Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Fun Factors] फन इन युगाण्डा

Posted on January 4, 2014June 8, 2024 by bishalpana

म युगाण्डा आउने भन्ने सुनाउँदा धरैले भन्थे ‘ओहो ! अफ्रिका रु ? साह्रै गर्मी पो होला अनि मान्छे पनि काला हुन्छन रे । कसरी बस्छौं त ?’ प्राय सबैको मुखबाट मैले यस्तै शब्द सुनेको थिए । जसमा  एउटा शतप्रतिशत सही ठकरियो भने अर्को चाहि गलत । यहाँका मान्छे काला हुन्छन् भन्ने शतप्रतिशत सहि हो । त्यसैले त यहाँ खैरो र गोरो छाला भएकालाई ‘मुजुङ्गु’ भन्छन् । भुमध्य रेखामा पर्ने भएकोले यो देशका मान्छे काला छन् । तर समय भने दिन र रात बराबर हुन्छ । अर्थात् १२–१२ घण्टा ।
अर्को कुरा भुमध्ये रेखामा पर्ने भएपनि युगाण्डाको राजधानी कम्पाला र नेपालको राजधानी काठमाडौं मौसम र तापक्रममा खासै अन्तर छैन । अझ म बस्ने ठाउँ क्यापचोरवाको कुरा गर्ने हो भने त मौसमको हिसाबले मेरो लागि यो ‘स्वर्ग’ हो । युगाण्डा आएको साढे पाँच महिनाको अवधिमा मैले गर्मी भन्ने बिर्सिसकेको छु ।
चैत बैशाखको महिनामा ४२ डिग्रीसम्म तापक्रम पुग्ने नेपालगन्जमा बसेको म यहाँ औषत २१ डिग्रीमा बस्न पाउनु मेरो लागि एकदमै राम्रो कुरा हो । क्यापचोरवा आफैमा एउटा सन्देश बोकेको नाम हो । युगाण्डाको पूर्वभागमा पर्ने सविनि क्षेत्रमा बोलिने ‘कुप्सबिनि’ भाषामा ‘क्याप’ को अर्थ साथी र ‘चोरवा’को अर्थ घर हो । यस क्यापचोरवाको अर्थ ‘साथीको घर’ हो ।
क्यापचोरवा अर्थात साथीको घरमा बस्न थालेको करिब ६ महिना पुग्न लाग्दा म सँग केही यस्ता सुख, दुख र हाँस्यास्पद प्रसंगहरु छन् जसलाई मैले फन्नि युगाण्डा शिर्षकमा समेट्न खोजेको छु ।

हन्ड्रेड प्रसेन्ट

यहाँ आएको पहिलो सातानै मैले आफ्नो कार्यक्षत्रको गैसससँग भेटेर उनिहरुको बारेमा जान्नु थियो । सो कारण मैले भेटघाटका क्रममा तपाईहरुको संस्थाको प्रोफाइल, विधान, रिपोर्ट पठाईदिनुस् न भनेर आफ्नो नम्बर र इमेल ठेगाना दिए । जसमध्ये सबैले मलाई ‘हन्ड्रेड प्रसेन्ट’ तत्कालै पठाइदिने बाचा गर । तर त्यो ‘हन्ड्रेड प्रसेन्ट’ बाचाको प्रतिफल मैले करिब ६ महिना पुगीसक्दा पनि पाएको छैन । यो ढिलासुस्तीको एउटा राम्रो उदाहरण हो ।

कारामोजोङ्ग्स

म बस्ने जिल्ला नजिक पर्छ नाकापिरिपिरिट जिल्ला । यो जिल्ला कारामोजा क्षेत्रमा पर्ने एक जिल्ला हो । जुन क्षेत्रको मन्त्री युगाण्डाकी प्रथम महिला या नी राष्टपती पत्नी हुन् । यो क्षेत्र पिछडिएको र आदिवासी क्षेत्र हो ।
म यहाँ आएको चौथो महिनामा मलाई त्यहाँ भ्रमण गर्ने अवसर मिल्यो । जानु अघि त्यही क्षेत्रमा काम गरिसक्नुभएका अनि हाल डेनिस रिफ्युजी काउन्सिल युगाण्डाका राष्ट्रिय निर्देशक लिलु थापाले ‘त्यता जाँदा चाहि अलि विचार गर्नुहोला है बिशाल जी भन्नु भएको थियो ।’ लिलु सरले किन त्यसो भन्नु भएको भन्ने मैले त्यही गएपछिमात्र थाहा पाए ।
करिब एक दशक अघि सम्म त्यो क्षेत्रमा हिंसा थियो रे स्थानीयका अनुसार । त्यसपछि पनि त्यहाँका मानिसले हतियार राख्ने गर्थे रे । म युगाण्डा आएदेखिनै दैनिक बिहान दौडन जाने गरेको छु । नाकापिरिपिरिटमा हुँदा पनि म बिहान करिब साढे ६ बजे दौडन निस्के । म दौडदा बाटोमा हिँडनेहरुले पनि एक तमासले हेर्दै हाँस्दै गरिरहेका थिए । तर मलाई भने कता कता डर लागिरहेको थियो । म दौडँदै जाँदा एक ठाउँमा करिब १० जनाजति पुरुषहरु गोलाकार रुपमा काठको कुर्सीमा बसेको देखे । उनिहरुको बिचमा एउटा घैटो थियो जसमा सबैले एक एक वटा पाइप लगाएर घैटौंबाट केही पिइरहेका थिए । पछि बुझ्दै जाँदा त त्यो स्थानीय स्तरमै तयार पारिने रक्सी (नेपालगन्जीया भाषामा ‘किट्टा’ पो रहेछ । यका बिहानै ‘किट्टा’ । मलाई आश्चर्य लाग्यो । अनि एक मनले सोचे ‘ह्या हिजोको ह्यांग उतार्न होला ।’

स्नेक

कारामोजा क्षेत्र जाँदाको अर्को प्रसंग हो ‘स्नेक’ । ‘स्नेक’ भनेको नेपालीमा सर्प तर यहाँ चर्चा गर्न खोजिएको स्नेक अलि फरक खालको छ । नाकापिरिपिरिट जाँदै गर्दा मेरो कार्यालयको संयोजकले भन्दै थियो ‘अब तैले स्नेक देख्न पाउँछस् ।’ मैले सोचे कुनै विशेष प्रकारको अफ्रिकी सर्प होला । जाँदै गर्दा बाटोमा करिब १२ देखि १६ वर्षका केटाहरु गाई चराउँदै थिए । उनिहरुले काँधबाट घुँडासम्म छोपिने मजेत्रो जस्ता कपडा ओडेका थिए । उनिहरुको नाडी, पाखुरा, घाँडी अनि खुट्टामा परम्परागत पाराको माला जस्ता पहिरन थिए ।
‘उ.उ..उ… स्नेक’ सँगैको सिटमा रहेको एकाउन्टेन्ट अगाबा बोल्यो । ‘खै खै कता ?’ आश्चर्य व्यक्त गर्दै मैले सोधे । सडक किनारमा काठको लौरोमा च्यापु अड्याएर बसेका केटाहरु तिर देखाउँदे अगाबा फेरी बोल्यो, ‘उ उ उ । ’
‘खोई कहाँ ?’ झन् आश्चर्यका साथ म बोले । यसपाला गाडीमा रहेका सबै हाँसे र मुखामुख गर्न थाले । एक छिन मात्र पो मैले बुझे स्नेक माने त अर्के रहेछ । त्यहाँ १६–१७ वर्षसम्मकाले पनि कट्टु भनु, या पेन्टी भनु या भित्रि बस्त्र नलगाउने पो रैछन् । अनि त्यसैले पो ‘स्नेक’ देख्न पाइने भन्दो रहेछन् ।

इभिनिङ्ग क्लिनिक

‘म त नाकापिरिपिरिट पुग्ने बित्तिकै इभिनिङ्ग क्लिनिक जाने हो ।’ क्यापचोरवा छोड्दै गर्दा एकाउण्टेन्ट अगाबाले भनेको थियो । कार्यालयमा अति कडा स्वभावको अगाबा कार्यालय बाहिर वा फिल्डमा जाँदा भने अति मिजासिलो र हासिमजाक गर्ने खालको छ । उसले यसो भन्दा मैले सोचे त्यहाँ गएर राम्रो क्लिनिकमा स्वास्थ्य जाँच गराउने होला । मलाई लाग्यो ‘इभिनिङ्ग क्लिनिक’ भनेको बेलुकी पख मात्र स्वास्थ्य सेवा पाइने ठाउँ होला ।
जब हामी त्यहा पुग्यौ । ‘उ इभिनिङ्ग क्लिनिक’ अगाबाले बाटाको देब्रे साइडमा रहेको टिनले बारेको घर तिर देखाउँदै भन्यो । यसो हेरे । त्यहाँको एक बोर्डमा कालो अक्षरले ‘इभिनिङ्ग क्लिनिक’ लेखिएको थियो । क्लिनिक त कम्तीमा स्वास्थोपचार सँग सम्बन्धीत चिन्ह रेडक्रसको चिन्ह हुनु पर्ने । त्यहाँ त विभिन्न खाले रक्सीका पोष्टर पो थियो । पछि त्यहाँ गएर हेर्दा त त्यो बेलुका मात्र खुल्ने ‘दारु भट्टी’ पो रहेछ । तर नाम भने साहै्र युनिक ‘इभिनिङ्ग क्लिनिक’ । जहाँ हामीले पनि त्यो साँझ उपचार गरायौं ।

जम्मा १२ वटा

हुन त हाम्रो देशमा पनि धेरै सन्तान नजन्माउने होइनन तर यहाँको विशेषता अलि फरक छ । म फिल्डमा जाँदा, केस स्टडीको लागि अन्र्तवार्ता गर्दा प्रायः महिलाहरुसँगनै कुराकानी गर्नुपर्ने हुन्छ । सबैसँग कुरा गर्दा म तपाईको सन्तान कति छन् भनेर सोध्ने गर्छु । जसको उत्तर मैले ३ भन्दा कम पाएको छैन । तर एक ठाउँमा जाँँदा एउटी ४५ वर्ष जतिकी महिलासँग भेट भयो । उनिलाई पनि तपाईका सन्तान कति छन् भनेर सोधे । यसो औला गन्दै आकाश तिर फर्केर उनले भनिन, ‘७ छोरा ५ छोरी जम्मा १२ वटा । ’ म एकछिन् छक्क परे । ‘१२ वटा !  हे भगवान कसरी जन्माए होलान ?’ मनमनै सोच पनि भन्न चाहि भनिन् ।
‘यति धेरै बच्चा हुर्काउन बढाउन गाह्रो भएन?’ मैले सोधे ।
‘आ भगवानले हेर्नु भाछ । १२ वटै जिवितै छन् । पालिएकै छन् । ’ उनले सहजै जवाफ फर्काउँदै मलाई सोधिन्, ‘अनि तिम्ले बिहे गर्यौं त ?’
‘अ गरिसके । ’ मैले उत्तर फर्काए
‘अनि छोरा छोरी ?’ फेरी प्रश्न ।
‘मेरी एउटी छोरी छिन् । अहिले १ वर्षकी भइन् ।’ मैले बेलिविस्तार लगाए ।
‘अरु कतिवटा बनाउने विचार छ त ?’ उनले फेरी सोधिन् ।
‘बनाउन त जतिवटा बनाउन सकिन्छ । तर म एउटै छोरीलाई राम्रो सँग पढाउने लेखाउने बिचारमा छु । धेरै जन्माएर म राम्रो खाना, शिक्षा दिन सक्दिन ।’ मैले भने ।
मेरो जवाफ सुनेर कानै सम्म मुख च्यातिने गरी हाँस्दै उनले भनिन्, ‘ह्या एउटा यतै बनाएर जाउ न त तिम्ले नसके मै पाल्दिउँला ।’ म ट्वाँ परे ।
घाटो
अघिल्लो साता छुट्टी मनाउन म टोरोरो भन्ने ठाउँमा गएको थिए । जो म बस्ने ठाउँबाट करिब १०० किलोमिटर टाढा पर्छ । क्यापचोरवा र टोरोरोको बिचमा अलि ठुलो शहर छ बाले । जहाँ मेरो कार्यालयको संयोजक हरेक शनिबार र आईतबार पढ्न जाने गर्छ । उ आइतबार फर्कने भएकोले म पनि उसकै कारमा आउनको लागि उसलाई फोन गरेर मलाई पनि पर्ख है भनेर भनेको थिए ।
तर टोरोरोमानै आइतबार बस्ने भएपछि बेलुका ५ बजेतिर मैले उसलाई तिमि जाउँ म भोली बिहान आउँछु भने । त्यसपछि उ बाटो लागेछ । तर मेरो भाग्य वा उसको दुर्भाग्य बालेबाट करिब ५ किलोमिटर अगाडि बढे पछि उसको कारलाई विपरित दिशाबाट आएको गाडीले ठक्कर दिएछ । जसका कारण उसको कार त क्षतिग्रस्त भयोनै उसलाई पनि चोट लागेछ । उ अर्को दिन अस्पतालबाट घर फर्कियो भने कार चाही दुर्घटना भएको भनेर प्रहरी थानामा लगिएछ ।
डिसेम्बर २० देखि जनवरी ५ सम्म कार्यालय बन्द हुने भएकोले उ हतार हतार आफ्नो गाडी प्रहरी थानाबाट छुटाउने हतारोमा थियो । त्यसैले हतार हतार उ प्रहरी चौकीमा आफ्नो कारको अवस्था बारे बुझ्न गयो । कारको हेरबिचार गर्दा त दुईवटा टायर नै गायब । जम्माजम्मी नोक्सानी नेपाली ४० हजार । ‘घाटो भयो नि यार बिशाल ।’ उसले घटनाबाट सुनाउँदै मलाई भनेको थियो । जब प्रहरी चौकीमा भएको कारको दुई वटा टायरनै गायब हुन्छ भने बाहिर राख्दा के होला ?

यति हुँदाहुँदै पनि प्रगति तर्फ लम्कदै छ युगाण्डा । विश्वकै लामो नदि नाइलको श्रोत भएको राष्ट्रमा पर्यटकहरुको पनि कमी छैन । भ्रष्टाचार, ढिलासुस्ती सबै विकासोन्मुख राष्ट्रका समस्या हुन् । तर युगाण्डाको बारेमा मैले अनुभव गरेको सबैभन्दा राम्रो कुरा भनेको मेरो करिब ६ महिनाको बसाईमा मैले बन्द हड्ताल, चक्काजाम कस्तो हुन्छ भन्ने सुनेको र देखेको छैन । व्यापार गर्नको लागि थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने ठाउँ हो युगाण्डा ।
जय हो युगाण्डा ।

Related

1 thought on “[Fun Factors] फन इन युगाण्डा”

  1. Unknown says:
    January 18, 2014 at 12:29 am

    Da realy salute for your work,i read this an i realy feel proud on you,.n da ur oll blogs are very usefull for new generation..hehehe like me

    Loading...
    Reply

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb
%d