Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
Cycle

[Cycle – a thought-changing experience ] भाडामा साइकल कुदाउँदा

Posted on July 1, 2024September 4, 2024 by bishalpana

डेनमार्क पुगेको दोस्रो दिन, राजधानी कोपनहेगनका केही महत्वपूर्ण ठाउँहरु घुम्ने मौका मिल्यो । करिब १० किलोमिटर जस्तो पैदल सयर गरेपछि ज्यान थकित त हुनेनै भयो । अब होटल फर्कौ भनेर गुगल म्याप हेरेको, होटल पुग्न झण्डै ४ किलोमिटर अरु हिँड्नुपर्ने रहेछ । जोर्डनका सहकर्मी साथिले बरु सबैको लागि म बाइक भाडामा लिन्छु, हिँड्न चाहि सक्दिन भन्ने लागे ।

साइकल भाडामा !

नेपालमा पठाओ बाइक चढेर त हिँडेको हो तर साइकल भाडामा ? एकछिन अचम्म परे ।

‘हो नि साइकल भाडामा लिन सकिन्छ । म सँग त्यसको एप्स छ, पख है’, यति भनेर साथीले साइकल भाडामा लिने डंकि रिपब्लिक भन्ने खोल्यो र चार जनाको लागि साइकल खोज्यो । एपले करिब १५० मिटर पर साइकल रहेको जनाउ दियो । हामी एपमा देखाएको लोकेशन तर्फ अघि बढ्यौं । जब हामी साइकल भएको ठाउँमा पुग्यौ, त्यहाँ दर्जनबढि साइकलहरु थिए । साथीले एक एक साइकल चेक गर्दै एप्सको माध्यमबाट चारवटा साइकल अनलक गरे । एपमा बटन दाबेपछि साइकलमा लगाइएको ताला खुल्यो ।

न मान्छे छ, न कोही हेरालु । एपबाटै सबै साइकल फटाफट अनलक भए । हामी चारै जना साइकल चढ्न तयार । साइकल त तयार भयो तर डेनमार्कको सडक नेपाल जस्तो बायाँ नभई दायाँ तर्फ सवारी चल्ने । केहीबेर साइकल सावधानीपूर्वक कसरी चलाउने भनेर सोचे ।

केहिबेरमा म, जोर्डन, केन्या र बंगलादेशका साथि साइकल लिएर हुइँकियौं ।

क्रिस्चियानियमा पार्क गरी राखिएका साइकलहरू

साइकल चलाउन सोचेभन्द सजिलो । साइकलको लागि आफ्नै लेन छ । बिचमा गाडि हिँड्ने, त्यसको दायाँ तर्फ साइकल, अनि अझ दायाँ तर्फ पदयात्रीका लागि लेन । ट्राफिक लाइटको राम्रो व्यवस्था छ । सबैजना ट्राफिक लाइट अनुसार राेकिन्छन अन हिँड्छन । त्यती भएपछि त साइकल चलाउन सहज हुनेनै भयो ।

हामीले करिब बिस मिनेटमा होटलसम्मको दुरी तय गर्यौं । एपमा नै साइकल कहाँ पार्क गर्ने लाेकेशन आयो । त्यही गएर साइकल पार्क गर्र्यौ । एपबाट पैसा काटियो, अनि साइकल अटो लक भयो ।

क्या गज्जब । न कसैलाई साइकल बुझाउनु पर्ने, न कसैले चोरिदेला वा साइकल हराउँला भन्नेनै तनाव ।

पहिलो पटक युरोपको भूमि टेक्दाको रोचक अनुभव मध्येको एक हो डेनमार्कको ‘साइकल सँस्कृति’ । काममा जान होस या कार्यालय डेनिसहरु या त सार्वजनिक यातायात बस वा ट्रेन चढ्छन या त साइकल । कार र मोटरसाइकल भन्दा डेनिस नागरिकका लागि साइकल अपरिहार्य अंग रहेछ ।

डाटामा डेनमार्ककाे साइकल [Sign of Equality and Freedom]

Photo: Danish Cyclists’ Federation’s archive https://cyclingsolutions.info/embassy/danish-cycling-history/

डेनमार्कमा समाजका सबै तहका मानिसहरू साइकल चलाउँछन् । उनिहरु साइकललाई ‘स्वतन्त्रता र स्वास्थ्य’ जस्ता सकारात्मक मूल्यसँग जोडेर हेर्छन । तथ्यांकका अनुसार डेनमार्कमा १० किलोमिटर भन्दा कम दुरीका २१ प्रतिशत यात्रा साइकलबाट तय गरिन्छन । साइकल चढ्न उपयुक्त मौसम, सडक छ अनि अनुशासन छ ।

कोपनहेगनमा मोटरगाडि भन्दा पाँच गुणा बढि साइकल छन् । सन् १९२० देखि ३० को दशकमा, डेनमार्कमा साइकल ‘समानता र स्वतन्त्रता’को प्रतीक बन्यो । डेनमार्कका १० मध्ये ९ जनासँग साइकल छ । डेनमार्कमा कुल १२,००० किलोमिटरभन्दा बढी साइकल मार्गहरू छन्, जसमध्ये केवल कोपेनहेगनमा  ४०० किलोमिटर भन्दा लामो साइकल लेनहरू छन् । साइकल लेनहरू गाडी लेन र पैदल यात्री लेनबाट स्पष्ट रूपमा अलग गरिएका छन । यसले साइकल चालकहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको छ । 

सवारी साइकल

साइकलको कुरा गरिरहँदा सबैभन्दा उत्कृष्ट लागेको चाहि माथी भिडियोमा भएको साइकल हो । जसलाई ‘क्रिस्चियानिया बाइक’ भनिदो रहेछ । कोपनहेगनको स्वतन्त्र शहरको रुपमा चिनिने क्रिस्चियानियामा आविष्कार भएकाले यसको नाम ‘क्रिस्चियानिया बाइक’ भएको रहेछ । 

यो तिनपांग्रे साइकल बालबालिका भएका परिवारहरूका लागि एउटा उत्तम साधन बनेको छ । कोपनहेगनमा दुई वा बढी बालबालिका भएका करिब एक चौथाई परिवारहरूसँग ‘क्रिस्चियानिया बाइक’ भएको अनुमान गरिन्छ । बच्चाहरूलाई घुमाउन होस या किराना सामान, र अन्य आवश्यकताहरू ढुवानी गर्न यी कार्गो बाइकहरू अति उपयोगी छ । डेनमार्कका कार्गो बाइकहरूले डिजाइन पुरस्कार जितेका छन् र डेनमार्क क्रिस्चियानिया बाइकको एक सफल निर्यातकर्ता पनि बनेको छ ।

यी साइकलमा सामान होस वा परिवारका सदस्य, यहि साइकलमा राखेर मज्जाले हाँक्न मिल्छ । यसलाई पाइडल चलाएर वा ब्याटरीबाट पनि कुदाउन मिल्छ । क्रिस्चियानिया बाइककाे बारेमा मैले फेसबुकमा पोष्ट गरेपछि केही साथीहरुलाई  नेपालमै यस्तो बाइक बनाउन चासो दिनुभएको छ । हेरौं कालान्तरमा नेपालकै सडकमा पनि यस्तो साइकल कुदाउन पाइएला ।

नेपालमा साइकल
साइकल नेपालीहरुको लागि पनि अभिन्न अंग हो । अझ ग्रामिण भेगको त यातायातको मुख्य साधन । यद्यपी मोटर साइकल र मोटरकारकाे माग अनि खपत बढ्न थालेको नेपालमा साइकललाई ‘गरिब मान्छेको सवारी’को रुपमा लिइन थालिएको छ । 

शहरी क्षेत्रमा साइकल चलाउन सुरक्षित सडक र ट्राफिक व्यवस्थापनको कमि छ । उपत्यकाका केही भागमा साइकल लेन छन तर हाम्रो सडक अनि ट्राफिक व्यवस्थापन राम्रो छैन । जसले गर्दा ढुक्क भएर साइकल चलाउने वातावरण छैन । अर्को कुरा, हाम्रो देशको मौसम अनि भुगोलले पनि सबै ठाउँमा साइकल चलाउन सम्भव छैन । 

तथापी स्वस्थ जिवनयापन अनि वातावरणिय प्रदुषण कम गर्नका लागि साइकल संस्कृतिलाई बढावा दिनु जरुरी छ ।

यसबाहेक नेपालमा साइकल संस्कृतिको विकास गर्नु किन जरुरी छ? कमेन्टमा आफ्नो विचार राख्न अनुरोध गर्दछु ।

यो लेख लेख्नका लागि यी साइटबाट सन्दर्भ सामाग्रीहरु लिइएका छन् ।

https://cyclingsolutions.info/embassy_category/cycling-facts-figures/

https://denmark.dk/people-and-culture/biking

https://www.opastpublishers.com/open-access-articles/attitude-towards-bicycle-infrastructure-in-nepal-with-reference-to-hetauda-city.pdf

https://kvuhp.nepalpicturelibrary.org/resource/the-rise-and-fall-of-the-kathmandu-valleys-cycling-culture/

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb