Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Public Health] यो के म पकाएर खाउँ ?

Posted on January 4, 2014June 8, 2024 by bishalpana

युगाण्डामा बिरामी पर्नु अलि महङ्गै पर्ने रहेछ । म यहाँ आएको पहिलो महिना खानपिनको मेलोमेसो नमिल्दा भनौ वा यहाँ खाने खानासँग मेरो भुँडीको तालमेल नमिल्दा भनौ, म बिरामी परे । यहाँको प्रमुख खाना भनेको केराको डिढो (स्थानीय भाषामा माटोके), मकैको ढिडो (पोसो) हो । यहाँ ‘भेजिटेबल करि’ भनेर अर्डर गर्यो भने तपाईको प्लेटमा बन्दा गोबी र गाँजर पाकेर आइपुग्छ । साग भने काउलीको पात जस्तो ‘सुकुमो विकि’ भन्ने प्रमुख हो । एक भाषामा भन्ने हो भने केरा नभए यहाँ ठुलै खाद्य संकट पर्छ ।

किनकी, हामीले आलुलाई तरकारीको राजा भनेझै केरा यहाँको राजा हो । जसलाई तपाई ढेडो बनाएर पनि खान सक्नु हुन्छ । पोलेर पनि खान सक्नु हुन्छ वा फलफुलको रुपमा पनि खान सक्नु हुन्छ । एक हिसाबले केरा यहाँको नगदे बाली पनि हो । अर्को, केराको पात खाना पकाउन, गाईगोरुलाई घाँसको रुपमा खुवाउन पनि सकिन्छ । अझ केराको डाँठ पनि यहाँ गाइगोरुलाई खुवाउने एउटा राम्रो दाना हो । तसर्थ केरा यहाँको सर्वप्रिय, सर्वमान्य र सर्वश्रेष्ठ खेती हो भन्दा फरक नपर्ला ।

पेटको गडबडका कारण उत्पन्न भएको समस्या लिएर म पुगे राजधानी कम्पालामा भारतीय समुदायले सञ्चालन गरेको नर्भिक हस्पिटलमा । लामो पर्खाइ पछि भेट भएकी महिला डाक्टरले चेकजाँच पश्चात् २८ हजार युगाण्डान सिलिंग (करिब १ हजार १ सय २० रुपैया) को औषधी लेखिदिइन् । ‘आजबाट यो औषधी खाँदै गर्नु अनि भोली अर्को टेस्टको लागि आउनु ।’ पर्चा थमाउँदै उनले भनिन् । हस् हजुरको शैलीमा धन्यावाद ज्ञापन गर्दै म बिदा भए ।

अर्को दिन तोकिएको समयमा पुगे चेक गराउन । उनले अर्को कन्सल्टेन्ट डाक्टरलाई देखाउन सल्लाह दिइन् । ल ठुलै समस्या परेछ भन्ने सोच्दै ५०,००० सिलिंग (२ हजार नेपाली) को कन्सल्टेन्सी फिस बुझाएर कुरुवा लाइन बसे । नेपालमा नाम चलेका डाक्टरलाई पनि १ हजार भन्दा बढि तिर्नु पर्दैन होला । अझ नेपालगन्जको कुरा गर्ने हो भने त भेरी अञ्चल अस्पतालमा ५ रुप्पे र मेडिकल कलेजमा ५० रुप्पेको टिकट काटेर जचाँउन पाईन्छ । तर यहाँको कुरा अलि बेग्लै छ । यहाँ त सामान्य डाक्टरलाई भेट्न भने नेपाली १ हजार नचढाए उपाय छैन । मेरो त औषधी खर्च कार्यालयले बेहोर्ने भएकाले खासै फरक पर्दैन नभए त बडो आपत् पो पर्छ त ।

बेलुका ६ बजे आउने भनेका ती डाक्टर साब पटक पटक फलोअप पछि राती साढे ८ बजेतिर डा. जेन झुल्किइन् । मेरो टेस्ट रिपोर्ट र जाँच गरेपछि मलाई हिजो दिएको औषधी नखान भन्दै अर्को एउटा औषधीको लिस्ट थमाइन् । रात अबेर भैसकेको र बास बस्न कपिलबस्तुका साथी ओम प्रकाश उपाध्याय जो यमाहा सेन्टरमा वित्त व्यवस्थापक छन्, उनकाको डेरा (अस्पतालबाट करिब १० किमि टाढा)मा जान हतार भएकालेले सिधै अघिल्लो दिन औषधी खरिद गरेको अस्पतालभित्रकै मेडिकल स्टोरमा गए ।

‘लौन हजुर हिजोको औषधी खान नपर्ने भो यो फिर्ता गरेर आज लेखिदिएको औषधी दिनुपरो’, काउण्टरमा बिराजमा काला वर्णकालाई अनुरोध गरे । उनले लिस्ट हेरेर क्यालकुेटरमा हिसाब गरेर औषधीको मुल्य भन्यो अनि म तिर हेर्दै भने, ‘आज लेखेको सबै औषधी छ तर बिक्रि गरेको औषधी फिर्ता गर्ने हाम्रो नियम छैन ।’

‘नियम छैन रे किन ? यी मैले खरिद गरेको बिल पनि यही छ नपत्याए हेर्नुस्’, भन्दै मैले अघिल्लो दिन खरिद गरेको औषधीको बिल देखाए ।
‘होइन सर हाम्रो यहाँ फिर्ता गर्ने नियम छैन ।’ उ आफ्नो अघिल्लो बोलीमा अडिक रहदै फेरी बोल्यो ।
नेपालगन्जमा नचाहिने औषधी एक हप्ताभित्र बिल देखाएर फिर्ता गरेको बानि परेको मैले आश्चर्य मान्दै फेरी भने, ‘होइन डाक्टरलेनै नचाहिने भनेपछि मलाई यो औषधी के काम ?’
उसले कुनै पनि हालतमा औषधी फिर्ता नहुने भन्न थाले पछि मेरो पारा पनि तातियो ।

‘अनि के मैले यो दबाई पकाएर खानु कि बारीमा लगेर छर्नु ?’ औषधी दिने झ्यालको प्वालमा मुख टेकाएर झोक्किँदै भने । त्यति गर्दा सम्म रातीको करिब साढे ९ बजिसकेको हुनुपर्छ ।
‘सरी सर म फिर्ता गर्न सक्दिन् उ बोल्यो ।’ यतिबेला सम्म कुरुवा लाइनमा बसेकाहरुले पनि हाम्रो चर्काचर्किलाई चाख मानेर हेरी रहेका थिए ।
मलाई लाग्यो यो सँग धेरै गलपत्ति गर्नुभन्दा औषधी लिएर जानु नै बेस होला । शान्त हुँदै उसलाई आज लेखेको औषधी दिन भने । उसले औषधी पोको पार्दै औषधी खाने मात्रा र समय बताइदियो अनि म त्यहाँबाट बिदा भए ।

ओम प्रकाशको कोठामा पुगेर औषधी खानु परो भनेर हेरे । औषधीको उत्पादन मिति र एक्सपाइरी मिति छ तर औषधीको अधिकतम खुद्रा बिक्रि मुल्य (एमआरपी) त छैन । म एक छिन् चित परे यस्तो पनि हुन्छ । ‘अरे मित्र यहाँ यस्तै रैछ मैले पनि अस्ती औषधी किन्दा यस्तै देखेर सोधेको यहाँ त बिना बिक्रि मुल्य अंकित औषधीनै बिक्रि हुँदो रैछ ।’ मित्र ओम प्रकाशले भने ।

मैले यहाँ भारतीय, पाकिस्तानी, फ्रान्सलगायतका देशमा बनेको औषधी प्रयोग गरे तर ति कुनैमा पनि अधिकतम खुद्रा बिक्रि मुल्य (एमआरपी) भेटेको छैन । नेपालमा बिना एमआरपी औषधी बेचेको देखेको पनि छैन र बेचे कानूनी कारवाही पनि हुन्छ । तर यहाँ सरकारलेनै नियमन नगरेको हो वा मनपरी हो अझै सम्म बुझेको छैन । जसकारण मैले कम्पालामा १० हजार सिलिंगमा किनेको त्यही औषधी म बस्ने क्यापचोरवामा किन्दा १४ हजार सिलिंग तिरेको छु ।

तर मैले यो पनि नोटिस गरेकी तिनै भारतीय कम्पनीले नेपालमा पठाउने त्यही औषधीमा भने स्पष्टसँगै एमआरपी लेखिएको हुन्थ्यो । नेपालमा एउटै कम्पनीले उत्पादन गरेको औषधी जहाँ किन्दा पनि मूल्य चाँही एक हुन्छ चाहे त्यो झापामा होस् वा कञ्चनपुरमा । मेरो त उपचार खर्च इन्सुरेन्स कम्पनीले बेहोर्छ र आफुले खर्च गरेको पैसा फिर्ता आउँछ । चाहे त्यो डाक्टरले नखाउ भनेर फिर्ता नभएको किन नहोस् । होइन भने युगान्डामा बिरामी हुनु एउटा अर्को ठुलो बिरामी हो ।

२३ डिसेम्बर २०१३
बिहान ७ः३० बजे
लेखक नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्जका पूर्व उपसम्पादक हुन् । हाल उनि अफ्रिकी राष्ट्र युगाण्डामा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत छन् । 

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb