युगाण्डा आए देखिनै एक्लोपन महशुस भइरहेको छ । नयाँ देश, नयाँ परिवेश, नौला मान्छे र खानपिनका कारण मलाई यहाँ आएदेखिनै स्थानीय हावापानीसँग घुलमिल हुन गाह्रो परिरहेको छ । कहाँ म ४२ डिग्रीसम्म गर्मी हुने नेपालगन्जमा बसेको मान्छे अहिले २२ डिग्री तापक्रम भएको अफ्रिकी राष्ट्र युगाण्डाको पूर्वमा पर्ने क्याप्चोरवा जिल्लामा छु । यो जिल्ला अफ्रिकी महोदेशकै अर्को राष्ट्र केन्यासँग सिमा जोडिएको छ । क्याप्चोरवा आफैमा सुन्दर त छ नै विश्व मान चित्रमा यो देशलाई चिनाउन यहि ठाउँका स्टेफेन किप्रोचिले सघाएका छन् । किप्रोचि त्यो व्यक्ति हुन जसले सन् २०१२ मा लण्डनमा भएको ओलम्पिक खेलमा पुरुष तर्फ म्यारथन दौडको उपाधि जितेका थिए । अहिलेपनि उनि क्याप्चोरवा वरपर दौडिरहेका भेटिन्छन् । किप्रोचिले पाएका सफलताले क्याप्चोरवाको शिर त उचा पारेको छ नै उनको सम्मानमा यहाँको सरकारले घर समेत बनाइदिएको छ ।
यहाँ आउदेखिनै यस ठाउँमा कसरी घुलमिल हुने भन्ने मेरो सबैभन्दा ठुलो समस्या थियो । आएको दिननै स्थानीय बजारमा केही भारतीयहरुको पसल भेटे पछि भने केही सहज लाग्यो । आजकल खाली समयमा म उनिहरुको पसलमा गएर गफिने गर्छु । क्याप्चोरवा आएदेखिनै यहाँको सुन्दरताका साथै शिरमा रहेको युगाण्डाको सबैभन्दा ठुलो हिमाल माउण्ट एलगनको बारेमा चर्चा सुनेको थिए । अफ्रिका भन्ने बित्तिकै काला मान्छे र प्रचण्ड गर्मी बुझेको म एउटा नेपालीले यहाँ आएपछि भने एउटा कुरा गलत पाए । भुमध्ये रेखामा अफ्रिकी महादेश पर्ने भएकाले यहाँका मानिस काला हुने भएपनि युगाण्डामा गर्मी भने हुँदो रहेछन् ।
नेपालको तुलनामा यहाँको सबै चिज महँगा छन् । नेपालमा प्रति लिटर २० रुपैयामा मिनरल वाटर खान समेत दश पटक सोच्ने म यहाँ आएपछि ५० रुपैयामा आधा लिटर पानी खाइरहेको छु । यसो गर्नु मेरो रहर होइन न कि युगाण्डामा म एउटा विदेशी भएको ढोंग देखाउन चाहन्छु । यो मेरो बाध्यता हो । युगाण्डा आफैमा लेक भिक्टोरिया र नाइल नदि बग्ने राष्ट्र हो तर पनि यहाँ पानीको भने साह्रै समस्या त छ नै किनेर पानी खानु साह्रै महंगो पनि छ । धारा पेलेर पानी खाने बानि भाको मलाई त्यत्रौ पैसा तिरेर पानी खानुपर्दा कति खलेको छ भन्ने मेरा गोजीलाईमात्र थाहा होला ।
क्याप्चोरवा आएको पहिलो शनिबार दिन कसरी काट्ने भन्ने समस्याले सताइरहेको थियो । दुई दिन म सँगै क्याप्चोरवासँगै जोडिएको किविन जिल्ला घुमेकी युगाण्डेली डाक्टर रिटाले बिहान ओछ्यानमा भएकै बेला फोनको घण्टि बजाइन् । “आज हामी घुम्न जाने योजनामा छौ, तिमी पनि जाने हो । ” कसरी दिन काट्ने होला भनेर सोचिरहेको मैले डाक्टर रिटाको प्रस्ताव नकार्ने कुरै भएन । डाक्टर रिटा आफ्ना केही साथीहरुका साथ दुई हप्ताको लागि यहाँ आएकी हुन् रिसर्च गर्न । फोनैबाट दिउँसो मलाई म बसेको होटलमा लिन आउन भने । सोही अनुसार करिब दिँउसो १ बजे उनिहरु म बसेको होटलमा आइपुगे । “हामी कहाँ जाँदै छौं ।” मैले सोधेको प्रश्नमा डाइभरले भने “मेरो गाउँ अनि हाइ एटिच्युट रंगशाला बन्न थालेको ठाउँ ।” वाउ !!! मलाई त्यो ठाउँको बारेमा जान्न मन लाग्यो ।
ओलम्पिक जित्ने किप्रोचीकै प्रभाव भन्नुपर्छ केही देशहरुको सहयोगमा तिन वर्ष भित्र हाइ एटिच्युड रंगशाला निर्माणको लागि क्याप्चोरवादेखि करिब २० किलोमिटर पहाडमा काम सुरु गरिएको रहेछ । त्यहाँ जाडो धेरै हुन्छ भने पछि मैले पनि झोलामा पट्याएर राखेको ज्याकेट झिके र यात्रा सुरु गरियो । युगाण्डाका सडकहरु सजिला छैनन् । प्रमुख सडक बाहेक सहायक सडकहरु सबै कच्चि, पत्थरयुक्त र अधिकांश भागमा रातो माटो छ । करिब ४५ मिनेट पछिको यात्रा पछि हामी रंगशाला निर्माण हुने टरियट भन्ने पहाडमा पुग्यौं । साच्चिकै सुन्दर रहेछ त्यो ठाउँ । माउण्ट एलगनको काखमा रहेको त्यो डाँडामाथि तराईको जस्तो फाँट । साह्रै चिसो हुँदो रहेछ हावा चलिरहने । हामी त्यहाँ करिब आधा घण्टा बिताएपछि डाइभरले भने “अब सिपि फल्स जानु पर्छ ।”
सिपि फल्स, कहाँ छ त्यो । मेरा प्रश्नको जवाफमा डाँइभरले भने कम्पाला जाने बाटोमा । बल्ल मलाइ याद आयो क्याप्चोरवा आउने बेला बाटो बाट देखिएको झरनानै सिपि फल्स रहेछ । हामी त्यता तर्फ लाग्यौ । सिपि पल्स जहाँ सिजनको बेला दैनिक २ हजारसम्म पर्यटकहरु आउने रहेछन् । बाटोमा गाइडसँग डाक्टर रिटाका साथीहरुले बार्गेनिक गरेर १० हजार बाट २ हजार सिलिंग (७४ रुपैया नेपाली)मा झारे । सानो जंगल र उकालो छिचोलेर जब हामी सिपि फल्समा पुग्यौं । दिनभरीको थकान मेटियो । सिपि झरनाबाट पानी झर्ने ठाउँ निर सानो गुफा रहेछ जहाँ पर्यटकहरु बस्ने र फोटो खिच्न सक्थे । हामी पनि गयौं फोटो खिच्यौं र सिपि झरनाको पानीका अंशहरुले आफ्नो अनुहार भिजायौं ।
युगाण्डा आएदेखि दैनिक करिब २ सय ५० रुपैयाको पानी किनेर खाइ रहेको म सिपि झरनाको पानी देखेर भने अचम्मित बने । के यो पानी खान लायक छैन त । या कसैले पनि यो पानीलाई सर्वसुलभ रुपमा खाने अवस्था सिर्जना गर्दैनन् । यस्तै यस्तै सोच मेरो दिमागमा आए पनि सिपि झरनाबाट फर्कने बेलामा एउटा वाक्य भने मेरो मुखबाट निस्किहाल्यो, “ओऽऽऽ सिपि ।।। आई एम फलेन इन योर ब्युटी ।”
1 thought on “[Sipi falls-Uganda] ओऽऽऽ सिपि ।।।”