Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
Tea Culture

Tea Culture in Nepal: WHY we say “चिया एक बहाना”?

Posted on April 2, 2019September 8, 2024 by bishalpana

Tea Culture in Nepalgunj

विद्यालय सन्चालक नौसाद अहमदको हरेक बिहानी त्रिभुवनचोक नजिकको चिया पसलबाट सुरु हुन्छ । दुधको चिया अनि साथीहरुसँगको भलाकुसारी । हरेक दिन बिहानी आधा एक घण्टा नौसाद यसैगरी बिताउँछन् । 

दायाँ हातमा चिया समातेर साथीहरुसँग कुरा गरिरहेका नौसाद भन्छन, ‘चिया त एउटा बहाना मात्र हो । यसले साथीहरुसँग भेटघाट गर्ने, देशको राजनीति अनि आफ्ना कामका बारेमा कुराकानी गर्ने मौका जुराइदिन्छ ।

नौसादसँग चिया पिइरहेका मेडिकल व्यवसायी रन्जित चौरासिया, रेडक्रसमा कार्यरत अजिज अहमद सिद्दिकी नौसादको तर्कसँग सहमत छन् । ‘बिहान चिया खान आउँदा साथी भाईहरुसँग भेट हुन्छ । दिउँसो सबै आफ्ना काम, व्यवसायमा जान्छन् त्यसैले बिहानै चिया खान निस्कँदा साथीभाइहरुसँग भेटघाट हुन्छ । भलाकुसारी हुन्छ । देशको राजनीति, टोल छिमेकको बारेमा चर्चा हुन्छ ।’–नौसाद भन्छन् ।

नेपालगन्जको पुरानो र व्यस्त त्रिभुवनचोक होस या विपि चोक, पुष्पलालचोक होस या धम्बोझी चोक । हरेक चोकको बिहानी गतिविधि चिया खाने र बेच्नेहरुको चहलपहलबाट सुरु हुन्छ ।

धम्बोझी चोकमा ३० वर्षभन्दा बढि समयदेखि चिया बेचिरहेका गनि अहमद बिहान चार बजेदेखिनै चिया खानेहरुको लर्को लाग्ने गरेको बताउँछन् । आफ्नो जीवनको आधा भन्दा बढि समय चिया बेचेका गनी चिया एउटा पेय पदार्थमात्र नभइ मित्रतालाई बलियो बनाउने माध्यम भएको बताउँछन ।

नेपालगन्जमा सयौंको संख्यामा चिया बेच्ने बाटा किनारका यस्ता पसलहरुछन जसले यहाँका भिन्न भिन्न जातजाति, सँस्कृति, भाषाभाषी र धर्मावलम्बीहरुलाई जोडेको छ । दुध, चिया, चियापत्ति वा पानी, चिनि, कागती मिश्रित चिया एउटा पेयपदार्थ मात्र नभई यहाँको दैनिक जीवनको एउटा अभिन्न अंग बनेको छ ।

Tea culture
photo by Bishal Ranamagar

दोस्तीयारीको मियो

‘चिया त घरमै पनि खाइन्छ । तर चोकमा चिया खान आउँदा साथीभाइहरु भेटिन्छन् र नयाँ कुराहरु थाहा पाउन सकिन्छ ।’ रेडक्रसकर्मी अजिज भन्छन्, ‘चियाले दोस्तीयारीलाई जीवन्त बनाउन मद्दत गरेको छ ।’

भेरी अन्चल अस्पतालमा कार्यरत चर्म रोग विशेषज्ञ डा. बद्रि चापागाई चियालाई मित्रताको सुरुवात मान्छन । चियाको महत्वको बारेमा डा. चाँपागाई फेसबुकमा लेख्छन्, ‘चिया कुनै पनि संवादको सुरुवात पनि हो । जतिसुकै बेला पनि कुनै हल्का परिचित मान्छे भेटियो भने प्रायले बोल्ने सुरु गर्ने ‘पंच लाइन’ “चिया खानु भो ?’ बाटनै हुन्छ ।’

यसैगरी शोभा गुरुङ्ग चियाबारे फेसबुकमा लेख्छिन्, ‘चियासँगको अनगिन्ती नाता छ । यो भलाकुसारीको माध्यम, कुनै नयाँ योजनाको छ्लफल, कुनै नयाँ बिचार, टोलछिमेकसँंगको निकटता, पाहुनाको सत्कार, आलस्यको ओखती, आफु फ्रेस हुने माध्यम हो त्यो पनि थोरै खर्चमा ।’

अधिकारकर्मी भोला महत नियमित चिया खाने मध्येका एक हुन् । हरेक बिहान मोर्निङ्ग वाक सकेपछि बाटिका होटल अगाडि चिया पिउँदै गरेका भेटिने अधिकारकर्मी महतले चियाले सम्बन्ध विस्तार र खुलस्त भएर आफ्ना कुरा राख्ने वातावरण दिने बताउँछन् ।

सद्भाव बढाउने पेय

कोही साथी भेटियो वा घरमा कोही पाहुना आएमा सबै भन्दा पहिले अफर गरिने चिज हो चिया । यो एउटा औपचारितामा मात्र सिमित बस्तु भने होइन । सँगै बसेर चिया पिउँदा एकअर्काबिच आप्mना काम, दुःख, सुख, व्यवपार व्यवसाय, अध्ययन तथा पारिवारिक विषयमा पनि कुराकानी हुन्छन् ।

नेपालगन्जमा भिडियो निर्माणसँग आवद्ध शैलेन्द्र जीएन चियाले व्यक्तिव्यक्ति बिचमा सद्भावको भावनालाई बलियो बनाउन सहयोग गर्ने गरेको बताउँछन् ।
जीएन मात्र होइनन् ।

विपिचोक नजिकको गण्डकी चिया पसलमा चिया पिउँदै गर्दा भेटिएका राँझाका तिलक मगर आफुले साथीहरुलाई भेट्न बोलाउनुपर्दा चियाको अफर गर्नेगरेको बताउँछन् ।

Tea Culture
Photo by Bishal Ranamagar

आ–आफ्नै अड्डा

नेपालगन्जको कुन ठाँउमा गएर चिया खाने भन्ने कुरा तपाइको पेशा वा व्यवसायले पनि निर्धारण गर्छ । प्रायः जसो बिहानी हिँडडुलमा निस्कनेहरुले चिया गफका लागि आआफ्नै अड्डा बनाएका छन् ।

कारकाँदो रोयल होटल नजिक रहेको गुल्मेली होटलमा एकबिहानै दर्जन बढि व्यापारीहरुको भेटघाट हुन्छ । मोर्निंग वाक सकेपछि सधैंजसो यो टोलीले गुल्मेली होटलमा बनेको कागती मिश्रित चिया खाने गरेको होटल सन्चालक बताउँछन ।

अलि पर बाटिका होटलको सामुन्ने बिहानै पुग्नु भयो भने अधिकारकर्मी र डाक्टरहरुको जमघट देख्नुहुन्छ । यो अड्डामा प्रायः भेटिनेमा अधिकारकर्मी भोला महत, प्रकाश उपाध्याय, केशव कोइराला, श्रीराम सिग्देल, डा. सुरेश कनोडिया, डा. बद्रि चापागाई, व्यवसायी कृष्ण जिसिलगायत हुन ।

मेडिकल रिप्रिजेन्टेटिभहरुले भने एसबीआई बैंक अगाडी रहेको युनाइटेड ड्रग हाउसको तल्लो तलामा रहेको चिया पसललाई आप्mनो अड्डा बनाएका छन् । यहाँ बिशेषगरी बेलुकीपख चिया पिउनेहरुको भिडभाड बाक्लो हुने गर्छ ।

इदगाह रोडमा रहेको गुड्डुको चिया पसल भने नौजवानहरुको भिडभाड हुने ठाउँ हो । चियाको साथमा सन्चालक नफिसले राखेको हाइस्पिड इन्टरनेटमा पब्जी गेम खेल्न आउने युवाहरु दिनैभरी गुड्डुको चियापसलमा भेट््न सकिन्छ ।

विपि चोकको गण्डकी चियापसल नपुग्ने कमै होला । कुनै कामले भेट्नु पर्यो भने गण्डकीमा चिया खाउन भन्ने सुन्नु भयो भने नेपालगन्जीयाका लागि नौलो हुँदैन । नेपालगन्ज उपमहानगरपालिकामा काम विशेषले आउनेहरुका लागि पनि गण्डकी चिया पसल बात मार्ने चुनिन्दा थलो हो ।

कारकाँदो चोकमा रहेको चौधरीको चियापसल प्रायः जसो जग्गा कारोबारमा संलग्नहरुको बाक्लै उपस्थिति देख्न सकिन्छ । यसबाहेक आसपास रहेका अटो मोटरसँग सम्बन्धित पसलहरुकोमा पनि चौधरीकैबाट चिया जान्छ ।

चियाको अर्थराजनीति

बागेश्वरी मन्दिरको दक्षिण गेट नजिक चिया पसल राखेका पूर्ण श्रेष्ठ दिनमा २० लिटर भन्दा बढि दुधको चिया बेच्ने गरेको बताउँछन् ।

कारकाँदो चोकमा चिया पसल गर्ने अतवारी थारुको पनि चियामा दैनिक ५० देखि ७० लिटर दुध खपत हुन्छ । त्रिभुवनचोक पूर्व लाइनमा रहेको राहुल चिया पसलले दिनको करिब ३० लिटर दुधको चिया बेच्ने बताए ।

बागेश्वरी मन्दिरको दक्षिण गेटमा मिठाइ पसल सन्चालन गर्ने त्रिलोकी गिरि नेपालगन्जमा प्रत्येक दिन कम्तीमा पनि ७ सय देखि १ हजार लिटर दुधको चिया बिक्रि हुने अनुमान गर्छन ।

नेपालगन्ज आसपासका गाउँ र सीमावर्ती भारतीय सहरबाट पनि सयौं लिटर दुध नेपालगन्जमा भित्रिन्छन जसका मुख्य ग्राहक मिठाइ पसले र चिया पसले हुन । नेपालगन्जमा बिक्रि हुने चियाको बारेमा एकिन तथ्यांक भने छैन ।

यो समाचार तयार गर्दाका बखतमा कुराकानी गरिएका चिया पसले, दुध बिक्रिकर्ता तथा चिया पसलमा भेटिएकाहरुसँगको कुराकानीका आधारमा नेपालगन्जमा दैनिक करिब ७ देखि १० हजार लिटर भन्दा बढि दुध चिया बनाउन खपत हुने गरेको छ ।

कुराकानीलाई आधारमान्दा नेपालगन्जमा दैनिक ५ लाख भन्दा बढिको दुध चियाका लागि खपत हुन्छ ।

दुध बजार र असन्तुष्टि

नेपालगन्जमा बेचिने चियाको लागि दुधको आपुर्ती नेपालगन्ज आसपासकै दर्जनबढि गाउँहरुले गर्छन ।

हरेक दिन बिहान त्रिभुवन चोकमा पचास भन्दा बढिको संख्यामा नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकाका गाउँबाट दुध लिएर आउनेहरु दुध किनबेचमा व्यस्त देखिन्छन् ।

Tea Culture
Photo by Bishal Ranamagar

साइकलमा दुधको भाँडो लिएर नेपालगन्ज आउने उनिहरुमध्येले दिनमा कम्तिमा पाँच देखि बढिमा ५० लिटरसम्म दुध बेच्ने पिप्रहवाबाट दुध बेच्न आएका फौजदार वर्माले बताए ।

नेपालगन्ज शहरलाई प्रत्येक दिन दुुध आपुर्ती गर्नेहरुमा पिप्रहवा, बालेगाउँ, ढोडेगाउँ, पुरैनी, विर्ता, करमोहना, ढोडेगाउँ, इन्द्रपुर, रमुवापुर, बन्जारेगाउँ, पण्डितपुर्वा, बनियागाउँलगायत करिब दुई दर्जन गाउँहरु प्रमुख हुन । यी गाउँहरुमध्ये एउटा गाउँबाट कम्तीमा पनि १० जनाले दुध बिक्रि गर्दै आएका छन् ।

जानकी गाउँपालिका ३, बन्जारेगाउँबाट दुध बिक्रि गर्न आउने जगेश्वर यादव आफ्नो गाउँमा मात्रै १० जना भन्दा बढिले दैनिक नेपालगन्जमा दुध बिक्रि गर्ने बताउँछन् । ‘हाम्रो गाउँमा भैंसी पाल्ने एक जनाले कम्तिमा पनि ३० लिटर दुध बेच्छन्, जगेश्वरले भने ।

यद्यपी जोगागाउँबाट दुध बेच्न आएका पवितराम यादव भने दुध बिक्रिबाट सन्तुष्ट छैनन । ‘सरकारले भारतबाट आउने दुधमा कडाइ नगर्दा नेपाली किसानहरु मर्कामा परेका छन’्, उनले असन्तुष्टि पोखे, ‘भारतबाट ल्याउने दुधमा क्रिम निकालेको हुन्छ त्यसैले उनिहरु सस्तोमा दिन्छन । तर हामीले शुद्ध दुध दिनेहुँदा बढि भाउ लगाउनुपर्छ त्यसैले कहिलेकाही त नेपाली किसानहरुको दुधनै बिक्रि हुँदैन ।’
यादवसँगै त्रिभुवनचोकमा दुध बेच्न बसेका पिप्रहवाका मन्साराम कश्यप पनि भारत बाट आउने दुधका कारण नेपाली दुध उत्पादनकर्ताहरु मर्कामा परेको बताउँछन् । ‘एउटा भैसीलाई स्याहार्न एक जना दिनभरी खट्नै पर्छ, तर उत्पादन गरेको दुधले उचित भाउ पाउन सकिरहेको छैन । किनकी भारतबाट आउने दुध सस्तो छ र त्यही मुल्यमा हामीले बेच्न सक्दैनौ ।’, कश्यपले दुखेसो पोखे ।

‘मट्का चाहियो ’

रञ्जित चौरासियालाई सानो छँदासम्म कुम्हारहरुले बनाउने मट्का (माटोको कप)मा चिया खाएको याद अहिले पनि ताजा छ ।

मट्का जसलाई स्थानीय भाषा कुज्जा भनिन्छ जुन यहाँका कुम्हाल जातीले बनाउने गर्छन ।

माटोको भाँडोमा चिया खाँदा त्यसले पानी सोस्ने भएका कारण चियाको असली स्वाद पाइने चौरासिया बताउँछन् ।

सिसा तथा प्लाष्टिकको गिलास आएपछि कुज्जा भने हराएर गयो । अहिले नेपालगन्जमा बढ्दो प्लाष्टिकको गिलासका कारण सडक फोहोर भएको छ भने वातावरणसमेत प्रभावित भएको छ ।

आरिफ अन्सार मटकालाई पुर्नप्रयोगमा ल्याउन धेरै कोशिश गरेको भन्दै फेसबुकमा लेख्छन, ‘मटका बनाउने कुम्हाल तथा चिया पसलेहरूसंग छलफल गरेको थिएँ । तर सफलता मिलेन । कोशिश अझै जारी छ ।’

वातावरण अधिकारकर्मी तेजविक्रम शाह प्लाष्टिकका गिलासमा चिया खाँदा वातावरण प्रदुषणका साथै मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको बताउँछन् । ‘बजारमा अहिले प्लाष्टिकको भाँडामा चिया बेच्ने गरिन्छ, प्लाष्टिकमा चिया खाँदा यसले रोगहरु निम्त्याउने सम्भावना उच्च रहन्छ’, शाहले भने, ‘यसको विकल्पको रुपमा मट्कालाई पुर्नस्थापित गर्न सकिन्छ ।’

माटोबाट बन्ने भएकाले मट्का (कुज्जा) सजिलै नष्ट गर्न सकिने र वातावरणमैत्री भएकाले अब पुनः मट्कानै चाहिने शाह बताउँछन् । यसले कुम्हाल जातीहरुको पेशालाई संरक्षण गर्न र नेपालगन्ज नगरको सरसफाईको अवस्थालाई पनि सुधार्न सकिन्छ ।

Tea Culture
Photo By Bishal Ranamagar

यस ब्लगको फोटो कथा यहाँ छ ।

यी पडकाष्टहरुको तयारी पनि चियाको चुस्कि लिँदै भएको थियो ।

नेपालगन्जका अगुवा फोटोग्राफर देविप्रसाद रस्तोगीसंग नेपालगन्जको फोटोग्राफी इतिहासको बारेमा गरिएको पडकाष्ट
अग्रज पत्रकार झलक गैरेले मसँग गर्नुभएको गन्थन मन्थन
लागु औषध मुक्त समाज निर्माण गर्ने अभियानमा सक्रिय युवा प्रविण विसीसँग गरिएको पडकाष्ट

 

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

रुचाइएका सामाग्रीहरु

  • [ Cultural Shock!] म पापी !
  • [Nepali Festival] परदेशको दशैं
  • [Violence aginst Women] महिला हिंसाका उस्तै रुप
  • [An Open Letter] शुशिल दा’लाई खुला पत्र
  • [Nepali Community in Uganda] युगाण्डामा तीज मिलन

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb