डेनमार्क जाने योजना बन्दै गर्दा सहकर्मी साथीको सुझाव थियो, ‘क्रिस्चियानिया चाहि घुम्न नछुटाउनु है ।’ अझ त्यसमाथि आफै क्रिस्चियानियामै जन्मेहुर्केका सहकर्मीलेनै क्रिस्चियानिया घुमाउने प्रस्ताव गरेपछि त के चाहियो ।
डेनमार्क यात्राको दोस्रो दिन, बेलुकी पुगियो क्रिस्चियानिया । क्रिस्टियानियाको गेटमै हाम्रो टोलीलाई पर्खेका थिए साथी विलियम ।
क्रिस्चियानिया प्रवेश गर्ने मुलगेटमै छ मान्छेका अनेक स्वरुप कुँदिएका दुई खम्बाको बिचमा काठकै फलेकमा क्रिस्चियानिया लेखिएको स्वागतद्वार । त्यही स्वागतद्वारमा एक थान सेल्फी खिचेपछि हामी स्वतन्त्र शहर क्रिस्चियानियामा प्रवेश गर्र्यौ ।
साथी विलियमले क्रिस्चियानियाको इतिहासको बारेमा जानकारी गराए ।
क्रिस्चियानिया डेनमार्कको राजधानी कोपेनहेगनको केन्द्रमा छ । यो ‘स्वतन्त्र शहर’का नामले पनि परिचित छ । यो क्षेत्रमा पहिले सेनाको ब्यारेक थियो । सन् १९७१ सेनाले यो ठाउँ छाडेपछि यसलाई कसरी प्रयोग गर्ने भन्ने कुनै ठोस योजना थिएन । त्यस आसपासमा रहेका समुदायले यो क्षेत्रलाई मनोरन्जन साथै श्रृजनात्मक थलो बनाउने योजना बनाए । सोहि अनुसार एक समूहले पुरानो सैनिक ब्यारेकलाई कब्जा गरेर एक स्वतन्त्र समुदायको घोषणा गर्यो । आफ्नो स्थापना पछि, क्रिस्चियनिया विश्वभरका वैकल्पिक जीवनशैली खोज्नेहरूको लागि एक प्रेरणादायक स्थान बनेको छ । यसले सांस्कृतिक, सामाजिक र आर्थिक स्वायत्तताको अद्वितीय मोडेल प्रस्तुत गरेको छ ।
एक स्वतन्त्र शहरका रुपमा क्रिस्चियनियाले आफूलाई डेनमार्कको कानूनी प्रणालीबाट बाहिर राख्ने प्रयास नगरेको होइन । कानूनी विवाद र सरकारी हस्तक्षेपका बाबजुद पनि क्रिस्चियानिले अहिले पनि आफुलाई एक स्वतन्त्र सहरको रुपमा बचाइ राखेको छ । यहाँका बासिन्दाहरूले आफ्नै नियम र व्यवस्थापन प्रणाली बनाएका छन् । यी नियमहरू सामुदायिक सहमति र आपसी सम्मानमा आधारित छन् ।
क्रिस्चियानिया घुम्न हरेक वर्ष लाखौं पर्यटक यहाँको अनौठो वास्तुकला, भित्तेचित्र र जीवनशैलीलाई अनुभव गर्न आउँछन्। त्यसमध्येको एक आकर्षणको विन्दु पुसर स्ट्रिट (Pushar Street) हो । यो क्षेत्र आफ्नो रंगीन र कलात्मक वातावरणका लागि परिचित छ । यहाँका खुल्ला क्याफे, सांगीतिक कार्यक्रम र आर्ट ग्यालरीहरू पर्यटकलाई क्रिस्चियानिया घुम्न लोभ्याउँछ । हामी पुग्दा पनि त्यहाँ भव्य कन्सर्ट भइरहेको थियो ।
क्रिस्चियनियाका बासिन्दाहरूले रेस्टुरेन्ट, हस्तकला पसलजस्ता व्यवसाय गरेर आर्थिक रुपमा आफुलाई सबल बनाएका छन् । क्रिस्चियनियामा उत्पादित र बेचिएका उत्पादनहरूमा स्थानीय कलाकृति, हस्तकला सामग्री र जैविक उत्पादनहरू समावेश छन । डेनमार्क तथा युरोपमा प्रचलित तिनपाँगै्र क्रिस्चियानिया बाइक यहिबाट उत्पादन सुरु भएको हो । क्रिस्चियानिया बाइककाे बारेमा लेखेकाे ब्लगमा थप जानकारी लिन सक्नुहुनेछ ।
क्रिस्चियानिया साँच्चीकै भाइब्रेन्ट छ अनि त्यतिकै हरियाली पनि । क्रिस्चियानियाको हरेक गल्ली, भित्ता अनि सडकहरुमा विश्वभरकै कलाकृति देख्न सकिन्छ । क्रिस्चियानियाले आफुलाई ‘स्वतन्त्र प्यालेष्टाइन’को पक्षमा उभ्याएको छ ।
क्रिस्चियानिया घुम्दै जाँदा एउटा चोकमा नेपालको स्वयम्भु जस्तै बौद्ध स्तुपा देख्दा अचम्म पनि लाग्यो अनि खुसी पनि। हाम्रो संस्कृतिलाई पनि क्रिस्चियानियाले समेटेको देखेर ।
उहाँहरुबाट पनि क्रिस्चियानियाको इतिहासको बारेमा थप जानकारीहरु पाइयो । त्यो मध्ये मलाई सबैभन्दा रोचक लागेको चाहि विलियमका बुवा निल भेष्टले प्रकाशन गर्नुभएको आफ्नो परिवारको फोटोबुक । फोटोबुकमा भेष्टले आफ्नो घरका साथै करिब चार दशकको क्रिस्चियानियाको इतिहासलाई समेटेका छन् । मलाई फोटोग्राफीमा रुचि भएकाले होला मलाई विलियमको बुवासँग गफिन मज्जा लाग्यो । भेष्टकाे आफ्नै वेबसाइट पनि छ ।
‘ए, म सन् १९६८ मा तपाईको देश पुगेको थिए’, मैले आफु नेपालबाट आएको भनेर चिनाएपछि विलियमका बुवाले उत्साहित हुँदै भने, ‘ओहो म जन्मनुभन्दा २० वर्ष अगाडि पो नेपाल पुग्नुभएको रहेछ ।’ मेरो प्रतिक्रिया सुनेर हामी दुबै जना हाँस्यौं ।