यो फोटो कतै देख्नुभएको छ ?
यस फोटोमा एक गिद्ध र बच्चा देख्न सकिन्छ ।
यो फोटो केभिन कार्टरले सन् १९९३ मा सुडानमा खिचेका थिए । त्यसबेला सुडान चर्को भोकमरीबाट गुज्रिरहेको थियो । यो फोटोले सन् १९९४ मा पुलित्जर अवार्ड पनि पाएको थियो ।
यो फोटोको चर्चा म आज किन गर्दैछु ?
किनकि,
आज अगष्ट १९ ।
यो दिनलाई म दुई महत्वपूर्ण कारणले सेलिब्रेट गर्छु । पहिलो विश्व फोटोग्राफी दिवसका रुपमा अनि दोस्रो विश्व मानवीय दिवस (World Humanitarian Day)। यी दुबै क्षेत्रसँग म कुनै न कुनै रुपमा आफुलाई नजिक पाउँछु ।
जुनबेला म पत्रकारिता गर्थे त्यसबेला देखिनै ममा फोटोग्राफी प्रतिको रुचि थियो । राम्रो क्यामेरा नभएकाले फोटोग्राफीको शोखलाई शीप बनाउन पाएको थिएन ।
सन् २०१४ मा बल्ल डिएसएलआर क्यामेरा किन्न सके । त्यसपछि आफ्नो फोटोग्राफी शिपलाई तिखार्न थाले । फोटोग्राफी शीप तिखार्न नेपालगन्ज फोटोवार्कस पनि सुरुवात गरे ।
यसक्रममा मैले फोटोग्राफी सम्बन्धि थुप्रै ट्युटोरियल हेरे । फोटोग्राफी सम्बन्धिका डकुमेन्ट्री तथा सिनेमा पनि टन्नै हेरे ।
त्यसमध्ये आजपर्यन्त मेरो दिमागमा बसिरहेको सिनेमा हो द ब्यांग ब्यांग क्लव ।
यो सिनेमा सत्य घटनामा आधारित हो ।
यसको कथा दक्षिण अफ्रिकामा भएको रंगभेदविरुद्धको संघर्षको समयमा काम गरेका चार साहसी फोटोग्राफरहरूको कथामा आधारित छ ।
ति चार जना फोटोग्राफरहरु हुन केभिन कार्टर, ग्रेग मारिनोभिच, केन ओस्टरब्रोक, र जोआओ सिल्वा । उनिहरुले आफ्नो फोटोमार्फत साउथ अफ्रिकामा रहेको रंगभेदको अत्याचार र हिंसालाई उजागर गरे ।
यस सिनेमामा फोटोग्राफरहरूले सामना गरेका चुनौती, खतरा, र मानसिक तनावलाई चित्रण गरिएको छ । यस सिनेमाले मानविय संकटको बेलामा फोटोग्राफीको भूमिकालाई सशक्त रुपमा देखाएको छ ।
त्यसैले अहिले पनि मलाई फोटोग्राफीको गर्न उत्प्रेरणा चाहिएमा यो सिनेमा हेर्ने गर्छु ।सायद दर्जन बढि पटक त हेरिसकेको छु । यस सिनेमाको बारेमा कुरा गरिरहँदा यसका चार पात्रमध्ये एक केभिन कार्टरको कुरा नगरि यो लेख पुरा हुँदैन ।
धेरैले इन्टरनेट वा वेबसाइटमा एक भोकाएको बच्चालाई गिद्धले कुरीरहेको फोटो देखेको हुनुपर्छ ।
यो फोटो केभिन कार्टरले सन् १९९३ मा सुडानमा खिचेका थिए । उनि फोटोग्राफीको एसाइन्मेन्टमा गएका बेला यो फोटो खिचे । फोटोले फोटोग्राफीको सर्वोच्कृष्ट पुलित्जर अवार्ड पनि पायो ।
उक्त फोटोले विश्वव्यापी आक्रोशको सृजना गर्नुका साथै अन्र्तराष्टिय सहयोगको प्रयासलाई पनि उत्प्रेरित गर्यो ।
तर दुर्भाग्य, फोटोले पुरस्कार जितेपछि फोटोपत्रकारले थुप्रै नकारात्मक टिकाटिप्पणीहरु भए । त्यसबखत मानसिक समस्याबाट समेत जुझिरहेका कार्टरले ३३ वर्षको उमेरमा आत्महत्या गरेका थिए ।
माथि गरिएको चर्चाले कसरी फोटोग्राफीले मानविय संकटका घटनालाई विश्वसामु ल्याउन कसरी मद्दत गरको छ भन्ने दर्शाउँछ ।
विश्वभर फैलिएको कोरोना भाइरस होस या भुईचालो, सुनामी होस या बाढि पहिरो फोटोग्राफरले फोटो नखिच्दो हो त हामी त्यसको असरलाई बुझ्न सक्दैनथ्यौं ।
यसका साथै विश्मा जारी महत्वपूर्ण घटनाहरु, रुस युक्रेन युद्ध, इजराइल प्यालेष्टाइन तनाव । यी सबैलाई फोटोग्राफीको माध्यमबाट अभिलेखित गरिएको छ । विश्वसामु देखाइएको छ । फोटोग्राफीकै कारण विश्वले यी घटनाहरुलाई नियाल्ने, सहयोग अनि विरोध पनि जताउन पाएका छन् ।
म र मानवीय कार्य
विगत पाँच वर्षदेखि म पनि मानविय सहायताको क्षेत्रमा सक्रिय छु । विशेष गरि मानविय कार्यमा नेतृत्व लिनका लागि युवाहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्छु ।
सन् २०१५ मा गएको महाभुकम्पको दोस्रो दिनदेखिनै हामी नेपालगन्जीया युवाहरु सक्रिय थियौं । हेल्पिंग ह्याण्ड्स फ्रम नेपालगन्ज बनाइ हामीले भुकम्प पीडितहरुको लागि राहत संकलन तथा वितरणमा स्वयंमसेवि र सक्रिय भूमिका खेल्यौ ।
यस अभियानमा नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपमेयर उमा थापामागर, किरण ढकाल, तुलसिमणि केसी, रुपनी जीएम, सोम गुरुङ्ग, ममता थापा, सुरेन्द्र चलाउनेलगायतले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
विश्व हल्लाउने गरि फैलिएको कोरोना भाइरसको महामारीका बेलामा पनि सक्रिय भूमिका खेलियो । सामाजिक संजालबाट युवाहरुलाई परिचालन गरि कोरोना भाइरस संक्रमणको बारेमा सहि सूचना प्रवाह गर्नका लागि हातेमालो गरेको थिए ।
त्यसबेला दिवाकर उप्रेतीले सुरु गर्नुभएको कल द डक्टर अभियानले कोरोना भाइरसको बारेमा सहि सूचना प्रभाव गर्न महत्वपूण भूमिका खेलेको थियो । यस अभियानमा मैले सक्रिय रुपमा सहयोग गरेको थिए ।
त्यसयता पनि म मानिवय कार्यमा युवाहरुको नेतृत्व विकासको लागि क्षमता विकासको कार्यमा सक्रिय रहेको छु ।
[World Photography Day] विश्व फोटोग्राफी दिवस
फोटोग्राफी आफैमा एउटा श्रृजनात्मक कला हो । विश्व फोटोग्राफी दिवस प्रत्येक वर्ष अगस्ट १९ मा लुइस ड्यागेरले १८३७ मा विकास गरेको ड्यागेरोटाइप नामक फोटोग्राफिक प्रक्रियाको आविष्कारको सम्झनामा मनाइन्छ ।
यसलाई सन् १८३९ अगस्ट १९ मा फ्रान्सेली सरकारले विश्वलाई उपहारको रूपमा औपचारिक रूपमा घोषणा गरेको थियो। त्यसपछि, फोटोग्राफीले अत्यधिक प्रगति गरेको छ, यो अभिव्यक्ति, सञ्चार, र दस्तावेजीकरणको शक्तिशाली माध्यम बनेको छ ।
यसै कारण, August 19 लाई फोटोग्राफीको इतिहासमा यस महत्वपूर्ण भएकाल सम्मानस्वरुप विश्व फोटोग्राफी दिवसको रूपमा चयन गरिएको हो ।
यस वर्ष विश्व फोटोग्राफी दिवसलाई An Entire Day एउटा पुरा दिन शिर्षकमा मनाइँदै छ । विश्वभरका मानिसले आफ्नो दिनभरमा भएका क्रियाकलापको फोटो भिडियो पोष्ट गरेर यो दिवस मनाउन सक्छन् ।
[World Humanitarian Day] विश्व मानवीय दिवस
विश्व मानवीय दिवस हरे वर्ष अगस्ट १९ तारिखमा विश्वभर मनाइन्छ । सन् २००३ को अगस्टमा इराकको बगदादस्थित क्यानाल होटलमा भएको बम आक्रमणमा २२ जना मानवीय सहायता कार्यकर्ताहरूको मृत्यु भएको थियो । उक्त घटनामा मृत्यु हुनेहरुमध्ये इराकका लागि संयुक्त राष्ट्र महासचिवका विशेष प्रतिनिधि सर्जियो भिएरा डि मेलो पनि थिए ।
पाँच वर्षपछि, संयुक्त राष्ट्र महासभाले १९ अगस्टलाई विश्व मानवीय दिवस (World Humanitarian Day) को रूपमा घोषित गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यसपश्चात हरेक वर्ष १९ अगस्तलाई विश्व मानवीय दिवसको रुपमा मनाइदै आएको छ । हरेक वर्ष मनाइने विश्व मानवीय दिवसको विभिन्न शिर्षकहरुमा केन्द्रित गरि मानवीय संकटमा परेका व्यक्ति तथा मानविय सहायतामा खटिने व्यक्तिहरुको सवालमा वकालत गरिन्छ ।
सन् २०२४ को विश्व मानवीय दिवस #ActForHumanity शीर्षकमा मनाइदैछ ।
यस वर्षको शिर्षकले विश्वमा द्वन्द्वरत पक्ष र विश्व नेताहरुलाई द्वन्द्वक्षेत्रमा नागरिक तथा मानविय सहायता कार्यकर्ताहरुको सुरक्षा सुनिश्चितताका लागि दबाव दिनका लागि जनसमर्थन निर्माण उद्देश्य लिएको छ ।
मानविय संकट र फोटोग्राफी
मानवीय संकटहरूको सन्दर्भमा, फोटोग्राफीले अभिलेखिकरण मात्र नभई वकालतको काम पनि गरेको छ ।
विश्वमा भएका मानविय संकट तथा आपतकालिन अवस्थामा फोटोग्राफीका माध्यमबाट वास्तविकता प्रस्तुत गर्न मद्दत पुगेको छ ।
मानविय संकटमा परेकाहरुको आवाजलाई फोटोग्राफीका माध्यमबाट सुनाउन सकिएको छ । फोटोग्राफीका कारण प्रमाणमा आधारित वकालत गर्न सकिएको छ ।
मानविय संकटका बेला भोगिएका पीडालाई फोटोग्राफीको माध्यमबाट चित्रण गर्न सकिएको छ । साथै फोटोग्राफीले मानविय संकटबारे चेतना बढाउन, सहानुभूति जगाउन, र मानविय सहायतका कार्यलाई उत्प्रेरित गर्न एक शक्तिशाली माध्यम बनेको छ ।
यो समय हामी युद्धदेखि प्राकृतिक प्रकोपसम्मका विश्वव्यापी चुनौतीहरूको सामना गरिरहेका छौं । फोटोग्राफीले मानविय सहायतका आवश्यकता र मानवीय कार्यको प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
यसकारण पनि म मानविय संकटका बेला फोटोग्राफीले खेल्ने भूमिकालाई महत्वपूर्ण मान्छु ।
तपाईहरुपनि आजको दिनलाई विशेष बनाउन सक्नुहुन्छ । हजुरले लिएको एउटा सानो कदमले विश्वभर फोटोग्राफीको र मानवीय कार्यको प्रवद्र्धनमा सहयोग पुग्नेछ ।
त्यसैले,
फोटोग्राफीमा रुची राख्नुहुन्छ भने आफ्नो सामाजिक सन्जालमा #AnEntireDay ह्यासट्यागसहित एउटा फोटो वा भिडियो पोष्ट गर्न सक्नुहुनेछ ।
यसका साथै, मानविय संकटका बेलामा द्धन्दरत पक्ष र विश्व नेताहरुलाई जिम्मेवार बनाउन चाहनुहुन्छ भने आफ्नो सामाजिक संजालमा बिचार लेखि #ActForHumanity ह्यासट्याग राखेर पोष्ट गर्न सक्नुहुन्छ ।
सबैलाई विश्व फोटोग्राफी दिवस र विश्व मानवीय दिवसको शुभकामना ।
फोटोग्राफीको बारेमा मैले नेपालगन्जका फोटोग्राफर देविप्रसाद रस्तोगीसँगको पडकाष्ट सम्बन्धी ब्लग यहाँ पढ्न सकिन्छ ।