तान्जानिया आएदेखि एउटा अवसरको खोजिमा थिए । क्यामेरा लिएर फोटो खिच्न जाने ।
जुन करिब चार वर्षपछि मिल्यो ।
हालै एक समुहसँग हाइकमा जाँदा मज्जाले फोटो खिच्न पाए । हाइकका क्रममा हिँडेको मकैबारी, माउण्ट मेरु हिमालको परिदृश्य, गाउँघरको फोटो खिच्दा बडो मज्जा आयो ।

साढे ३ घण्टामा साढे १० किलोमिटर हिँड्दा दुई सय बढि फोटो खिचे होला । आफुले खिचेका फोटो आफैलाई नराम्रो नलाग्ने कुरै भएन । धेरै पछि क्यामेर समाउन पाउँदा झनै मज्जा लाग्यो ।
हिँडेर शरिर थाके पनि मन भने बडो आनन्दित भयो । यो हाइकको बारेमा मैले मेरो युट्युब च्यानल बिशाल पाना च्यानलमा पनि भिडियो राखेको छु । तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
केही उकालो केही ओरालि बाटो हिँड्दा खुट्टा दुखे पनि हातमा भएको क्यामेराले छुट्टै उर्जा दिइरहेको थियो ।
करिब दुई घण्टाको हिँडाईपछि हामी गाउँ प्रवेश गर्यौं । गाउँको बिच चोकमा सबैजना रोकिएर खाजा खायौं । केहीबेर सुस्तायौं अनि पुनः गन्तब्यतिर लम्कियौं ।

घरबाट टाढा हुँदा, नयाँ ठाउँमा बस्दा, सामाजिक रूपमा घुलमिल हुने मौका बिरलै मिल्छ । म आफूलाई “सोसल बी” मान्छु, तर केही समयदेखि त्यो पक्ष अलि हराउँदै गएको जस्तो लाग्थ्यो । त्यसैले मैले यो वर्ष एउटा संकल्प गरेको छु, सामाजिक गतिविधिमा फेरि जोडिन्छु, क्यामेरासँगको दोस्ती फेरी ताजा बनाउँछु ।
त्यसैक्रममा म यो हाइकमा जोडिन पुगेको हुँ । हाइकमा विश्वका विभिन्न कुनाबाट आएका, फरक पृष्ठभूमि, फरक पेशा, फरक कथा बोकेका झण्डै २० जना सहभागी थियौँ । प्रायः सबैसँग गज्जबको भलाकुसारी भयो ।

एकजना सहयात्रीसँगको कुराकानी अझै स्मरणीय रह्यो । रोचक कुरा—९० को दशकमा नेपाल आएर अन्नपूर्ण ट्रेल हाइक गरेका रहेछन । परदेशमा आफ्नो देश घुमेको मान्छे भेट्न पाउँदा खुसी नलाग्ने कुरै भएन ।
यो हाइक मेरो लागि आत्मचिन्तनको अवसर पनि बन्यो । हाइक सकिँदा म शारीरिक रूपमा थाकेको थिएँ, तर मानसिक रूपमा असाध्यै हलुका ।
यहि हाइकका क्रममा खिचेका फेटोहरुको संंग्रह यस ब्लगमा राखेको छु ।
नेपालमा हुन लागेको चुनावको सन्दर्भमा मैले लेखेको अघिल्लो ब्लग यहाँ पढ्न सक्नुहुनेछ ।

















