सर्वप्रथम नेपाली काँग्रेसका सभापती शुशिल कोइराला ‘शुशिल दा’लाई बाँके क्षेत्र नं. ३ बाट विजयी हुनुभएकोमा बधाई । नेपाली राजनीतिमा अभिभावकिय इतिहास बोकेको दल नेपाली काँग्रेसको ‘सुप्रिमो’ भएको नाताले पनि तपाईको विजय पक्कै पनि सबै लोकतन्त्रवादीहरुको लागि खुसीको कुरा हो । अझ नेपाली काँग्रेसलाई आफ्नो आदर्श मान्नेहरुको लागि त यो एउटा गर्भ गर्ने कुरानै हो । २०६४ मा भएको पहिलो संविधानसभाको चुनावमा तपाईको हारले पक्कै पनि नेपाली राजनीतिमा एउटा खालको तरंग ल्याएकै हो । तर यसपटक जीतले भने तरंग मात्र होइन आशा र अपेक्षा पनि संगै ल्याएको छ ।
नेपाली काँग्रेसको नेताको रुपमा तपाईले निभाएको भूमिका पार्टी कार्यकर्ताको मात्र नभएर एउटा लोकतन्त्रबादी नेताको रुपमा रहँदै आएको छ भन्ने मुल्यांकन पछिल्लो चुनावी परिणामले पनि देखाएको छ । अझ अगाडी कसरी लोकतन्त्रलाई संस्थागत गर्दै देशलाई नयाँ र जनताको संविधान दिने भन्ने कुरा एउटा जिम्मेवार दलको हैसियतले तपाईलाई अझ बढि छ ।
बाँकेवासीको हैसियतले बाँकेबाट तपाईले चुनाव जितेकोमा खुसी छु । तपाईले ल्याएको मत एउटा काँग्रेसी कार्यकर्ताको मात्र होइन् । आम नेपाली जल्ले कुनै पार्टी चिनेका छैनन् तिनको पनि हो । अघिल्लो चुनावमा हार भएपछिको अवस्थामा तपाईले बाँकेबाट गरेको अपेक्षा कम थिएन भन्ने प्रमाण अहिलेको जित हो ।
शुशिल कोइरालालाई बाँकेवासीले मात्र होइन हरेक नेपाली जनताले एउटा त्यागी र सार्वजनिक पद धारण नगरेको व्यक्ति भनेर चर्चा परिचर्चा गर्ने गर्छन् । पक्कै पनि पछिल्लो मत परिणामले त्यागी र सार्वजनिक पद धारण नगरेको नेतालाई केही चुनौति थपिएको छ भन्ने मलाई लागेको छ । एउटा बाँकेवासीको हैसियतले यो खुलापत्रमा शुशिल दा’ लाई म केही विचारहरु राख्न चाहन्छु ।
१. मैले तपाईलाई नजिकबाट देखेको र पत्रकारका हैसियतले केही पत्रकार सम्मलेनमा भेटेको पनि छु । जहाँ हरेक पटक हरेक पत्रकारको प्रश्नमा तपाईको पेचिलो सवाल जवाफ पक्कै पनि अडान केन्द्रित हुने गरेको थियो । अब एउटा प्रमुख जिम्मेवारी सम्वभतः ‘भावी प्रधानमन्त्री’को रुपमा प्रस्तुत गरिएको हुनाले पनि नयाँ संविधान बनाउनको लागि मुख्य अडान लिने जिम्मेवारी अब तपाईको काँधमा छ । पछिल्लो संविधासभामा काँग्रेसले अडान लिन सकेन वा सफल भएन तर त्यसको परिणाम नयाँ संविधान नदिएरै संविधान सभाको देहावसान भएको थियो । अब काँग्रेस अग्रपंक्तिमा छ त्यो संगसँगै अर्को पार्टी नेकपा एमाले पनि सँगै छ भने केही अडानहरुका साथ तपाईले एमालेसहितका सबै दललाई मिलाएर जनतालाई नयाँ संविधान दिनु पर्छ ।
२. विकास र राजनीति दुई भाई हुन । एक भाई कमजोर भए पक्कै पनि अर्को भाइलाई असर गर्छ । अघिल्लो चुनावमा यीनै दुई भाईको तालमेल नमिलेरनै होला सायद न जनताले विकास पाए न संविधान । तर अबको चुनावपछि बन्ने सरकारबाट जनताले विकास मात्र होइन नयाँ संविधान पनि चाहेका छन् । त्यसो त अहिले पनि संविधान बन्दैन भन्ने जमात ठुलो छ । काँग्रेसका युवा तथा लोकप्रीय नेताका गगन थापाको वृत्तचित्रलाई साभार गर्ने हो भने ‘यो संविधानसभा असफल भयो भने के हुन्छ’ भन्ने कसैलाई पनि थाहा छैन । त्यसो त शुशिल कोइरालाले पहिले पनि जितेर बाँकेको के विकास गर्यो र भन्नेहरु पनि कम छैनन । अबको अवस्थामा शुशिल दा’लाई विकास अनि संविधान दुवै दिन आफु र नेपाली काँग्रेस सक्षम छ भन्ने देखाउने चुनौती छ । बाँके पश्चिम नेपालको प्रमुख शहर भनिदै आएको छ तर एथेष्ठ पूर्वाधार विकास गर्न सकेको भने छैन । अब थोर बहुत बाँकेको विकासका लागि अडान लिने काम शुशिल दा’बाट हुुनुपर्छ ।
३. बाँके क्षेत्र नं. ३ बाटै समानुपातिकमा आधा दर्जन बढिको नाम सिफारिस भएको छ । केहीले आफ्नो नाम समानुपातिकको सूचीमा परेन भनेर विरोध पनि गरेकै हुन् । चुनावी नतिजा पछि भने तीनलाई कसरी मिलाउने भन्ने सबैभन्दा ठुलो घाँडो शुशिल दा’को टाउकोमा आएको छ । पार्टीमा लाग्नु, राजनीति गर्नु पदकै लागि नभए पनि राजनीतिमा लाग्ने सबैको एउटा इच्छा भनेको पद हो । जसको लागि बाँकेमा धेरै जनाको नाम सिफारिस भएको छ । अब तिनलाई कसरी मिलाएर मनोनयन गर्ने भन्ने सहि उपाय शुशिल दा’ले एक्लै होइन समग्र पार्टी पंक्तिबाट गर्नु पर्छ । होइन भने असन्तुष्ठहरुलाई मनाउँदा मनाउँदै यो कार्यकाल पनि खेर जान बेर लाउदैन ।
४. बाँकेवासी अझ विशेषतस् नेपालगन्जवासीको लागि डा. धवलशमशेर राणा आफैमा एउटा उदाहरण बोकेको नाम हो । जसले मत गणनाको प्रारम्भिक चरण्मा तपाईलाई चुनौती दिएकै हुन् । नेपालगन्ज नगरपालिकाको मेयर हुँदा नेपालगन्जमा गरेको विकास र स्वच्छ छविका कारण पनि डा. राणाले आशा गरेभन्दा बढि मत ल्याउनु भएकै हो । परिणाम जित नभए पनि जनताले डा. राणालाई मान्दो रहेछन् भन्ने उहाँले प्राप्त गरेको मतले नै प्रमाणित गरेको छ । भलै राजतन्त्रलाई समर्थन गर्ने पार्टीबाट उम्मेदवार बन्नुभएको भएपनि यदि नेपालगन्ज विकासको नक्सा कोर्नु छ भने डा. राणा शुशिल दा’को एउटा बलियो सारथी बन्न सक्नु हुन्छ । बाँकेबासीले साँच्चीकै विकास चाहेका छन् । अब पनि तपाईले विकासको एउटा ठोस नमुना बाँकेमा दिन सक्नुभएन भने अर्को चुनावमा २०६४ कै नजिता बेहोर्नु नपर्ला भन्न सकिन्न ।
५. चुनावको नतिजा पूर्ण रुपमा नआइसक्दै शुशिल दा’को लागि एउटा चुनौती देखिइ सकेको छ । त्यो हो अहिल्लो संविधानसभाको चुनावमा पहिलो भएको दल एनेकपा माओवादी । चुनावी परिणामकै बिचमा मतगणना वहिष्कार गरि संविधानसभा वहिष्कार गर्छाैं भन्ने हुंकार एमाओवादीले गरिसकेको छ । नेपाली जनता सर्वोपरि हुन भनेर रट लाउन नछाड्ने दलले पूर्ण रुपमै चुनावी नतिजा नआउँदै संविधासभा वहिष्कारको घोषणा गर्नु आफैमा हास्यास्पद र हार स्वीकार्न नसक्ने कमजोर मानसिकताको उदाहरण हो । अब्राहम लिंकनले भन्नुभएको छ, ‘निर्वाचन परिणामबाट आत्तिने मान्छेले राजनीति गर्न सक्दैन किनकि राजनीति भनेकै हार र जितको खेल हो ।’ वहिष्कारको घोषणा लगत्तै तपाईले नेपालगन्जस्थीत निवासमा पत्रकार सम्मेलन गरेर जनताको मतलाई स्वीकार गर्न आग्रह गरे पनि सजिलो भने छैन । एमाओवादीलाई पछि अघिल्लो पटक जनताले पूर्ण समर्थन दिएका हुन् । यसपटक हार्दैमा एमाओवादी सकियो वा अब उसको नेपाली राजनीति बाट नामो निसान मेटियो भन्ने मिल्दैन । ‘बाह्र वर्षमा खोलो फर्किन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै छ वर्षमै तपाईले नेतृत्व गरेको पार्टीले खोलो पर्काउन लागेको छ तर यसको मतलब सधै अवस्था यस्तै हुन्छ भन्ने छैन । अर्को चुनावमा फेरी एमाओवादी अगाडि आउन सक्छ यदि जनताले चाह््यो भने । तसर्थ एमाओवादीलाई पाखा लाएर होइन साथ लाएर नयाँ संविधान दिने बाटोमा हातेमालो गराउनु तपाईको अर्को चुनौती हो ।
नयाँ संविधान बन्छ भन्ने आशमा लाखौं नेपाली जनताले तपाई र तपाईको पार्टीलाई भोट दिएर जिताएका छन् । एउटा पार्टी नेताको हैसियतले ति लाखौं नेपाली जनताको अपेक्षा पुरा गर्ने खाका के छ त्यो खाका तपाईले जनता सामु प्रस्तुत गर्न सक्नुपर्छ । सधैं आसेपासेले घेरिएर मेरो पार्टी एकदम बलियो छ भन्ने भ्रममा पर्नु भयो भने पक्कै पनि नेपाली काँग्रेस र तपाईको राजनीतिक करियरमा पनि नकारात्मक प्रभाव नपर्ला भन्न सकिन्न । बाँकेवासी र समग्र नेपाली जनताले शुशिल दा’ सँग गरेको अपेक्षा अनुसार काम हुनेछ भन्ने आशा व्यक्त गर्दछ । अर्को चुनावमा तपाईले बाँकेबाट चुनाव लड्नुभयो भने मैले यो क्षेत्रबाट जितेर संविधान बनाउन सके भन्ने गौरभ गर्न सक्ने वातावरण तयार गर्नु हुनेछ भन्ने विश्वास छ । धन्यावाद ।