Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu

[Muzungu- a Foreigner] मुजुङ्गु !

Posted on July 28, 2013June 23, 2024 by bishalpana

क्याप्चोरवा आएको पहिलो साता एक साँझ पानी किनेर फर्कदै थिए कसैले केही भनिरहेझै लाग्यो । म हिँडिरहेको बाटोको देब्रेतिर रहेको चर्पीबाट “मुजुङ्गु । मुजुङ्गु ।” भनेको आवाज आयो । मैले सोचे ला त्यो नानीले आँची गरेर सकिन क्या । आफ्नो आमालाई बोलाउँदै छिन् । तर मैले करिब ४, ५ वर्षकी ति नानीतिर फर्केर हेर्दा त उनले म तिरै हात हल्लाएर पो “मुजुङ्गु । मुजुङ्गु” भनिरहेकी थिइन् । म अचम्ममा परे । हैन यार यी नानीले भन्न खोजेकी के हुन् । भाषागत हिसाबले क्याप्चोरवा क्षेत्रको भाषा अलग छ । यहाँ मैले अंग्रेजी बाहेक अरु बोलेको बुझ्दिन । अब यो मुजुङ्गु भन्या के हो भन्ने सोचमा परे म । हात हल्लाए पछि आफुले पनि केही प्रतिक्रिया त दिनुपर्यो । मैले पनि हात हल्लाएर र वासस्थान तिर लम्किए । तर यो मुजुङ्गु भनेको के हो भन्ने प्रश्नले चाहि मलाई सोचमा पार्यो । के थाहा मलाई राम्रै केही भनिरहेकी थिइन कि, होइन गाली पो गरेकी थिइन् कि । एक छिन् मनमा मुजुङ्गुले उथलपुथल भई रह्यो ।

अब कसलाई सोध्ने होला भन्ने पिरलो परिरहेको थियो । क्याप्चोरवामा भारतका ७ वटा परिवारको पसल छ । यहि मध्ये हैदरबादका दुई जनासँग आजकल मेरो राम्रो घुलमिल भाको छ । ती हुन यहाँ मदिरा (रक्सी)को डिलर र सुपर मार्केट (किराना पसल) मालिक पटाभी भाई र उनको पसलमा काम गर्ने गजा भाई ।  उनिहरुको भाषा बोल्न सक्ने र छिमेकी राष्ट्र भएको हुनाले पनि हामी नजिक भएका छौं । जसले गर्दा मलाई त अझ सजिलो भएको छ । मुजुङ्गुबारे ती नानीले मलाई भनेको सुनेपछि मैले अरु कसैले भन्छन् कि नाइ भनेर पनि याद गरे । तर म बाटोमा हिँड्दा स्कुले केटाकेटीले पनि “हे मुजुङ्गु” भनेको सुने पछि अब यस बारेमा पत्ता लगाउनै पर्छ भन्ने लाग्यो ।
कसलाई सोध्ने त भनेर पिरलीरहेको बेला गजा भाईलाई मैले उत्तम व्यक्ति ठाने किनकी उनि करिब १० वर्षदेखि यहाँ काम गरिरहेका छन् । “गजा भाई यो मुजुङ्गु भनेको के हो । मलाई त बाटोमा हिँड्दा यहाँका स्कुलेले पनि मुजुङ्गु, मुजुङ्गु भन्छन यार ।” गजा भाई एकछिन् हाँसे अनि भने, “अरे बिशाल भाइ यहाँका कालेहरुले गोरो मान्छेलाई देख्यो भने मुजुङ्गु भन्छन् के ।” बल्ल मेरो प्रश्नको जवाफ आयो । अनि मैले सोचे साँच्ची म गोरो त होइन तर यहाँका मान्छेहरुको दाँजोमा गोरो मान्छे देख्यो भने मुजुङ्गु भन्दा रहेछन् । त्यसैले त म बेलुका अफिस सकेर खानेकुरा र पानी किन्न बजार झर्दा पनि मान्छेले फर्कि फर्कि हेर्ने रहेछन् ।
युगाण्डामा केही चिजहरु बिल्कुल नौला छन् मेरा लागी । यहाँका प्रायः मान्छेहरुको टाउकोमा कपाल हुँदैन, भएकाका पनि साहै्र जर्राे र धान काटिसकेपछिको खेत जस्तो देखिन्छ । यहाँ आएपछि क्याप्चोरवासँग जोडिएका रमणीय स्थल घुम्न जाँदा इन्टर्नशीप गर्न आएका केही कलेजका विद्यार्थीहरुपनि थिए । म ड्राइभरसँग नजिकको अघिल्लो सिटमा थिए भने उनिहरु पछिल्लो सिटमा बसेका थिए । बाटोमा जाँदै गर्दा ती मध्ये एउटीले (नाम याद भएन) मेरो कपाल पो मुसारीराछिन् । म नेपाल हुँदा देखिनै कपाल पाल्ने बानी भएको यहाँ पनि लामो नै छ । मलाई अचम्म लाग्यो होइन यिनले के गर्न आँटिन् । मेरो कपाल मुसार्दै उनले “ए बिशाल यो तिम्रो साँच्चीकैको कपाल हो ।” अब भयो फसाद । यल्ले के सोधी । मलाई बडो अचम्म लाग्यो । कपाल त उस्को पनि थियो तर अलि अचम्म तरिकाले बाटिएको ।
मैले भने, “हो यो मेरो ओर्जिनल हो । पहिले त अझ लामो थियो ।” उ अचम्म पर्दे मेरो कपाल ओर्काइ फर्काइ हेर्न र मुसार्न लागि र भनि, “साह्रै राम्रो छ । अलिकति कपाल मलाई बेच्छौं ?” अब अर्को अचम्म । मैले कपाल बेच्ने भन्ने त थाहा पाएको थिइन् । मैले सोचे मजाक गरेकी होली । मैले पनि मजाकै सोचेर भने, “मेरो यो कपाल साह्रै महंगो छ तिमिले किन्न सक्दिनौ ।” उ त साँच्चीकै बार्गेनिंगमै पो उत्रि । “होइन भनन कति लिन्छौ पैसा लिन्छौ म दिन तयार छु ।” लौ पर्यो फसाद । मैले म मेरो कपाल बेच्न सक्दिन भने पछि भने उ केही मत्थर भइ तर पनि केही बेर मेरो कपाललाई ओर्काइ फकाई गरेर हेरी चाँही रही ।
हैन यहाँ कपाल पनि बिक्रि हुँदो रैछ भन्ने बिज उसले मेरो दिमागमा रोपिदिएकी थिई । एक दिन अफिस सकेर पानी किन्न गजा भाइकोमा गको त्यही केटीको कपाल जस्तै देखिने चिज प्लाष्टिकको बट्टामा बेच्न राखेको पो देखे गजा भाइको पसलमा । “अरे गजा भाइ यो के हो?” हसमुख गजा भाइ फेरी जोडसँग हाँसे, “अरे बिशाल भाइ यहाँ धेरै जसोको कपाल यहि हो ।” ला ! बल्ल अर्को कुरा पत्ता लाग्यो ती नानीले मेरो कपाल किन मागेकी रहिछन् ।
यहाँ आएपछि कार्यक्षेत्र तिर भेटघाट र घुमघाम पनि तिब्र भाको छ । म मंगोलिन फेसको भएर हो या के हो प्रायः मान्छेले मलाई चिनियाँ वा जापानी भन्छन् । त्यसकारण मलाई म नेपाली हो भनेर उनिहरुलाई बुझाउन केही समय लाग्ने गरेको छ । एक दिन खाना खाइरहेको बेला बेला एक जना सभ्य नागरिकले सोधे । “आर यु फ्रम चाइना ?” मैले भने “होइन म नेपाल बाट हो ।” “नेपाल ! यो कहाँ छ ।” उनको यो प्रतिक्रियाले मलाई कता कता चिसो बनायो । बास्तवमा हाम्रो देशमा विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान बुद्धले जन्म लिएको ठाउँ भए पनि अझै धेरैले नेपाल भन्ने नामसमेत सुनेका रहेन्छन् । त्यसपछि मैले ती व्यक्तिलाई “के तिमिलाई माउण्ड एभरेष्ट (सगरमाथा) थाहा छ ?” युगाण्डामा पनि माउण्ड एलगन भन्ने पहाड भएकाले उनलाई चिन्न सजिलो होला भनेर मैले सोधे । उनले “अ, यो भारतमा छ हैन ।” मलाई अरु पीडा भयो । हामीले चिनाउन नसकेको हो या सगरमाथा भारतमा छ भनेर चिनाइएको हो मैले बुझ्न सकिन । पछि उनलाई मैले भारत र चाइनाको बिचमा नेपाल पर्छ भने पछि बल्ल उनले बुझेझै गरे ।
अहिल बुझ्दै जाँदा के थाहा भयो भने युगाण्डामा चाइनिजहरुको ठुलो व्यवसाय छ । धेरै उद्योग धन्दाहरु चाइनिज र भारतीयको छ । म बस्ने ठाउँबाट करिब ४५ किलोमिटर पर म्बाले भन्ने ठाउँमा रहेका भारतीयहरुले हिन्दु मन्दिर पनि बनाएका छन् । बाटोमा आउँदा हिन्दु मन्दिर लेखिएको देखेपछि मैले मेरो ड्राइभरलाई सोधेको थिए क्रिस्चियन र मुस्लिम धर्मावलम्बीहरु भएको देशमा हिन्छु मन्दिर कसरी बन्यो । पछि उसले मलाई यहाँ बसेका भारतीय हिन्दुहरुले मन्दिरको निर्माण गरेका हुन् भनेर जानकारी दियो । भारतीय ब्यापारीहरुको प्रभाव भन्नु पर्छ यहाँको सरकारी दैनिक अखबार भिजन ले साताको एक दिन इण्डो भिजन भन्ने संस्करणनै निकाल्छ भने केही स्थानीय टेलिभिजन च्यानलहरुले हिन्दि सिरियलसमेत प्रसारण गर्छन ।
यस्तै जापानीहरु पनि यहाँ आउने गर्छन कोही काम गर्न कोही व्यापार गर्न । केही अघि खाना खाने ठाउँमा तीन जना जापानीसँग भेट भएको थियो । उनिहरु भन्दै थिए हामी २ वर्ष यहाँ बस्ने हो । यहाँका विभिन्न ठाउँमा एशिया महादेशका  चाइना, भारत, जापानीहरुको आउजाउ बाक्लै हुने भएकाले पनि उनिहरुले मलाई चाइनिज वा जापानी भनेको हुनुपर्छ । किनकी युगाण्डाको क्याप्चोरवामा आउने म नै सायद पहिलो नेपाली होला भनेर गजा भाइ पनि भन्दै थिए ।
क्याप्चोरवा क्षेत्रका गाउँ घुम्दा मैले के पाए भने यहाँका बालबालिकाहरुले अपरिचितलाई स्वागत गर्ने तरिका बडो रमाइलो छ । बाटोमा भेटिएका केटाकेटीहरुपनि “हाउ आर यु” भन्न छुटाउँदैनन् । जवाफसहित हात मिलाउन बढायो भने प्रेम पुर्वक उनिहरु देब्रे घुँडा भूईमा टेकाएर हात लम्काउँछन् । मैले यो बारे मेरो संस्थामै इन्टर्न गरिरहेकी प्रेशिलियालाई सोधे । उनीले यो यहाँका बच्चाहरुले आफुभन्दा ठुलालाई देखाउने आदार हो भनिन् । हुन् पनि देश अनुसारको आदार, माया र सम्मान गर्ने तरिका फरक हुन्छ । नेपालमा हामी कसैसँग हात मिलाउँछौं, कसैलाई हातमा कसैलाई खुट्टामा ढोग्छौ त कसैलाई टाँढैबाट नमस्कार फर्काउँछौं । यहाँका बालबालिकाले गर्ने आदारले पनि मलाई साह्रै मन छोयो ।
यहाँ आएपछि म प्रायः अफिस सकेर गजा भाइको पसलमा पुग्छु । मैले धेरै दिनदेखि ख्याल गरिरहेको थिए । करिब १५ वर्षदेखि माथिका आउँदै स्थानीय ६ सय सिलिंग (नेपाली करिब २२ रुपैया) दिन्थे अनि गजा भाइ काउण्टर तलबाट सानो पाउँच झिक्दै कालो पोलेथिनले छोपेर दिन्थे । एक दिन मैले यसबारे सोधे गजा भाई फेरी फिस्स हाँस्दै भने, “अरे बिशाल यो यहाँको लोकल पानी हो रम रम पार्ने ।” बल्ल मैले बुझे । केही वर्ष अघिसम्म नेपालमा पनि पोका रक्सी भनेर बेचिने प्रचलन अहिलेसम्म यहाँ चाँही जारी रहेछ । यहाँका अधिकांश मान्छेले यो पिउँछन् । युवाहरुले त अझ बढि पिउँछन् । तर रक्सी पिएर बाटोमा हल्ला गर्दै हिँडेको, बाटोमा लडेको भने मैले यहाँ देखेको छैन । रक्सीका डिलर राखेका पटाभी भाइले हप्तामा कार्टुनका कार्टुन यस्ता पोका रक्सी खपत हुने गरेको बताउँछन् ।
क्याप्चोरवासँग म परिचित हुँदै छु । यहाँका मान्छेहरु मिलनसार छन् । अझै पनि करिब साढे ८ महिना मलाई यही ठाउँमा बिताउनुछ । यहाँको करिब २ साताको बसाइलेनै मलाई यहाँको तौरतरिका र सामाजिक जीवनबारे केही जान्ने अवसर प्रदान गरेको छ । नेपालमा कालै मानिने म यहाँ आएर “मुजुङ्गु” भनिन पाएको छु । नेपालमा कति लामो कपाल पालेको केटी जस्तो भनेर भन्नेको अगाडी तिम्रो कपाल मलाई बेच्छौं भन्ने मान्छे पाएको छु । साँच्चै यो घर्तीको मोति मानिने अफ्रिकाको युगाण्डामा आएर मैले जीवनको नौलो अनुभवहरु बटुल्ने मौका पाइरहेको छु । अझैपनि धेरै कुराहरुको अनुभव गरिनेछ जो दैनिक नेपालगन्जको माध्यमबाट तपाईहरुसम्म पुग्नेनै छ ।
लेखक यस दैनिकका पूर्व उपसम्पादक हुन् । हाल उनि अफ्रिकी राष्ट्र युगाण्डामा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत छन् । 
यो लेख साभार गर्न सक्नुहुनेछ तर साभार गर्दा यो लेख दैनिक नेपालगन्जमा छापिएको हो भनेर उद्दृत गर्न नछुटाइदिनुहोला । 

Related

1 thought on “[Muzungu- a Foreigner] मुजुङ्गु !”

  1. Pingback: लेख्दा लेख्दै लेख्न लागे - bishalpana

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [FREETOWN Christiania] क्रिस्चियानिया: एक स्वतन्त्र शहर
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • [A non-forgettable rail journey] छोटी लाइनको बडि सम्झना
  • [Violence aginst Women] महिला हिंसाका उस्तै रुप
  • [Nepali Community in Uganda] युगाण्डामा तीज मिलन

हालसालैका सामाग्रीहरु

  • तुम्हारी औकात क्या है Piyush Mishra-4 key learnings [book reflection]
  • Mt. Meru को काखमा हाइक [photo story]
  • [Nepali Politics] के राष्ट्रिय स्वतन्त्र पार्टीले (RSP) अबको चुनावमा ‘घण्टी’ बजाउन सक्ला ?
  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
©2026 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb