिक्कको, मान्छे भने हट्टाकट्टा । मिजासिलानै थिए ।
मलाई सेनाको अनुभव सुन्ने कौतुहलता थियो । त्यहीबारेमा कुराकानी गर्दै जाँदा हामी बाबागंज पार गरिसकेका थियौं । अघिल्लो स्टेशनमा रेल रोकियो । हाम्रो अगाडिको सिट खाली थियो । भर्खर मुखमा पान च्यापेका तीन जना पुरुष हामी अघिको सिटमा बस्न आए ।
हामी आफ्नै कुराकानीमा मस्त थियौं । हाम्रो अगाडि बस्न आएकाहरुको व्यवहार भने बिस्तारै अस्वाभाविक हुन थाल्यो । म भर्खको फुच्चे केटो देखेर पनि होला उनिहरुले मलाई अलि हेपाहा तरिकाले हेरिरहेका थिए ।
उनिहरुले बोल्ने भाषा पनि अलि अश्लिल खालकै थिए । भला त्यो हामीलाई लक्षित गरेर नभई उनिहरु बिचको कुराकानीमा बोलिएको थियो । तर आमुने सामुने बसिरहेकाले हामीलाई भने असजिलो भइरहेको थियो ।
कता कता अलि हेपिएको जस्तो लाग्यो । केही भनुँ भने उल्टो गाली खाइने हो की भन्ने पनि लाग्यो । म बिचराको त बोल्ने हिम्मत नि कसरी आअाेस । पहिलो पटक रेलमा जो यात्रा गर्दै थिए ।
रेल अगाडि बढ्दै गयो । अगाडिको सिटमा बसेका मित्रहरुको व्यवहार भने अझै अस्वाभाविक हुँदै गइरहेको थियो । त्यो बेलासम्म लाहुरे दाई र म बिचको गफगाफ पनि रोकिसकेको थियो । किनकि अगाडिको सिटमा बसेकाहरुले हामीलाई बोल्न वातावरण दिइरहेक थिएनन् ।
रेल चल्दै थियाे । अगाडीकाे सिटमा बसेकाहरूकाे व्यवहार उस्तै थियाे ।
एक छिन पछि लाहुेर दाई उठे ।
सामान राखेको ठाउँबाट आफ्नो रुकस्याक झोला निकाले । सायद केही सामान राख्नुपर्ने वा मिलाउनुपर्ने थियो होला ।
बोरा जस्तो माथिबाट मात्र मुख खोल्न मिल्ने खालको झोला थियो । लाहुरे दाईले झोला खोले । अगाडिको सिटमा बसेकाहरुले पनि ध्यान दिएर हेरिरहेका थिए । झोला खोल्दा सबैभन्दा माथि लाहुरेको पोशाक देखियो । लाहुरे दाईले आफ्नो पोशाकलाई निकाले अनि अलि तल हात छिराए । एउटा खुकुरी रहेछ । त्यसलाई झोलाबाट पुरै त निकालेनन् तर सबैले देख्न गरी मिलाए जसो गरे । अनि पुनः आफ्नो पोशाक झोलामा हालेर झोलाको मुख बन्द गरे ।
लाहुरे दाइकाे क्रियाकलाप सिट अगाडी बसेकाहरूले हेरिरहेका थिए ।
यति सबै भइराख्दा हाम्रा अगाडि बसेकाहरुको बोलि बन्द भइसकेको थियो । केही बेर अघिसम्म हामिलाई पनि अदृश्य जस्तो बनाएरर ठुला ठुला स्वरमा अश्लिल शब्द प्रयोग गर्दै बोल्नेहरुको बोल्ति बन्द थियो । उनिहरु एकआपसमा हेर्दै थिए तर अघि जस्तो प्रसंग बिनाको संवाद भने बन्द भएको थियो ।
थाहा छैन, लाहुरे दाईले जानी जानी आफ्नो परिचय दिन त्यसो गरेको हुन । अगाडिको सिटमा बस्ने त्यही कारणले चुप लागेका हुन वा कुरा सकिएर चुप लागेका हुन । मैले छुट्याउन सकिन । तर केहीबेर अघिल्लो सिटमा बस्ने मित्रहरुबाट जुन असहजता महसुस गरेको थिए, त्यो भने हराएको थियो ।
लाहुरे दाजु को silent warning अनि सम्झना मा छोटी लाइन को कथा निकै रोचक ।।