Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Child Journalist] मेरो पत्रकारिताको न्वारन

Posted on December 28, 2013June 23, 2024 by bishalpana
वि.सं. २०५९ साल । म त्यस बेला बालक्लवको सक्रिय सदस्य थिए । बालक्लवमार्फत बालबालिकाहरुको लागि आवाज उठाउने काममा सक्रिय थिए । त्यसैक्रममा मानवअधिकार सचेतन मंच (एफा)ले आयोजना गरेको आधारभूत बाल पत्रकारिता तालिममा सहभागी हुने अवसर पाए । समाचार भनेको के हो भन्ने थाहा पाए पछि भने मलाई आफु पनि समाचार लेख्ने र पत्रकार बन्ने भुत सवार भयो । गाउँमा हामी ३,४ जना साथीहरु मिलेर भित्तेपत्रिका निकाल्न थाल्यौं ।
बाल अधिकारकर्मी गाैरी प्रधानसँग अन्तर्वार्ता  लिँदै

त्यसबेला नेपालगन्जबाट प्रकाशित हुने ‘नेपाली एक्सप्रेस’ एउटा लोकप्रिय दैनिक पत्रिका थियो । हरेक पत्रकार वा नागरिकलाई आफ्नो समाचार र लेख रचना नेपाली एक्सप्रेसमा छपाउनको लागि ठुलो धोको हुन्थ्यो । पत्रिकामा छापिए त्यसको चर्चा पनि बेग्लै हुन्थ्यो । बाल पत्रकारिता तालिमकै बेला मेरो नेपाली एक्सप्रेसका प्रकाशक सम्पादक वरिष्ठ पत्रकार शिव डोटेलसँग भेट भएको थियो । त्यसैबेला सोही पत्रिकामा आवद्ध पत्रकार दाजु शुक्रऋषि चौलागाई र भेषराज बस्नेतसँग पनि चिनजान भएको थियो । उनिहरुलाई म मेरो पत्रकारिताका ‘गुरु’ भन्न रुचाउँछु ।

गाउँघरका समाचार लेख्ने क्रम जारी थियो । समाचारका ‘छ ’ क को बारेमा विस्तारै सिक्दै थिए । हामीलाई बालक्लवमा आवद्ध गराउने एफाले हप्ताको एक दिन नेपाली एक्सप्रेसमा बाल पत्रकारहरुको लागि समाचार छपाउने वातावरण बनायो । जसले म जस्तो पत्रकारितामा लाग्न चाहनेहरुलाई एउटा सुनौलो मौका दियो । मैले अरु साथीहरुले झै समाचारहरु लेखेर पठाउने गर्थे । तर कहिल्यै पनि मेरो समाचार किन छापिएन भनेर सोध्ने मौका मैले पाइन् । त्यसैको उत्प्रेरणा भन्नुपर्छ अहिले पनि बालक्लवबाट आएका थुप्रै साथीहरु पत्रकारितामा सक्रिय हुनुहुन्छ । जसको एउटा उदाहरण हाल पोखरामा रहेर पत्रकारितामा सक्रिय साथी मनोज घर्तिमगर, नेपालगन्जबाट प्रकाशित हुने हाम्रो समाचार दैनिकमा आवद्ध भाई विजय मल्ल, हिमाल एफएममा सक्रिय भाई भिष्म लोध, उदयराज वर्मा, बहिनि लक्ष्मि विसिलगायत हुन्  । यस अर्थमा म नेपाली एक्सप्रेसलाई बाल पत्रकारिताको जग हाल्ने घर भन्न रुचाउँछु । यसको अर्थ अरु पत्रिकाहरुले नगरेका भन्ने चाँहि होइन ।

वि.सं. २०६० सालमा एसएलसी पुरा गरेपछि मैले उच्च शिक्षाको लागि नेपालगन्जको बसाई सुरु गरे । त्यो सँगै पत्रकारितामा अझ बढि सक्रिय हुने इच्छा जाग्यो । २०६१ सालमा नेपाल प्रेस इनिस्टिच्युटबाट सञ्चालन गरिने तालिममा मैले पनि सहभागीता जनाए । त्यसबेला हाम्रो समूहमा हाल नेपाल प्रेस युनियन, बाँकेका अध्यक्ष नरेन्द्र थापा, उमा थापा, जीवन शर्मा, सिता बोहरा, नारद अधिकारी, प्रेरणा तामांग, राजन तामांग, कृष्णा वलीलगायतका थियौं ।

तीन महिने तालिम सकिएपछि इन्टर्न शिपमा पठाइने भयो । मैले नेपाली एक्सप्रेसनै रोजे । त्यही इन्टर्नशिपको बेलाको एउटा घटना भने मलाई अझै पनि ताजै छ । 

त्यसबेला समाचार लेख्ने भुत सवार थियो ।

मैले एउटा विवादित विषयमा समाचार लेखेको थिए । समाचार नेपाली एक्सप्रेसमा छापियो । समाचार छापिएको भोलिपल्ट बिहानै मलाई सम्पादक शिव डोटेलले फोन गर्नुभयो । ‘बिशाल तिमि एक हप्ताको लागि गाउँ गएर बस ।’ फोनमा उहाँले भन्नुभयो ।

‘किन सर ? के भो र ?’ आश्चर्यजनक मुद्रामा मैले सोधे । ‘तिमिले लेखेको समाचारले गर्दा यहाँ समाचार लेख्ने को हो भनेर आ’छन । अहिले यहाँ तिमि बस्नु ठिक छैन । घर जाउँ केही दिन पछि म यता सबै सल्टाएर तिमिलाई खबर गर्छु ।’ शिव सरले भन्नु भयो ।

शसस्त्र द्वन्द्व चरम उत्कर्षमा रहेको त्यस बखत शिव सरको यस्तो कुराले मलाई भित्र भित्रै डर लाग्यो । उहाँको सुझाव अनुसारनै म घर गए । डरपोक भएर होइन कि आफ्नो गुरुले दिएको सुझाव मानेको थिए मैले त्यसबेला ।

एक हप्ता पछि म फर्किए । 

उहाँ अफिसमै हुनुहुन्थ्यो । म पुगेपछि हास्दै उहाँले हाल खबर सोध्नु भयो । मैले भने ‘सर भएको के हो ?’ ‘तिम्रो समाचारले त खलबलि मचाए छ नि ? त्यही भएर यहाँ आएका थिए तिमिलाई खोज्न ।’ हल्का मुस्कान सहित उहाँले भनेको यो शब्द मलाई अझै पनि याद छ ।

‘त्यसो भए अब के हुन्छ त सर ? ’ मैले उत्सुकतापूर्वक सोधे । ‘के हुनु सब रफादफा भै सक्यो । मलाई समाचार लेख्नेलाई ठिक पार्छु भन्थे । मैले समाचार मेरो पत्रिकामा छापिएको हो । कुनै गुनासो वा गल्ती भए खण्डन लेख्नुस् नभए अदालतमा गएर मुद्दा हाल्नुस् मेरो पत्रिकाको नाममा । म आफै पनि वकिल हो । म आफै आउँछु बहस गर्न भन्दे ।’ उहाँले भन्नुभयो ।

‘अनि के त सर अब मुद्धा हाल्छन् त ।’ कहिल्यै मुद्धा मामिलाको नाम नसुनेको मैले सोधे ।’ के को मुद्धा हाल्नु यार । चिन्ता नगर हाले पनि म छु नी । तिमि ढुक्क भएर समाचार लेख तर समाचार लेख्दा पत्रकारिताको मर्यादालाई चाहि बिर्सनु हुँदैन है ।’ मलाई सचेत पार्दै उहाँले भन्नु भयो ।

 त्यसपछि भने म ढुक्क भए । मलाई यो घटनाले के पनि सचेत गरायो भने समाचार लेख्दा ‘ब्यालेन्स’ चाँहि गर्नुपर्दौ रहेछ । नभए यस्तै समास्या भोग्नु पर्छ । यो मेरो पत्रकारिता सिक्दाको ठुलो सिकाई हो । अर्को कुरा कुनैपनि मिडिया हाउसमा काम गर्ने पत्रकारहरुले लेखेको समाचारको जिम्मेवार सम्पादक हुनुपर्छ भन्ने पनि मैले बुझे । त्यसबेला शिव सरले जिम्मा नलिएको र जिम्मेवारीपूर्वक त्यो घटना नसुल्झाएको भए मलाई समस्या पनि हुन सक्थ्यो ।

मैले करिब २ वर्ष नेपाली एक्सप्रेसमा बिताए । यसै क्रममा प्रेस इनिस्टिच्युटको पत्रकारिता तालिमको २०६१ सालको ब्याचमा म पुरुष तर्फ ‘ग्रुप टपर’ पनि भएको थिए । जसको श्रेय निश्चित रुपमानै नेपाली एक्सप्रेसलाई जान्छ । 

नेपाली एक्सप्रेस एउटा सिमित श्रोत साधनमा चलेको र नेपालगन्जको पत्रकारितामा एउटा इतिहास बोकेको पत्रिका पनि हो । त्यति हुँदाहुँदै पनि यसको आफ्नो स्टान्टर्ड अझै पनि छ ।

मलाई अझै पनि याद छ कम्प्युटर अपरेटरको काम गर्ने रमण दाई । जो कम बोल्ने तर कम्प्युटरको ज्ञाता थिए । जससँग रात भरि कुरेर मैले कम्प्युटर सिकेको हुँ । नेपाली एक्सप्रेस मेरो पत्रकारिता र कम्प्युटर शिक्षाको जग हो । जहाँ मैले आफुलाई निखार्ने मौका पाए । मैले नेपाली एक्सप्रेसलाई विश्वास गर्थै र मलाई पनि विश्वास गर्नुहुन्थ्यो । यहाँसम्मकी केही पटक म एक्लैले पनि पत्रिका निकालेको छु । तर प्लेट निकाल्नुभन्दा पहिले भने मैले शिव सरलाई फोन गरेर सोध्ने गर्थै । सर के के गर्ने भनेर ।

 पत्रकारिता आफैमा एउटा संवेदनशिल पेशा हो । अझैपनि नेपालगन्जको पत्रकारिता व्यवसायिक भने हुन सकेको छैन । मलाई अहिले यो भन्न लाज लाग्दैन बरु गर्व लाग्छ कि नेपाली एक्सप्रेसमा काम गर्दा मैले एक रुपैया पनि पाइन बरु अमुल्य शिप चाहि पाए । जसको कारण म आज आफुलाई म पनि एउटा पत्रकार हुँ भनेर निर्धक्क सँग भन्न सक्ने हैसियतमा छु ।

हरेक राम्रा कुरा सँगै केही सुधारका कुराहरु पनि जोडिएका हुन्छन् ।

 जनआन्दोलनको सफलता पछि आन्तरिक तथा प्राविधिक कारणले नेपाली एक्सप्रेस केही पछाडी परेको भान भएको छ । पक्कै पनि यसमा आन्तरिक समस्याहरु होलान् । पत्रिकाको लेआउट र समाचारको गुणस्तरमा केही कमी आएको होला तर यसको माने नेपाली एक्सप्रेस पत्रकारिता जगतमा हार्यो भन्न चाँहि मिल्दैन । केही सुधार गरेर अगाडि जान सक्यो भने नेपाली एक्सप्रेस फेरी नेपालगन्जको पत्रिकाहरुको भिडमा नं. १ बन्छ भन्नेमा कुनै दुविधा छैन ।
मेरो पत्रकारिता शिपको जग हालेको थलो भएकोले मैले नेपालमा रहेर वा बाहिर हुँदा यो पत्रिकाको बारेमा चासो राख्ने गरेको छु । मैले आफुले पत्रकारिता सिक्दा यस पत्रिकाबाट पाएको हौसला, साथ र सहयोग विर्सन सक्दिन ।

सूचना प्रविधि र सामाजिक सञ्जालको उपज भन्नुपर्छ नेपालबाट कोशौ टाढा भएर पनि शिव सरले फेसबुकमा पत्रिका १२ वर्ष पुरा गर्दैछ तिम्रो केही अनुभव लेख न भनेर पठाउनु भएको सन्देशले मलाई यो लेख लेख्ने उत्प्रेरणा मिल्यो । यसको लागि शिव सरलाई धन्यवाद । आफुले पत्रकारिता सुरु गरेको पत्रिकाले १२ वर्ष  पुरा गर्न लागेको थाहा पाउदा मलाई अति खुसी लागेको छ । यसको अवसरमा नेपाली एक्सप्रेस र यसका सम्पूर्ण टिमलाई हार्दिक शुभकामना ।

हाल युगाण्डा

Related

1 thought on “[Child Journalist] मेरो पत्रकारिताको न्वारन”

  1. Pingback: लेख्दा लेख्दै लेख्न लागे - bishalpana

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [Kili Marathon 2023] १९ किलोमिटर पुगेपछि
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
  • [ Cultural Shock!] म पापी !
  • [Gurudwara Langar] बैशाखीमा ‘सच्चा सौदा’
  • Tea Culture in Nepal: WHY we say “चिया एक बहाना”?

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb