Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

KUSH: A Zombie Drug मानव हाडको धुलो हालेर बनाइन्छ कुश !

Posted on August 16, 2024August 21, 2024 by bishalpana

अप्रिल महिनाको अन्तिम साता म पश्चिम अफ्रिकी राष्ट्र सियरालियोनको दोस्रो ठुलो शहर बो पुगेको थिए । भोलिपल्ट अप्रिल २७ मा सियरालियोनले ६३ औं स्वतन्त्रता दिवस मनाउँदै थियो ।

स्वतन्त्रता दिवसको दिन बोमा लागुऔषध कुश विरुद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको थियो । मलाई पनि सहकर्मी साथीहरुले र्यालीमा सहभागी गराए ।

Participating in the rally against Kush drug in Bo City.

हामीले बो शहरको मुख्य भागको परिक्रमा गर्यौं । केही छिनमा र्याली एउटा बस्तीमा छिर्यो । मसँग रहेका मित्रले भने, ‘अब हेर्नु है यहाँ कुश सेवनकर्ताहरु भेटिन्छन् । अनि कुश बिक्रेता पनि ।’

मलाई अलि असहज लाग्यो । तर र्यालीमा भएकाले म पनि उनिहरुसँगै अगाडि बढे । स्थानीय प्रहरीसहितको आयोजनामा कार्यक्रम भएको थियो । मित्रले भनेझै बस्ती भित्र र्याली गरिरहँदा कुश प्रयोगकर्ताहरु भेटिए । ती मध्ये केही त नाबालकहरुपनि थिए ।

बो मात्र होइन सियरालियोनको राजधानि फ्रिटाउन र देशका अन्य भागमा पनि कुशको प्रयोग व्यापक छ ।

के हो कुश? What is Kush?

मैले चिनेको कुश एक प्रकारको घाँस हो । हिन्दु धर्ममा कुशलाई पवित्र मानिन्छ । कुशलाई हिन्दुहरु धार्मिक अनुष्ठान, पुजा, यज्ञ र हवनमा कुशको प्रयोग गर्दछन् ।

तर मैले यहाँ चर्चा गर्न खोजेको कुश भने पवित्र घाँस नभई एक घातक लागुऔषधको हो । जसलाई ‘जम्बि ड्रग’ पनि भनिन्छ ।

कुशको सेवनले अस्वभाविक भागभंगिमा देखिने हुनाले यसलाई जम्बि ड्रग भनिएको रहेछ । यसले पश्चिमि अफ्रिकि मुलुक सियरा लियोनका युवाहरुको जीवन बर्बादितर्फ धकेलेको छ ।

लागुऔषध एक आपतकाल

म सियरालियोन पुग्नु दुई हप्ता अगाडि सियरालियोनका राष्ट्रपति जुलियस मादा बायोले व्यापक लागू औषध दुरुपयोगलाई लिएर राष्ट्रिय आपतकाल घोषणा गरेका थिए । राष्ट्रपति बायोले आप्mनो देशमा बढ्दै गएको लागुऔषध प्रयोगलाई ‘मृत्यु जाल’ भनेका छन् ।

Local police, civil society organization, youth and women groups are taking lead against Kush drug.

राष्ट्रपति बायोले लागुऔषध दुरुपयोगलाई लिएर राष्ट्रिय आपतकालको घोषणा गरेको भएता पनि कुश समस्या समाधानका लागि उचित रणनीति तथा योजना नबनाएको भन्दै उनको आलोचना भइरहेको छ ।

मलाई कुशको बारेमा थप जान्न मन लागेको थियो । कुशको बारेमा बिबिसि अफ्रिका आइज युट्युब च्यानलमा एउटा भिडियो डकुमेन्टी पनि हेरेको थिए । यसमा कुशको प्रयोग र यसले युवाहरुको जीवनको बारेमा पारेको प्रभावको बारेमा देखाइएको छ ।

कुशले निम्त्याएको बर्बादि [Impact of Drug Abuse]

कुशको सेवनले सियेरालियोनियन युवाहरुमा गम्भिर मानसिक स्वास्थ्य समस्याहरु देखिन थालेका छन् । 

आधिकारिक रुपमा सियरालियोनमा लागुपदार्थ कुश प्रयोगकर्ताहरुको यकिन तथ्यांक छैन । यद्यपि बिबिसिले सियरालियोनको एकमात्र मानसिक अस्पतालका को तथ्यांकलाई उद्दृत गर्दै लेखेको समाचारमा सन् २०२० देखि २०२३ सम्म कुशसँग सम्बन्धित भर्नाहरू लगभग ४,०००% ले वृद्धि भई १,८६५ पुगेको छ ।

कुश प्रयोगकर्ताहरु बढ्दै गएता पनि रोकथाम र उपचारको यथोचित व्यवस्था भने हुन सकेको छैन । कुश लागुऔषध छाड्न चाहनेहरुको लागि पनि उचित उपचार तथा हेरचाहको व्यवस्था छैन ।

Participant displaying placard during the rally.

 

बेरोजगारी एक प्रमुख कारण

सियरालियोनको कुल जनसंख्याको ३० प्रतिशत युवा (१८-३५ वर्ष) उमेरसमुहका छन् । सियेरा लियोनमा बेरोजगारी दर उच्च छ । बेरोजगारी र गरिबीले युवाहरूलाई लागू औषधतर्फ आकर्षित गरेको छ । 

यस बाहेक लागु औषधको सहज उपलब्धता पनि एक प्रमुख कारण हो । सियरालियोनले विगतमा धेरै सामाजिक र राजनीतिक अस्थिरता भोगेको छ, जसले गर्दा मानिसहरूमा मानसिक तनाव र असुरक्षा उत्पन्न भएको छ । 

यस्तो परिस्थितिमा, मानिसहरूले आफूलाई अस्थायी रूपमा तनावमुक्त गर्न लागू औषधको प्रयोग गर्ने गरेको विभिन्न प्रतिवेदनहरुमा उल्लेख गरिएको छ । 

कुश बनाउन मानव हड्डीको धुलो !

मलाई अझ चासो लागेको कुरा भने कुश बनाउन केके सामाग्रीको प्रयोग गरिन्छ भन्ने हो । मैले सियरालियोन भ्रमणका क्रममा यस विषयमा केही व्यक्तिहरुलाई सोधेका थिए । मैले कुरा गरेका मान्छेहरु र विभिन्न मिडिया रिपोर्टहरुले लागुऔषध कुश बनाउनको लागि मान्छेको हड्डीको धुलो पनि प्रयोग गरिने गरिएको बताए ।

Kush related news published in BBC

कुश जडीबुटी, गाँजा, र कीटाणुनाशक पदार्थहरूबाट बनाइन्छ । कुशलाई अझ बडि कडा बनाउनको लागि मानव हड्डीको धुलो प्रयोग गरिने बताइएको छ । सम्भवतः मानव हड्डीहरूको सल्फर सामग्रीको कारणले कुश अझ बढि कडा भएको हुन सक्छ । यसकारण कुश कारोबारीहरुले लागूपदार्थ कुश बनाउनको लागि चिहानबाट मानव हड्डीहरू निकाल्न थालेका समाचारहरुमा जनाइएको छ ।

बिबिसिलेनै प्रकाशन गरेको समाचारमा कुश दुव्र्यसनीहरुलाई मानव चिहानबाट कंकालहरु खन्न रोक्नका लागि सुरक्षा कडा पारिएको जनाइएको छ । 

लागु औषध प्रयोगको उस्तै रुप 

नेपालमा पनि लागु औषधको प्रयोग वृद्धि भइरहेको छ । जुन २०२० मा सार्वजनिक गरिएको नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षणलाई आधार मान्दै द काठमाण्डु पोष्टले लेखेको समाचारका अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जनाले लागुऔषध प्रयोग गर्ने अनुमान गरिएको छ । यो संख्या २००८ मा ४३,३०९ बाट तीन गुणाको वृद्धि हो । सन २०१२ मा, नेपालमा ९१,५३४ लागुपदार्थ प्रयोगकर्ताहरू थिए । 

Source: Nepal Drug Users Survey
2076

सन् २०२० मा सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले देखाएको लागुऔषध प्रयोगकर्ताको अनुमानित संख्यामध्ये ९३ दशमलव ३ प्रतिशत पुरुष र ६ दशमलब ७ प्रतिशत महिला रहेका छन् । कुल लागु औषध प्रयोगकर्तामध्ये ७६ दशमलव २ प्रतिशत ३० वर्ष मुनिका रहेका छन् । 

सोही प्रतिवेदनका अनुसार लागुपदार्थमा लत भएका मध्ये ७.२ प्रतिशत १५–१९ वर्ष उमेर समूहका थिए, ३४.३ प्रतिशत २०–२५ वर्ष उमेर समूहका, ३५.२ प्रतिशत २५–२९ वर्ष उमेर समूहका थिए र १२.६ प्रतिशत ३०–३४ वर्ष उमेर समूहका थिए । 

यो सर्वेक्षण प्रत्येक पाँच वर्षमा गरिन्छ । अर्को सर्वेक्षणले लागुपदार्थ प्रयोगकर्ताहरूको संख्या दुई गुणाले वृद्धि भएको देखाउने अपेक्षा गरिएको छ ।

बाँके जिल्लामा लागुऔषध र उपचार

भारतसँगको खुला सिमाना रहेको बाँके जिल्लामा पनि लागुऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । हरेक दिन जस्तो लागुऔषध ओसारपसारका घटनाबारे समाचार छापिएका हुन्छन ।  

लागुऔषध रोकथाम तथा उपचारमा संलग्नहरुसँग गरिएको कुराकानीका अनुसार खुला सिमाना र लागुऔषधको सहज पहुँच पनि लागुऔषध प्रयोगकर्ताको संख्यामा वृद्धिको एक मुख्य कारण हो ।  

यसका साथै अभिभावकको कमजोर निगरानी तथा असल मार्गदर्शनको कमी तथा चिन्ता र तनावले युवाहरु लागुऔषधमा फस्ने गरेको लागुऔषध दुव्र्यसन विरुद्ध कार्यरत युवाहरु बताउँछन् ।

लागुऔषध दुव्र्यसन पुर्नस्थापना केन्द्र सन्चालन गरिरहेका प्रविन विसि बाँके जिल्लामा मात्र ५ देखि ७ हजारको संख्यामा लागुऔषध प्रयोगकर्ता हुनसक्ने अनुमान गर्छन । उनका अनुसार हाल बाँके जिल्लामा लागुऔषध दुव्र्यसनमा परेकाहरुको उपचार तथा पुर्नस्थापनामा सहयोग गर्नका लागि १७ वटा पुर्नस्थापना केन्द्रहरु सन्चालनमा रहेका छन् । जसमध्ये २ वटा महिला लागुऔषध प्रयोगकर्ता लक्षित हुन । बाँके जिल्लामामा रहेका लागुऔषध पुर्नस्थापना केन्द्रमा हाल करिब ५ सयले उपचार सेवा लिइरहेका छन्

Podcast with Prabin will be released soon.

लागुऔषध अपराध कि रोग?

लागुऔषध प्रयोगलाई अपराध भन्दा रोगको रुपमा बुझिदिनुपर्नेमा बिसि जोड दिन्छन । लागुऔषध प्रयोगकर्ताले उपचार विधिबाट लागुऔषधको कुलत छाड्न सक्ने भएकाले उनिहरुको उपचारमा ध्यान दिनुपर्नेमा विसिले जोड दिए । ‘कुनैपनि व्यक्तिले लागु औषध प्रयोग गर्छ भन्ने थाहा पाएमा घर परिवार र समाजले उनिहरुलाई हेला र दुव्र्यवहार होइन उपचारमा जान मद्दत गर्नुपर्छ’, बिसि भन्छन्, ‘लागुऔषधको प्रयोग पनि एक रोग हो, यसको उपचार सम्भव छ ।’ 

चाहियो राज्यको सहयोग

लागुऔषध विरुद्ध अभियानमा सक्रिय संस्थाहरुले लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुर्नस्थापनाका लागि राज्यको सहयोग बढाइनुपर्नेमा जोड दिन्छन् । 

चेन्ज टिम नामक संस्थामा समेत आवद्ध विसिले राज्यको प्राथमिकतामा लागुऔषध दुव्र्यसन नपरेको गुनासो गरे । ‘राज्यले लागुऔषध प्रयोगकर्ताहरुको उपचारमा लगानी गर्नु जरुरी छ, विसिले भने, ‘लागुऔषध प्रयोगकर्ताहरुलाई आयमुलक शीप प्रदान गर्नुपनि जरुरी छ ।’

 

यो ब्लग बाँकेको नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्जमा ३० जुलाई २०२४मा प्रकाशित भएको थियो । 

Screenshot of the news published in Dainik Nepalgunj

दैनिक नेपालगन्जमा प्रकाशित समाचारको इपेपर लिंक यहाँ छ ।

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb