‘जहाँ भएपनि लेख्न चाहि छाड्नु भएन है’, नेपाली पत्रकारिताका जानेमाने झलक गैरेले प्रत्येक संवादमा भनिरहनुहुन्छ । मैले लेख्ने प्रयास पनि गरेको हो । लेख्नका लागि थुप्रै प्रसंगहरु छन्, अनुभवहरु छन, विषयहरु छन् । मेरा यात्रासँग, साथीभाई, परिवार अनि घटना परिघटनासँग जोडिएका थुप्रै कथाहरु छन् । कहिले कम्प्युटरका फाइलमा कहिले कापीमा केही हरफ लेखेर छाडिएका थुप्रै लेखहरु छन् । सायद अब तिनिहरुलाई पुर्णता दिन बेला आएको छ ।
मैले बाल पत्रकारको रुपमा लेख्न सुरु गरे । वि.सं. २०५८ सालताका हुनुपर्छ, खेतबारीमा गाई चराउन जाँदा एउटा लेख लेखे । बाँके जिल्लाको नेपालगन्जबाट प्रकाशन हुने नेपाली एक्सप्रेसमा छापियो । पहिलो पटक आफ्नो नाम सहितको लेख पत्रिकामा छापिएपछि भुँईमा खुट्टा हुनै कुरै भएन । आफनो लेख छापिएको पत्रिका कतिलाई देखाइयो, देखाइयो । त्यहि नै मेरो पत्रिकारिताको न्वारन थियो ।
बालक्लवमा रहदानै रेशम विरही, निरज गौतम, शिव डोटेललगायत अग्रज पत्रकारहरुबाट पत्रकारिताको ज्ञान लिन पाए । एसएलसी सकेपछि बाल सूचना संचार केन्द्रमार्फत बाल प्रयास नामक बाल म्यागजिनको सम्पादन गरे ।
कालान्तरमा नेपालगन्जमा बसेर पत्रकारिता पनि गरे । नेपाली एक्सप्रेसको बालपत्रकार पेजबाट संवाददाताको बाइलाइनसम्म पुगियो । शिव डोटेल अनि शुक्रऋषि चौलागाई र भेषराज बस्नेत दाईले लेखन कला सपार्न निकै सहयोग गर्नुभयो ।
मेघराज वली अनि ठाकुरसिंह थारुको सामिप्यमा मध्यपश्चिम सन्देशको संवाददाता बने । लेखनी अझै सुधारियो । करिब दुई वर्ष सद्भाव दैनिकमा सूचनाको हकबारे साप्ताहिक लेख लेखे । धनगढिबाट प्रकाशन हुने सूदुरसन्देश अनि काठमाडौंबाट प्रकाशन हुने देशान्तर साप्ताहिकको नेपालगन्ज संवाददाता पनि भए । सक्रिय पत्रकारिताको बिट भने दैनिक नेपालगन्जको उपसम्पादकबाट गरे । त्यही बेला हो झलकजीको सामिप्यमा काम गरेको । उहाँले मेरो लेखनीलाई स्वच्छन्दता प्रदान गर्न र लेख्न उर्जा दिइरहनुभयो ।
सन् २०१३, म युगाण्डा पुगे, एक्सनएड नाम सामाजिक न्यायका लागि वकालत गर्ने संस्थामा उत्प्रेरकका रुपमा । आमाको कोखमा नौ महिना बसेझै युगाण्डाको क्याप्चोरवा भन्ने ठाउँमामा पनि म नौ महिना बसे । त्यहाँको सून्दर सिप्पी फल्सलाई पहिलो पटक देख्दा ओ सिप्पी भन्ने शिर्षकबाट युगाण्डा बसाइको लेखे । त्यो दैनिक नेपालगन्जमा छापियो । युगाण्डा पुगेपछि मैले लेखेको यो पहिलो लेख थियो ।
अनौपचारिक भावमा लेखिएकाले होला धेरैले मन पराए । क्याप्चोरवा साच्चिकै सुन्दर ठाउँ छ । युगाण्डाको अग्लो हिमाल माउण्ड एलगोन नजिक । चिसो मौसम, पानि परिरहने ठाउँ । अलिक ग्रामिण परिवेशको त्यो ठाउँमा पुग्दा मुजुंगु भन्दै केटाकेटीले पछ्याएको अहिले पनि याद आउँछ ।
युगाण्डा बसुन्जेल आफुले अनुभव गरेको कुराहरु मैले दैनिक नेपालगन्जमा खुबै लेखे । त्यहि लेखनीको कारण होला धेरै मान्छेले मलाई त्यसबेला नेपालगन्जमा नै छ भनेर भन्थे । युगाण्डा बस्दा मनाइएको दशैं होस या घुमफिर सबैका बारेमा मैले लेखे ।
लेख्न मलाई मज्जा लाग्छ । धेरै लेखहरु मेरा एक बसाईमै लेखिएका छन् । कुनै लेख लेख्दा लेख्दै छोडिएका छन् । जुन अहिलेसम्म पुरा गर्न सकेको छैन । सायद क्रम भंग भएर होला ।
युगाण्डाबाट नेपाल फर्केपछि लेखनी अलि धिमा भयो । विशेष आग्रह वा मन लाग्दा केही लेखियो, केही नलेखेर टारियो ।
लामो समय नलेखेरै बित्यो । झलकजीले लेख्न झक्झकाइनै रहे ।
त्यसो भए अहिले किन लेख्ने जाँगर चल्यो?
सामाजिक संजालमा कतै भेटेको थिए, भारतका पुर्व राष्ट्रपति एपिजे अब्दुल कलामको भनाई । जसमा उहाँले भन्नुभएको छ, ‘यदि मरेर पनि बाँच्न मन छ भने, एउटा काम गर्नु, पढ्न लायक केहि लेख्नुहोस वा लेख्न लायक केही गर्नुहोस ।’

आफ्नो क्षमता आफैले चिन्नुपर्छ, धेरैपछि ममा आएको अन्र्तध्वनीले मलाई फेरी लेख्न उक्साएको छ ।
उसो त सन् २०१२ ताकादेखिनै मैले लेखेका लेखहरुलाई ब्लगमा राख्न थालेको थिए । मलाई ब्लग बनाउने प्रेरणा दिने एक श्रोत भनेको माइसंसारडटकम हो । जुन म नियमित रुपमा चेक गरिरहन्छु । सन् २०१२ को जुन १० मा पहिलो पटक थ्री भाइज नामको ब्लग पोष्ट गरेको रहेछु । त्यहि ब्लगमा पोष्ट गरेका मेरा लेखहरु अहिले मेरो लेखनीको संग्रह बनेको छ ।
साँच्चीकै लेखनी कति महत्वपूर्ण रहेछ ।
हो त्यसैले, मैले मेरो लेखनीलाई निरन्तरता दिने अठोट गरेको छु । म लेख्न सक्छु, म सँग लेख्ने थुप्रै विषय र अनुभवहरु छन् । मात्र यसलाई निरन्तरता दिन बाँकी थियो । अब निरन्तरता दिने प्रयासमा छु । मेरो लेखनीलाई ब्लगको माध्यमबाट अभिव्यक्त गर्न मन छ ।
यसकारण मैले बिशालपाना बनाएको छु । यो मेरो ब्लग साइटको नाम हो । जसलाई जसले जहाँबाट पनि पढन् सक्नुहुन्छ । बिशाल मेरो नाम अनि पाना मेरो विचार र भोगाईको खुला किताब । त्यसैले बिशालपानाडटकम मेरो ब्लग बनेको छ ।
अहिले ब्लगमा भएको अधिकांश लेखहरु पुरानो ब्लगको अकाईभहरु हुन् । मेरा अक्षरहरुको संग्रह रहिरोस भनेर मैले अर्काइभ ब्लगकै जगमा नयाँ ब्लगको सुरुवात गरेको छु । त्यसैले मेरो पुराना ब्लग पोष्टमा भएका प्रसंगहरु अहिलेको परिवेशमा नसुहाउन सक्छन् । ती ब्लगमा भएका मेरा अनुभव र विचारहरु तत् समयको अनुभव र परिवेशका हुन् । त्यसैले अहिलेको परिवेशसंग दाँजेर मुल्यांकन नगरिदिनहुन विनम्र अनुरोध गर्दछु ।
अब यस ब्लगमा प्रति साता कम्तिमा एकवटा लेख पोष्ट गर्नेछु । मेरो लेखनीलाई अझ विविध र अझ फराकिलो बनाउँदै लैजानेछु । यो मैले मलाईनै दिएको चुनौति हो । मेरो लेखनीलाई निरन्तरता दिने चुनौती हो । म लेख्दै जानेछु । हजुरहरुले पढेर क्रिया अनि प्रतिक्रिया दिएर हौसला दिनहुुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । धन्यवाद ।
गज्जब भाई