अप्रिल महिनाको अन्तिम साता म पश्चिम अफ्रिकी राष्ट्र सियरालियोनको दोस्रो ठुलो शहर बो पुगेको थिए । भोलिपल्ट अप्रिल २७ मा सियरालियोनले ६३ औं स्वतन्त्रता दिवस मनाउँदै थियो ।
स्वतन्त्रता दिवसको दिन बोमा लागुऔषध कुश विरुद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको थियो । मलाई पनि सहकर्मी साथीहरुले र्यालीमा सहभागी गराए ।
हामीले बो शहरको मुख्य भागको परिक्रमा गर्यौं । केही छिनमा र्याली एउटा बस्तीमा छिर्यो । मसँग रहेका मित्रले भने, ‘अब हेर्नु है यहाँ कुश सेवनकर्ताहरु भेटिन्छन् । अनि कुश बिक्रेता पनि ।’
मलाई अलि असहज लाग्यो । तर र्यालीमा भएकाले म पनि उनिहरुसँगै अगाडि बढे । स्थानीय प्रहरीसहितको आयोजनामा कार्यक्रम भएको थियो । मित्रले भनेझै बस्ती भित्र र्याली गरिरहँदा कुश प्रयोगकर्ताहरु भेटिए । ती मध्ये केही त नाबालकहरुपनि थिए ।
बो मात्र होइन सियरालियोनको राजधानि फ्रिटाउन र देशका अन्य भागमा पनि कुशको प्रयोग व्यापक छ ।
के हो कुश? What is Kush?
मैले चिनेको कुश एक प्रकारको घाँस हो । हिन्दु धर्ममा कुशलाई पवित्र मानिन्छ । कुशलाई हिन्दुहरु धार्मिक अनुष्ठान, पुजा, यज्ञ र हवनमा कुशको प्रयोग गर्दछन् ।
तर मैले यहाँ चर्चा गर्न खोजेको कुश भने पवित्र घाँस नभई एक घातक लागुऔषधको हो । जसलाई ‘जम्बि ड्रग’ पनि भनिन्छ ।
कुशको सेवनले अस्वभाविक भागभंगिमा देखिने हुनाले यसलाई जम्बि ड्रग भनिएको रहेछ । यसले पश्चिमि अफ्रिकि मुलुक सियरा लियोनका युवाहरुको जीवन बर्बादितर्फ धकेलेको छ ।
लागुऔषध एक आपतकाल
म सियरालियोन पुग्नु दुई हप्ता अगाडि सियरालियोनका राष्ट्रपति जुलियस मादा बायोले व्यापक लागू औषध दुरुपयोगलाई लिएर राष्ट्रिय आपतकाल घोषणा गरेका थिए । राष्ट्रपति बायोले आप्mनो देशमा बढ्दै गएको लागुऔषध प्रयोगलाई ‘मृत्यु जाल’ भनेका छन् ।
राष्ट्रपति बायोले लागुऔषध दुरुपयोगलाई लिएर राष्ट्रिय आपतकालको घोषणा गरेको भएता पनि कुश समस्या समाधानका लागि उचित रणनीति तथा योजना नबनाएको भन्दै उनको आलोचना भइरहेको छ ।
मलाई कुशको बारेमा थप जान्न मन लागेको थियो । कुशको बारेमा बिबिसि अफ्रिका आइज युट्युब च्यानलमा एउटा भिडियो डकुमेन्टी पनि हेरेको थिए । यसमा कुशको प्रयोग र यसले युवाहरुको जीवनको बारेमा पारेको प्रभावको बारेमा देखाइएको छ ।
कुशले निम्त्याएको बर्बादि [Impact of Drug Abuse]
कुशको सेवनले सियेरालियोनियन युवाहरुमा गम्भिर मानसिक स्वास्थ्य समस्याहरु देखिन थालेका छन् ।
आधिकारिक रुपमा सियरालियोनमा लागुपदार्थ कुश प्रयोगकर्ताहरुको यकिन तथ्यांक छैन । यद्यपि बिबिसिले सियरालियोनको एकमात्र मानसिक अस्पतालका को तथ्यांकलाई उद्दृत गर्दै लेखेको समाचारमा सन् २०२० देखि २०२३ सम्म कुशसँग सम्बन्धित भर्नाहरू लगभग ४,०००% ले वृद्धि भई १,८६५ पुगेको छ ।
कुश प्रयोगकर्ताहरु बढ्दै गएता पनि रोकथाम र उपचारको यथोचित व्यवस्था भने हुन सकेको छैन । कुश लागुऔषध छाड्न चाहनेहरुको लागि पनि उचित उपचार तथा हेरचाहको व्यवस्था छैन ।
बेरोजगारी एक प्रमुख कारण
सियरालियोनको कुल जनसंख्याको ३० प्रतिशत युवा (१८-३५ वर्ष) उमेरसमुहका छन् । सियेरा लियोनमा बेरोजगारी दर उच्च छ । बेरोजगारी र गरिबीले युवाहरूलाई लागू औषधतर्फ आकर्षित गरेको छ ।
यस बाहेक लागु औषधको सहज उपलब्धता पनि एक प्रमुख कारण हो । सियरालियोनले विगतमा धेरै सामाजिक र राजनीतिक अस्थिरता भोगेको छ, जसले गर्दा मानिसहरूमा मानसिक तनाव र असुरक्षा उत्पन्न भएको छ ।
यस्तो परिस्थितिमा, मानिसहरूले आफूलाई अस्थायी रूपमा तनावमुक्त गर्न लागू औषधको प्रयोग गर्ने गरेको विभिन्न प्रतिवेदनहरुमा उल्लेख गरिएको छ ।
कुश बनाउन मानव हड्डीको धुलो !
मलाई अझ चासो लागेको कुरा भने कुश बनाउन केके सामाग्रीको प्रयोग गरिन्छ भन्ने हो । मैले सियरालियोन भ्रमणका क्रममा यस विषयमा केही व्यक्तिहरुलाई सोधेका थिए । मैले कुरा गरेका मान्छेहरु र विभिन्न मिडिया रिपोर्टहरुले लागुऔषध कुश बनाउनको लागि मान्छेको हड्डीको धुलो पनि प्रयोग गरिने गरिएको बताए ।
कुश जडीबुटी, गाँजा, र कीटाणुनाशक पदार्थहरूबाट बनाइन्छ । कुशलाई अझ बडि कडा बनाउनको लागि मानव हड्डीको धुलो प्रयोग गरिने बताइएको छ । सम्भवतः मानव हड्डीहरूको सल्फर सामग्रीको कारणले कुश अझ बढि कडा भएको हुन सक्छ । यसकारण कुश कारोबारीहरुले लागूपदार्थ कुश बनाउनको लागि चिहानबाट मानव हड्डीहरू निकाल्न थालेका समाचारहरुमा जनाइएको छ ।
बिबिसिलेनै प्रकाशन गरेको समाचारमा कुश दुव्र्यसनीहरुलाई मानव चिहानबाट कंकालहरु खन्न रोक्नका लागि सुरक्षा कडा पारिएको जनाइएको छ ।
लागु औषध प्रयोगको उस्तै रुप
नेपालमा पनि लागु औषधको प्रयोग वृद्धि भइरहेको छ । जुन २०२० मा सार्वजनिक गरिएको नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षणलाई आधार मान्दै द काठमाण्डु पोष्टले लेखेको समाचारका अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जनाले लागुऔषध प्रयोग गर्ने अनुमान गरिएको छ । यो संख्या २००८ मा ४३,३०९ बाट तीन गुणाको वृद्धि हो । सन २०१२ मा, नेपालमा ९१,५३४ लागुपदार्थ प्रयोगकर्ताहरू थिए ।
सन् २०२० मा सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले देखाएको लागुऔषध प्रयोगकर्ताको अनुमानित संख्यामध्ये ९३ दशमलव ३ प्रतिशत पुरुष र ६ दशमलब ७ प्रतिशत महिला रहेका छन् । कुल लागु औषध प्रयोगकर्तामध्ये ७६ दशमलव २ प्रतिशत ३० वर्ष मुनिका रहेका छन् ।
सोही प्रतिवेदनका अनुसार लागुपदार्थमा लत भएका मध्ये ७.२ प्रतिशत १५–१९ वर्ष उमेर समूहका थिए, ३४.३ प्रतिशत २०–२५ वर्ष उमेर समूहका, ३५.२ प्रतिशत २५–२९ वर्ष उमेर समूहका थिए र १२.६ प्रतिशत ३०–३४ वर्ष उमेर समूहका थिए ।
यो सर्वेक्षण प्रत्येक पाँच वर्षमा गरिन्छ । अर्को सर्वेक्षणले लागुपदार्थ प्रयोगकर्ताहरूको संख्या दुई गुणाले वृद्धि भएको देखाउने अपेक्षा गरिएको छ ।
बाँके जिल्लामा लागुऔषध र उपचार
भारतसँगको खुला सिमाना रहेको बाँके जिल्लामा पनि लागुऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । हरेक दिन जस्तो लागुऔषध ओसारपसारका घटनाबारे समाचार छापिएका हुन्छन ।
लागुऔषध रोकथाम तथा उपचारमा संलग्नहरुसँग गरिएको कुराकानीका अनुसार खुला सिमाना र लागुऔषधको सहज पहुँच पनि लागुऔषध प्रयोगकर्ताको संख्यामा वृद्धिको एक मुख्य कारण हो ।
यसका साथै अभिभावकको कमजोर निगरानी तथा असल मार्गदर्शनको कमी तथा चिन्ता र तनावले युवाहरु लागुऔषधमा फस्ने गरेको लागुऔषध दुव्र्यसन विरुद्ध कार्यरत युवाहरु बताउँछन् ।
लागुऔषध दुव्र्यसन पुर्नस्थापना केन्द्र सन्चालन गरिरहेका प्रविन विसि बाँके जिल्लामा मात्र ५ देखि ७ हजारको संख्यामा लागुऔषध प्रयोगकर्ता हुनसक्ने अनुमान गर्छन । उनका अनुसार हाल बाँके जिल्लामा लागुऔषध दुव्र्यसनमा परेकाहरुको उपचार तथा पुर्नस्थापनामा सहयोग गर्नका लागि १७ वटा पुर्नस्थापना केन्द्रहरु सन्चालनमा रहेका छन् । जसमध्ये २ वटा महिला लागुऔषध प्रयोगकर्ता लक्षित हुन । बाँके जिल्लामामा रहेका लागुऔषध पुर्नस्थापना केन्द्रमा हाल करिब ५ सयले उपचार सेवा लिइरहेका छन्
लागुऔषध अपराध कि रोग?
लागुऔषध प्रयोगलाई अपराध भन्दा रोगको रुपमा बुझिदिनुपर्नेमा बिसि जोड दिन्छन । लागुऔषध प्रयोगकर्ताले उपचार विधिबाट लागुऔषधको कुलत छाड्न सक्ने भएकाले उनिहरुको उपचारमा ध्यान दिनुपर्नेमा विसिले जोड दिए । ‘कुनैपनि व्यक्तिले लागु औषध प्रयोग गर्छ भन्ने थाहा पाएमा घर परिवार र समाजले उनिहरुलाई हेला र दुव्र्यवहार होइन उपचारमा जान मद्दत गर्नुपर्छ’, बिसि भन्छन्, ‘लागुऔषधको प्रयोग पनि एक रोग हो, यसको उपचार सम्भव छ ।’
चाहियो राज्यको सहयोग
लागुऔषध विरुद्ध अभियानमा सक्रिय संस्थाहरुले लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुर्नस्थापनाका लागि राज्यको सहयोग बढाइनुपर्नेमा जोड दिन्छन् ।
चेन्ज टिम नामक संस्थामा समेत आवद्ध विसिले राज्यको प्राथमिकतामा लागुऔषध दुव्र्यसन नपरेको गुनासो गरे । ‘राज्यले लागुऔषध प्रयोगकर्ताहरुको उपचारमा लगानी गर्नु जरुरी छ, विसिले भने, ‘लागुऔषध प्रयोगकर्ताहरुलाई आयमुलक शीप प्रदान गर्नुपनि जरुरी छ ।’
यो ब्लग बाँकेको नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्जमा ३० जुलाई २०२४मा प्रकाशित भएको थियो ।
दैनिक नेपालगन्जमा प्रकाशित समाचारको इपेपर लिंक यहाँ छ ।