म खाल्डो हुँ । नेपालगन्जको खाल्डो । जंगबहादुरले फिर्ता पाएको नयाँमुलुकको खाल्डो । नेपालगन्जको धम्बोझीचोकबाट सय मिटर जति दक्षिणमा रहेको नेपाल बंगलादेश बैंक अगाडिको खाल्डो ।
मेरो जन्म विपरित लिंगिको संसर्गबाट भएको होइन । म त स्वस्थानी कथामा पार्वतीको मयलबाट गणेश भगवान बनाइएको जसरी बनेको हुँ एडिबि, पप्पु कन्सट्रक्सन र नेपालगन्ज उपमहानगरपालिकाको ग्राबेल, गिट्टी र अलकत्राबाट । अनि मेरो बासस्थान भनेको नेपालगन्ज–कोहलपुर फोर लेन सडक हो ।
यतिले मात्र मेरो परिचय नपुग्ला । शहरमा मेरो उपस्थितिलाई लिएर गाली गर्ने धेरै छन् तर मेरो अस्तित्व मेटाउने साहस अझैसम्म कसैले गरेका छैनन । मेरो अवस्थितीलाई उचाईमा होइन, गहिराइ र चौडाईमा नापिन्छ ।
प्रत्येक दिन म नजिक आउने रिक्सा, ब्याट्री रिक्सा, मोटरसाइकलहरु झस्किन्छन् र सकेसम्म मलाई छल्ने प्रयास गर्छन । चार पांगे्र टक, बस, माइक्रो, रुपैडिहाबाट तेल बोकेर आउने ट्यांकर भने मलाई छेलेर सजिलै जान्छन् । दिउँसो त मलाई छल्नेहरु धेरै छन् तर साँझ परेपछि एक न एक जना मसँग ठोक्किन आउँछन् । कोहि अनियन्त्रित हुन्छन् । कोहि मै माथि पछारिन्छन । कोहि अलि पर लड्छन् । अनि साला, असत्ती …… भन्दै गालि गर्दै जान्छन । गालीले मेरो मन दुख्दैन । किनकि मलाई थाहा छ, त्यो गाली मलाई होइन, मलाई बनाउने र नपुर्नेहरुलाई हो ।
यो नसोच्नुहोला कि म एक्लो छु । यो नेपालगन्ज सहरमा मेरा पनि आफ्नो नातेदारहरु धेरै छन् । ती मध्ये केहीको एकसरो परिचय नगराए त अन्याय हुन्छ । करिब २२ किलोमिटर सडकमा मेरा दर्जन बढि दाजु भाईहरु छन् ।
ति मध्ये जेठाको बासस्थान जिल्ला शिक्षा कार्यालय अगाडी छ । जेठा दाईलाई खाल्डोको रुपमा मात्र चिनाउनु अन्याय हुन्छ । उनी साइजमा पनि ठुलो छन् नै । खाल्डो खलकको हुनुका साथै खानेपानी संस्थानको पाइप फुटेर पानी खाल्डोमा परिणत भएका छन् । उनलाई पनि पुर्न न सामुन्नेमा रहेको दैनिक सयौंको आहोरदोहोर हुने जिल्ला शिक्षा कार्यालयलाई चासो छ, न हामीलाई जन्माउनेहरुलाई नै ।
जेठा दाईलाई चिनि हाल्नु भो, म मुनीको भाई भने ठ्याक्कै धम्बोझीमै छ । राही ट्रेडर्स अगाडी । भाईको र मेरो उत्पत्ति लगभग सँगै हो । दिनहुँ त्यो बाटो हिड्नेहरु उनलाई पनि छल्छन् । तर उनकै अगाडी रहेको राही ट्रेडर्स, बागवान साइकल, मोबाइलका पसललाई भने खाल्डो भाईको बाल मतलब छैन ।
मैरै नजिक अर्का भाई छन् । तिनलाई हामी बैंके भाई भन्छौं । किनकि उनि ठ्याक्कै राष्ट बैंक, कृषि विकास बैंक र नेपाल ग्रामिण विकास बैंकको बिचोबिच छन् । राष्ट बैंकमा बिहानै भारु साट्ने देखि बैंकमा पैसा ओसार्ने र थुपार्नेको भिड हुन्छ र बढिजसोको ध्यान यसलाई छेल्नमै लाग्छ । यि भाई अलि भाग्यमानी छन्, राष्टको बैंक अगाडी भएर होला, केही अघि यि भाइलाई टालटुल गर्ने कोशिस भा रैछ । त्यही भएर होला डोजरले एक मिटर जति दुईटा धर्सा पनि बनाएका छन् । अझै पनि बैंके भाईलाई खतरा देख्या छैन मैले ।
अर्का कान्छा भाई श्रेया इन्टेरियर, होटल सम्मान र होटल पाहुना घर अगाडी बस्छन् । सायद बाटो बनाउँदा बनाउँदै माटो देखिएकाले हुनसक्छ अलि अलि अलकत्रा लत्पताइ दिएका छन् यिनको ढाडमा ।
अब खलकैको परिचय चै नदिउ होला ।
सुन्दछु, हामी खाल्डोलाई उत्पत्ति गराउन धेरैको गोजी भरिएको छ रे । हामी उत्पत्ति नभएको प्रमाणित मोहर लगाउन कतिले प्लेन पनि चढे रे ।
हामी उत्पत्ति भएपछि नेपालगन्ज नतातेको होइन । हाम्रो फोटो खिचेर प्रदर्शनी पनि गरियो । हामीलाई उत्पत्ति गराउने विरुद्ध नारावाजी पनि गरेको सुन्दा केही आशा पलाएको थियो । लागेको थियो अब हामीलाई बिदा गरिन्छ । अब हामीलाई पुरिन्छ । तर खै आजकल त्यो आवाज पनि सुनेको छैन । थाहा छैन फेरी त्यो आवाज उठ्छ कि उठ्दैन ।
यो फोरलेन बाटो बनेको वर्षदिन पनि पुगेको छैन । तर हाम्रा खलकका सदस्यहरु थपिनेक्रम जारी छ । राती मात्र हाम्रा सिकार बन्नेहरु केही दिनपछि दिउँसै सिकार हुनेछन् । हामीलाई देखाएर केहीदिनपछि फेरी ठेक्का पट्टा सुरु हुनेछ र केही थान फेरी मोटाउनेछन् ।
यहि हो हाम्रो परिचय । जय खाल्डो ।
(याे लेख नेपालगन्ज न्यूजमा २०७३ साल चैत्र २१ गते प्रकाशित भएकाे हाे)