Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[FREETOWN Christiania] क्रिस्चियानिया: एक स्वतन्त्र शहर

Posted on June 28, 2024August 21, 2024 by bishalpana

डेनमार्क जाने योजना बन्दै गर्दा सहकर्मी साथीको सुझाव थियो, ‘क्रिस्चियानिया चाहि घुम्न नछुटाउनु है ।’ अझ त्यसमाथि आफै क्रिस्चियानियामै जन्मेहुर्केका सहकर्मीलेनै क्रिस्चियानिया घुमाउने प्रस्ताव गरेपछि त के चाहियो । 

डेनमार्क यात्राको दोस्रो दिन, बेलुकी पुगियो क्रिस्चियानिया । क्रिस्टियानियाको गेटमै हाम्रो टोलीलाई पर्खेका थिए साथी विलियम ।

क्रिस्चियानिया प्रवेश गर्ने मुलगेटमै छ मान्छेका अनेक स्वरुप कुँदिएका दुई खम्बाको बिचमा काठकै फलेकमा क्रिस्चियानिया लेखिएको स्वागतद्वार । त्यही स्वागतद्वारमा एक थान सेल्फी खिचेपछि हामी स्वतन्त्र शहर क्रिस्चियानियामा प्रवेश गर्र्यौ ।

क्रिस्चियानिया प्रवेशद्वारमा सामुहिक सेल्फि खिचाउँदै ।

साथी विलियमले क्रिस्चियानियाको इतिहासको बारेमा जानकारी गराए ।

क्रिस्चियानिया डेनमार्कको राजधानी कोपेनहेगनको केन्द्रमा छ । यो ‘स्वतन्त्र शहर’का नामले पनि परिचित छ । यो क्षेत्रमा पहिले सेनाको ब्यारेक थियो । सन् १९७१ सेनाले यो ठाउँ छाडेपछि यसलाई कसरी प्रयोग गर्ने भन्ने कुनै ठोस योजना थिएन । त्यस आसपासमा रहेका समुदायले यो क्षेत्रलाई मनोरन्जन साथै श्रृजनात्मक थलो बनाउने योजना बनाए । सोहि अनुसार एक समूहले पुरानो सैनिक ब्यारेकलाई कब्जा गरेर एक स्वतन्त्र समुदायको घोषणा गर्यो । आफ्नो स्थापना पछि, क्रिस्चियनिया विश्वभरका वैकल्पिक जीवनशैली खोज्नेहरूको लागि एक प्रेरणादायक स्थान बनेको छ । यसले सांस्कृतिक, सामाजिक र आर्थिक स्वायत्तताको अद्वितीय मोडेल प्रस्तुत गरेको छ ।

क्रिस्चियानिया
क्रिस्चियानिया क्षेत्रको कलाकृति ।

एक स्वतन्त्र शहरका रुपमा क्रिस्चियनियाले आफूलाई डेनमार्कको कानूनी प्रणालीबाट बाहिर राख्ने प्रयास नगरेको होइन ।  कानूनी विवाद र सरकारी हस्तक्षेपका बाबजुद पनि क्रिस्चियानिले अहिले पनि आफुलाई एक स्वतन्त्र सहरको रुपमा बचाइ राखेको छ । यहाँका बासिन्दाहरूले आफ्नै नियम र व्यवस्थापन प्रणाली बनाएका छन् । यी नियमहरू सामुदायिक सहमति र आपसी सम्मानमा आधारित छन् ।

स्वतन्त्र प्यालेष्टाइनको समर्थनमा देखिएको क्रिस्चियानिया ।

क्रिस्चियानिया घुम्न हरेक वर्ष लाखौं पर्यटक यहाँको अनौठो वास्तुकला, भित्तेचित्र र जीवनशैलीलाई अनुभव गर्न आउँछन्। त्यसमध्येको एक आकर्षणको विन्दु पुसर स्ट्रिट (Pushar Street) हो । यो क्षेत्र आफ्नो रंगीन र कलात्मक वातावरणका लागि परिचित छ । यहाँका खुल्ला क्याफे, सांगीतिक कार्यक्रम र आर्ट ग्यालरीहरू पर्यटकलाई क्रिस्चियानिया घुम्न लोभ्याउँछ । हामी पुग्दा पनि त्यहाँ भव्य कन्सर्ट भइरहेको थियो ।

क्रिस्चियानिया घुम्न आउनेहरुको लागि जानकारीपत्र ।

क्रिस्चियनियाका बासिन्दाहरूले रेस्टुरेन्ट, हस्तकला पसलजस्ता व्यवसाय गरेर आर्थिक रुपमा आफुलाई सबल बनाएका छन् । क्रिस्चियनियामा उत्पादित र बेचिएका उत्पादनहरूमा स्थानीय कलाकृति, हस्तकला सामग्री र जैविक उत्पादनहरू समावेश छन । डेनमार्क तथा युरोपमा प्रचलित तिनपाँगै्र क्रिस्चियानिया बाइक यहिबाट उत्पादन सुरु भएको हो । क्रिस्चियानिया बाइककाे बारेमा लेखेकाे ब्लगमा थप जानकारी लिन सक्नुहुनेछ ।

क्रिस्चियानिया साँच्चीकै भाइब्रेन्ट छ अनि त्यतिकै हरियाली पनि । क्रिस्चियानियाको हरेक गल्ली, भित्ता अनि सडकहरुमा विश्वभरकै कलाकृति देख्न सकिन्छ । क्रिस्चियानियाले आफुलाई ‘स्वतन्त्र प्यालेष्टाइन’को पक्षमा उभ्याएको छ ।

क्रिस्चियानिया रहेको बौद्ध स्तुपा अगाडि म ।

क्रिस्चियानिया घुम्दै जाँदा एउटा चोकमा नेपालको स्वयम्भु जस्तै बौद्ध स्तुपा देख्दा अचम्म पनि लाग्यो अनि खुसी पनि। हाम्रो संस्कृतिलाई पनि क्रिस्चियानियाले समेटेको देखेर ।

साथी विलियमको परिवारसँग भलाकुसारी गर्दै ।

उहाँहरुबाट पनि क्रिस्चियानियाको इतिहासको बारेमा थप जानकारीहरु पाइयो । त्यो मध्ये मलाई सबैभन्दा रोचक लागेको चाहि विलियमका बुवा निल भेष्टले प्रकाशन गर्नुभएको आफ्नो परिवारको फोटोबुक । फोटोबुकमा भेष्टले आफ्नो घरका साथै करिब चार दशकको क्रिस्चियानियाको इतिहासलाई समेटेका छन् । मलाई फोटोग्राफीमा रुचि भएकाले होला मलाई विलियमको बुवासँग गफिन मज्जा लाग्यो । भेष्टकाे आफ्नै वेबसाइट पनि छ ।

‘ए, म सन् १९६८ मा तपाईको देश पुगेको थिए’, मैले आफु नेपालबाट आएको भनेर चिनाएपछि विलियमका बुवाले उत्साहित हुँदै भने, ‘ओहो म जन्मनुभन्दा २० वर्ष अगाडि पो नेपाल पुग्नुभएको रहेछ ।’ मेरो प्रतिक्रिया सुनेर हामी दुबै जना हाँस्यौं ।

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb