डेनमार्क पुगेको दोस्रो दिन, राजधानी कोपनहेगनका केही महत्वपूर्ण ठाउँहरु घुम्ने मौका मिल्यो । करिब १० किलोमिटर जस्तो पैदल सयर गरेपछि ज्यान थकित त हुनेनै भयो । अब होटल फर्कौ भनेर गुगल म्याप हेरेको, होटल पुग्न झण्डै ४ किलोमिटर अरु हिँड्नुपर्ने रहेछ । जोर्डनका सहकर्मी साथिले बरु सबैको लागि म बाइक भाडामा लिन्छु, हिँड्न चाहि सक्दिन भन्ने लागे ।
साइकल भाडामा !
नेपालमा पठाओ बाइक चढेर त हिँडेको हो तर साइकल भाडामा ? एकछिन अचम्म परे ।
‘हो नि साइकल भाडामा लिन सकिन्छ । म सँग त्यसको एप्स छ, पख है’, यति भनेर साथीले साइकल भाडामा लिने डंकि रिपब्लिक भन्ने खोल्यो र चार जनाको लागि साइकल खोज्यो । एपले करिब १५० मिटर पर साइकल रहेको जनाउ दियो । हामी एपमा देखाएको लोकेशन तर्फ अघि बढ्यौं । जब हामी साइकल भएको ठाउँमा पुग्यौ, त्यहाँ दर्जनबढि साइकलहरु थिए । साथीले एक एक साइकल चेक गर्दै एप्सको माध्यमबाट चारवटा साइकल अनलक गरे । एपमा बटन दाबेपछि साइकलमा लगाइएको ताला खुल्यो ।
न मान्छे छ, न कोही हेरालु । एपबाटै सबै साइकल फटाफट अनलक भए । हामी चारै जना साइकल चढ्न तयार । साइकल त तयार भयो तर डेनमार्कको सडक नेपाल जस्तो बायाँ नभई दायाँ तर्फ सवारी चल्ने । केहीबेर साइकल सावधानीपूर्वक कसरी चलाउने भनेर सोचे ।
केहिबेरमा म, जोर्डन, केन्या र बंगलादेशका साथि साइकल लिएर हुइँकियौं ।
साइकल चलाउन सोचेभन्द सजिलो । साइकलको लागि आफ्नै लेन छ । बिचमा गाडि हिँड्ने, त्यसको दायाँ तर्फ साइकल, अनि अझ दायाँ तर्फ पदयात्रीका लागि लेन । ट्राफिक लाइटको राम्रो व्यवस्था छ । सबैजना ट्राफिक लाइट अनुसार राेकिन्छन अन हिँड्छन । त्यती भएपछि त साइकल चलाउन सहज हुनेनै भयो ।
हामीले करिब बिस मिनेटमा होटलसम्मको दुरी तय गर्यौं । एपमा नै साइकल कहाँ पार्क गर्ने लाेकेशन आयो । त्यही गएर साइकल पार्क गर्र्यौ । एपबाट पैसा काटियो, अनि साइकल अटो लक भयो ।
क्या गज्जब । न कसैलाई साइकल बुझाउनु पर्ने, न कसैले चोरिदेला वा साइकल हराउँला भन्नेनै तनाव ।
पहिलो पटक युरोपको भूमि टेक्दाको रोचक अनुभव मध्येको एक हो डेनमार्कको ‘साइकल सँस्कृति’ । काममा जान होस या कार्यालय डेनिसहरु या त सार्वजनिक यातायात बस वा ट्रेन चढ्छन या त साइकल । कार र मोटरसाइकल भन्दा डेनिस नागरिकका लागि साइकल अपरिहार्य अंग रहेछ ।
डाटामा डेनमार्ककाे साइकल [Sign of Equality and Freedom]
डेनमार्कमा समाजका सबै तहका मानिसहरू साइकल चलाउँछन् । उनिहरु साइकललाई ‘स्वतन्त्रता र स्वास्थ्य’ जस्ता सकारात्मक मूल्यसँग जोडेर हेर्छन । तथ्यांकका अनुसार डेनमार्कमा १० किलोमिटर भन्दा कम दुरीका २१ प्रतिशत यात्रा साइकलबाट तय गरिन्छन । साइकल चढ्न उपयुक्त मौसम, सडक छ अनि अनुशासन छ ।
कोपनहेगनमा मोटरगाडि भन्दा पाँच गुणा बढि साइकल छन् । सन् १९२० देखि ३० को दशकमा, डेनमार्कमा साइकल ‘समानता र स्वतन्त्रता’को प्रतीक बन्यो । डेनमार्कका १० मध्ये ९ जनासँग साइकल छ । डेनमार्कमा कुल १२,००० किलोमिटरभन्दा बढी साइकल मार्गहरू छन्, जसमध्ये केवल कोपेनहेगनमा ४०० किलोमिटर भन्दा लामो साइकल लेनहरू छन् । साइकल लेनहरू गाडी लेन र पैदल यात्री लेनबाट स्पष्ट रूपमा अलग गरिएका छन । यसले साइकल चालकहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको छ ।
सवारी साइकल
साइकलको कुरा गरिरहँदा सबैभन्दा उत्कृष्ट लागेको चाहि माथी भिडियोमा भएको साइकल हो । जसलाई ‘क्रिस्चियानिया बाइक’ भनिदो रहेछ । कोपनहेगनको स्वतन्त्र शहरको रुपमा चिनिने क्रिस्चियानियामा आविष्कार भएकाले यसको नाम ‘क्रिस्चियानिया बाइक’ भएको रहेछ ।
यो तिनपांग्रे साइकल बालबालिका भएका परिवारहरूका लागि एउटा उत्तम साधन बनेको छ । कोपनहेगनमा दुई वा बढी बालबालिका भएका करिब एक चौथाई परिवारहरूसँग ‘क्रिस्चियानिया बाइक’ भएको अनुमान गरिन्छ । बच्चाहरूलाई घुमाउन होस या किराना सामान, र अन्य आवश्यकताहरू ढुवानी गर्न यी कार्गो बाइकहरू अति उपयोगी छ । डेनमार्कका कार्गो बाइकहरूले डिजाइन पुरस्कार जितेका छन् र डेनमार्क क्रिस्चियानिया बाइकको एक सफल निर्यातकर्ता पनि बनेको छ ।
यी साइकलमा सामान होस वा परिवारका सदस्य, यहि साइकलमा राखेर मज्जाले हाँक्न मिल्छ । यसलाई पाइडल चलाएर वा ब्याटरीबाट पनि कुदाउन मिल्छ । क्रिस्चियानिया बाइककाे बारेमा मैले फेसबुकमा पोष्ट गरेपछि केही साथीहरुलाई नेपालमै यस्तो बाइक बनाउन चासो दिनुभएको छ । हेरौं कालान्तरमा नेपालकै सडकमा पनि यस्तो साइकल कुदाउन पाइएला ।
नेपालमा साइकल
साइकल नेपालीहरुको लागि पनि अभिन्न अंग हो । अझ ग्रामिण भेगको त यातायातको मुख्य साधन । यद्यपी मोटर साइकल र मोटरकारकाे माग अनि खपत बढ्न थालेको नेपालमा साइकललाई ‘गरिब मान्छेको सवारी’को रुपमा लिइन थालिएको छ ।
शहरी क्षेत्रमा साइकल चलाउन सुरक्षित सडक र ट्राफिक व्यवस्थापनको कमि छ । उपत्यकाका केही भागमा साइकल लेन छन तर हाम्रो सडक अनि ट्राफिक व्यवस्थापन राम्रो छैन । जसले गर्दा ढुक्क भएर साइकल चलाउने वातावरण छैन । अर्को कुरा, हाम्रो देशको मौसम अनि भुगोलले पनि सबै ठाउँमा साइकल चलाउन सम्भव छैन ।
तथापी स्वस्थ जिवनयापन अनि वातावरणिय प्रदुषण कम गर्नका लागि साइकल संस्कृतिलाई बढावा दिनु जरुरी छ ।
यसबाहेक नेपालमा साइकल संस्कृतिको विकास गर्नु किन जरुरी छ? कमेन्टमा आफ्नो विचार राख्न अनुरोध गर्दछु ।
यो लेख लेख्नका लागि यी साइटबाट सन्दर्भ सामाग्रीहरु लिइएका छन् ।
https://cyclingsolutions.info/embassy_category/cycling-facts-figures/