बासस्थान पुगेको केही बेरमा श्रीमतीज्यूले निम्तोकार्ड थमाईन् । विवाह भोजको चुले निम्तौ रैछ । ओल्टाई पल्टाई सबै विवरण हेरे । अन्तिममा बाहिर पट्टी नाम लेखेको भागमा ध्यान गयो । नाम त ठिकै थियो । थर चाहिं ‘बुढामगर’ ।
‘मलाईनै पठाएको निम्ता हो र ?’ एक छिन् रनभुल्ल परे । श्रीमतीज्यू खिसिक्क हाँसिन् ।
‘नाम त तपाईकै लेख्या रैछन् । जात चाहि मेरो परेछ ।’, उनले हाँस्दै भनिन् ।
मेरो नाममा उनको थर लेखिएकोमा उनि खुसी भन्दा बढि असमञ्जस थिइन् ।
‘कस्तो मान्छे रैछ, नाम थर त सहि लेख्नु नि ?’ एकछिन झनक्क रिस उठ्यो । फिसिक्क हाँसे र टारे ।
कुरो ठुलो पनि थियो । कुरो ठुलो पनि थिएन् ।
जाबो थरनै गलत लेखेको त हो नी । जे होस् आफ्नै श्रीमतीको थर त लेखेको रैछन् । के नै बिग्रियो र ? कहिलेकाँही उनको नामको पछाडी पनि त मेरो थर लेखिएर आएछ । उनलाई त केही फरक पर्दैन । मलाई मात्र के फरक पर्छ र ?
मनमनै आफैलाई शान्त पार्न खोजे ।
तर । अहँ, कहाँ त्यस्तो हुन्छ ? मेरो थरनै गलत लेख्ने । त्यो पनि मेरो श्रीमतीको थर लेख्ने । कस्तो बेवकुफ मान्छे होला । थर थाहा नभए बरु नाम मात्रै लेख्नु । त्यो पनि थाहा नभए बोलाउँदै नबोलाएको भएपनि हुने । अर्को मनले जवाफी हमला खालको तर्क अघि सार्यो ।
श्रीमतीज्यू खाना पठकाउँदै छिन् । म छेउमा बसेर अझै पनि त्यही कार्डलाई ओल्टाईपल्टाई हेर्दै छु । भित्र भित्र एक खालको ज्वारभाट उठेको छ । कताकता हिनता बोध भयो । आफ्नो नामको पछाडी श्रीमतीको थर ? अहँ मेरो मन यो मान्न तयार भइरहेको छैन ।
रानामगर लेखेपनि बुढामगर लेखे पनि । कुरा त पाँच अक्षरको मात्र हो । तर पनि ममा किन आयो त्यस्तो अभिमानी भावना ? कि श्रीमतीको थर लेखिँदा आफैमा हीनताबोध आउनुपर्ने ? किन मलाई आफ्नो पहिचान माथिनै हमला भएको भान हुनुपर्ने ? या भयो ।
मेरी आमा थापाबाट राना हुनु भयो । भाउजु घर्तिबाट राना हुनु भयो । दिदि रानाबाट थापा हुनुभयो ।
खोइ उहाँहरुले त त्यसमा गुनासो गरेको सुनेको छैन । अनि मलाई मात्र यतिविधि सुर्ता किन ?
के म पुरुष भएकैले हो ? यत्रो चिन्ता, यत्रो अभिमान अनि पहिचानको संकट ? के मलाई मात्र यस्तो चिन्ता लाग्ने हो ? या अरुलाई पनि यसैगरी लाग्छ ?
………………………………………..
थोरबहुत मानवशास्त्र, समाजशास्त्र पढ्दा विवाह एउटा संस्था हो भनेर पढियो । हाम्रो समाजमा बिहेपछि श्रीमतीको थर श्रीमान्का थरमा विलुप्त हुने गर्छ । कति महिलाले विहे पछि आफ्नो नामको पछाडी श्रीमानको थर जोड्न हतारिएको पनि देखेको छु । विशेष गरी सामाजिक सन्जालमा । कोही नामको पछाडी श्रीमान्को थर राख्छन् । कोही आफ्नो थर र श्रीमान्को थर पनि राख्छन् ।
के आफ्नो थर नलेखी श्रीमान्को थर राख्दैमा विवाहले मान्यता पाउँछ ? वा आफ्नो थरको पछाडी श्रीमान्को थर राख्दा विवाहले मान्यता पाउँछ ? यो प्रश्नको जवाफ मसँग छैन ।
अर्को प्रश्न विवाहपछि श्रीमान्ले चाहि किन श्रीमतीको थर राख्दैनन ? उदाहरण म आफै हुँ । मैले पनि त्यसो गरेको छैन । कतिसम्म भने मेरो थरको साटो मेरो श्रीमतीको थर राखिदिँदा मैले आफ्नो पहिचानमा संकट देखेँ ।
म आफुलाई अलिअलि पढेलेखेको, देश समाज घुमेको ठान्छु । तर म आफैमा पनि यस खालको सोच छ । मेरो आँखामा पनि केही पर्दा छन् । मेरो बुझाईमा पनि केही खाडल छन् । मेरो व्यवहारमा पनि केही कमजोरी छन् ।
तर के यी एकैचोटी आएका हुन् त ? या मलाई मात्र यस्तो साेंच आएको हो त ?
मेरो समाजले मलाई केटा भन्दा केटी कमजोर हुन्छन् भनेर सिकायो । छोरी विहे गरी जाने जात हो भनेर बुझायो । श्रीमान्ले श्रीमतीलाई दकशमा राख्नुपर्छ भनेर देखायोे । जवान दिदि बजार जाँदा आठ वर्षे भाईलाई सुरक्षा गर्न पठायो ।
यहि सिकाई, यहि बुझाई, यहि देखाई हो त मेरो थर बदलिँदा ममा अहंमता ल्याउने ?
म मानव हुँ । म पनि यहि समाजको अंग हुँ । यहि परिवेशमा हुर्किएको हुँ । यहिको रहनसहनलाई पालन गरेको व्यक्ति हुँ । र म मा यस्तो सोच आउनु कदाचित् असम्भव होइन् । सम्भव देख्छु म । तर, यसलाई सहि या गलत, राम्रो या नराम्रो, व्यवहारिक वा अव्यवहारिक, न्यायोचित वा अन्यायपूर्ण ठम्याने क्षमता भने मसँग छ । त्यस कुरामा मैले मेरो समाजलाई दोष दिन मिल्दैन । परिवारलाई दोष दिन मिल्दैन । साथीभाईलाई दोष दिन मिल्दैन ।
अनि यो सोंचलाई पनि म आफैले पनिवर्तन गर्न सक्छु । अरुको मुख ताकेर होइन, आफ्नो साेंच बदलेर, साेंच मात्र होइन व्यवहार बदलेर मात्र गर्न सक्छु ।
…………………………………………………………………
म छोरा भएर जन्मिएकै कारणले म अधिकार सम्पन्न छैन । मसंग लिंग भएकै कारणले म महिलालाई हिंसा गर्न अनुमति प्राप्त छैन । मलाई पढेलेखे भएकै कारण महिलालाई निच सोच्न स्वीकृती छैन । मैले दुईचार कुरा जानेकै भरमा सबै महिला अबुझ हुन भन्न हक छैन । म श्रीमान् भएकै कारणले श्रीमतीलाई दबादमा राख्ने लाइसेन्स छैन ।
जन्मँदा हामी सबै समान छौ । हाम्रो परिवेश, समाज, रीतिरिवाज र परिस्थिति हामी (पुरुष)हरुका पक्षमा भएकैले हामी आफुलाई सर्वगुणी ठान्छौ । सर्वाधिकार सम्पन्न ठान्छौं । यस्तै सोच र व्यवहारले हामीलाई पछुवा गतिमा लग्दैछ । समाजमा विभेदलाई बढाउँँदैछ र असमानताको खाडललाई अझ फराकिलो बनाउँदैछ ।
अब साेंच परिवर्तन गर्ने बेला हो । म एक पात्र हुँला । पुरुष हुँला । हामी सबै, चाहे महिला होस् या पुरुष । हामी सबैमा पितृसत्तात्मक सोंच छ । आफु हावी हुँदा सबै ठिक छ भन्ने साेंच छ । यहि सोचलाई भत्काउन सकेमात्र हामीले महिला पुरुष बिचको समानता र समतालाई स्थापित गर्न सक्छौं ।
बाँकी रह्यो थर फेरिँदाको पीडा ।
म अब त्यो चिन्ताबाट बाहिर आइसकेको छु । यो घटना केहीलाई सुनाएको पनि छु । धेरैले यो आलेख मार्फत थाहा पनि पाउनुहुनेछ । अरुलाई आफ्नो थरको साटो श्रीमतीको थर लेखिँदा रिस उठ्छ उठदैन मलाई थाहा छैन । आफ्नो पहिचाननै मासिए जस्तो लाग्छ या लाग्दैन त्यो पनि थाहा छैन । तर मलाई रिस उठेकै हो । चिन्ता लागेकै हो ।
तर, अब ?
अहँ अब कत्ति पनि चिन्ता छैन । मलाई मेरी श्रीमतीको थरबाट कसैले चिन्दा मलाई चिन्ता लाग्नेछैन । उनलाई पनि मेरो थरबाट चिनिँदामा कुनै गुनासो छैन होला । किनकी यो समाजबाट मैले जे कुरा सिके त्यही कुराले त्यो रिस र चिन्ता ल्याएको थियो । म त्यसलाई केलाउन सक्छु र सहि गलत छुट्याउन सक्छु । सायद छुट्याउन पनि सके । नाम थर, लिंग, जाति परिवर्तन गर्दैमा केही हुँदैन । पहिला त आफुमा भएको पितृसत्तात्मक सोंच परिवर्तन गर्नुपर्छ । मान्छेले मान्छेलाई समान देख्न सक्नुपर्छ । आफु र अर्कोलाई समान देख्न सक्नुपर्छ ।
त्यसैले अब त लाग्छ, ‘नाम पे क्या रख्खा है यार ?’ होइन ‘थर पे क्या रख्खा है यार ?’
(याे लेख २०७६ साल फाल्गुन १० गते नेपालगन्जन्युज डट कममा प्रकाशित भएकाे हाे)