Skip to content

bishalpana

बिशाल पाना

Menu
  • मेरो बारेमा (About Me)
  • travel
  • nepalgunj
  • africa
Menu
Bageshwori Temple Viral Photo

बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!

Posted on November 9, 2024November 10, 2024 by bishalpana

तपाईले गुगलमा बागेश्वरी मन्दिर भनेर सर्च गर्नुभएको छ ? गर्नुभएको छ भने बागेश्वरी मन्दिरको यो फोटो (Bageshwori Temple Viral Photo) पक्कैपनि देख्नुभएको होला । कतिले यो फोटो सामाजिक सन्जालमा पोष्ट भएको पनि देख्नुभएको होला ।
बागेश्वरी मन्दिरको यति राम्रो फोटो कसले खिच्यो होला भनेर जान्न मन लागेन ? लागेको छ भने यो ब्लग पुरा पढ्नुहोला है ।

यो फोटो म लेखकले खिचेको हुँ । यो फोटो थुप्रै व्यक्ति, संस्था तथा व्यापारिक प्रतिष्ठानले अनुमति नलिइ प्रयोग गरेका छन् । नेपालको प्रतिलिपि अधिकार अनुसार श्रष्टाको अनुमति नलिइ फोटो प्रयोग गर्नु गैर कानूनी कार्य हो । मैले अब यो फोटोको प्रतिलिपि अधिकार दावि पनि गर्न थालेको छु ।

बागेश्वरी मन्दिरको फोटो खोजी हुँदा

‘बागेश्वरी मन्दिरको यो फोटो तपाईले खिचेको हो ?’, फोनमा कसैले सोध्यो । ‘कुन फोटो होला? किनकि मैले बागेश्वरी मन्दिरको त थुप्रै फोटो खिचेको छु ।’ मैले प्रत्युत्तरमा भने ।

फोटोग्राफी सिक्ने सुरुवाती दिनमा बागेश्वरी मन्दिर वरपरनै सबैभन्दा बढि डुलियो । बागेश्वरी वरपरका प्रायः सबै मन्दिर र ठाउँका फोटो खिचियो 

‘त्यो फोटो जसमा बागेश्वरी मन्दिरको पछाडी सुनौलो बादल छ नि’, थप प्रष्टिकरण आएपनि म निश्चिन्त भए कि त्यो मैलेनै खिचेको फोटो हो ।

‘हो हो, त्यो मैले नै खिचेको फोटो हो ।’ पाल्पा यात्रामा रहेको मैले उत्साहित हुँदै जवाफ दिए, ‘किन र के का लागि होला ?’

मलाई फोन गर्ने व्यक्ति काठमाडौंमा रहेको एक विज्ञापन एजेन्सीका प्रतिनिधि रहेछन् । एनआईसी बैंकको क्यालेण्डरका लागि बागेश्वरी मन्दिरको फोटो चाहिएको रहेछ ।

‘तपाईले खिचेको बागेश्वरीको मन्दिरको फोटो उत्कृष्ट लाग्यो । त्यो फोटोलाई क्यालेण्डरमा छाप्नका लागि किन्न खोजेका हौं’, उनले भने ।

फोटो किन्ने? पहिलो पटक कसैले मैले खिचेको फोटो किन्छु भनेको सुन्दा मन त एकछिन रोमान्चित भयो ।

‘तपाईसँग यसको रअ (RAW) फाइल छ नि?’ उनले सोधे । मैले छ भनेर जवाफ दिए । किनकि व्यवसायिक फोटोग्राफरले रअमा फोटो राखेको हुनुपर्छ ।

फोटोग्राफरले रअ फाइल दिन सकेमात्र फोटो उसकै हो भन्ने आधार हुँदो रहेछ । मैले खिचेको बागेश्वरीको त्यो फोटोको रअ फाइल सुरक्षित राखेको थिए । तर यसरी काम लाग्ला भनेर चाहि सोचेको थिएन ।

मलाई फोटोग्राफी सिकाउँदा गुरु ओम यादवले भन्नु भएको थियो, फोटोको र फाइल भनेको नपकाइएको कुखुराको मासु हो । यसलाई सेकुवा, भुटुवा, सुख्खा, झोलवाला जस्तो परिकार बनाउन पनि सकिन्छ । अनि जेपिइजि फाइल (जुन सामान्य रुपमा खिचिन्छ) भनेको पकाइ सकेको मासु हो जसलाई अन्य परिकारमा परिणत गर्न प्रायः सम्भव हुँदैन । अझ भनौ त्यसबाट धेरै परिकार बनाउन सम्भव हुँदैन ।

फोटो लिने पक्कापक्की भयो ।

‘फोटोको कति लिने?’ यो प्रश्न झनै रोमान्चित थियो । फोटोग्राफी सुरु गरेदेखि पहिलो पटक कसैले मैले खिचेको फोटोका मोल सोध्दै थियो ।

के भनु के भनु भयो । धक मान्दै प्वाक्क मुखमा आयो ‘पाँच हजार ।’

बिना कुनै मोलमोलाई उताबाट स्वीकारोक्ति आयो ‘ओके, हुन्छ हामी तपाईलाई कर काटेर पाँच हजार दिन्छौं ।’

पहिलो पटक त्यो पनि आफुले खिचेको फोटोको आफुले मागेको मोल पाउँदाको खुसी के भनिसाध्य ।

‘थुक्क ! अलि धेरै मोल भन्नुपने, के थाहा दिइ पो हाल्थ्यो कि?’, मान्छे न हो मनमा लालसा नआएको भनेहोइन ।

जीवनमा पहिलो पटक आफुले खिचेको फोटो खिचेर पाँच हजारको चेक पाउँदा बडो अचम्म लागेको थियो ।

बागेश्वरी मन्दिरको भाइरल फोटो पछाडीको कथा

सन् २०१४ मा पहिलो पटक निकोनको डिएसएलआर क्यामेरा किने । फोटोग्राफीको हुटहुटी थियो । मेरा फोटोग्राफीका गुरु ओम यादवकै सल्लाहमा निकोन डि५३०० [Nikon D5300] क्यामेरा किनेको थिए । 

क्यामेरा इन्ट्रि लेभलको तर फोटोको क्वालिटि बडो गज्जब । त्यही क्यामेरा चलाएर होला अहिलेसम्म पनि निकोनको भन्दा अरु क्यामेराले मेरो मन जित्न सकेका छैन ।

क्यामेरा किनेको एक वर्षमै मैले १ लाख भन्दा बढि फोटो खिचेको रैछु । सटर काउण्ट गर्दा पो थाहा भयो ।

नयाँ नयाँ क्यामेरा, अनि फोटोग्राफी गर्ने जोश । बागेश्वरी मन्दिर र आसपासको त हजारौं फोटो खिचे । त्यसबाहेक नेपालगन्जमा हुने मेला पर्व, कार्यक्रम, चाडवाडका साथै नेपालगन्ज फोटोवाकर्समार्फत हरेक शनिबार नेपालगन्जका गल्लीगल्ली पुगेर फोटो खिचे ।

यहि क्रममा सन् २०१५ मा एकदिन फोटोग्राफर भरतबन्धु थापा नेपालगन्ज आउनु भएको थियो । उहाँसँग गाभर भ्याली घुम्न गइयो । नेपालगन्ज फर्कदा मौसम त्यति खुलेको थिएन । आकाशमा हल्का बादल थियो । बागेश्वरी पनि जाउँ न त भनेर गयौं ।

भरत दाई फोटो खिच्नमा ब्यस्त हुनुहुन्थ्यो । 

मैले बागेश्वरी मन्दिर हेर्दै थिए । घाम डुब्ने तरखर गर्दै थियो । मन्दिरको पछाडी बादलको थुम्को देखियो । जसलाई डुब्दै गरेको सुर्यको किरणले सुनौलो आकार दिएको थियो । मान्छेहरु मन्दिर दर्शको लागि पश्चिम ढोकाबाट प्रवेश गर्दै थिए । मैले ४–५ सट फोटो खिचे । फोटो अलि अण्डर एक्सपोज आएको थियो ।

घर आएर फोटोलाई इडिट गरेपछि पो लाग्यो साँच्चिकै राम्रो फोटो आएछ ।

त्यो फोटो पछि भार्गव विकास बैंकले पनि आफ्नो वार्षिक क्यालेण्डरमा छापेको थियो ।

बागेश्वरी मन्दिरको फोटो नकिन्नेको कथा

फोटो चाहिएको छ, गुगल गर्यो । फोटो डाउनलोड गर्यो अनि प्रयोग गर्यो । होर्डिंग बोर्ड हुन वा क्यालेण्डर, किताब हुन या विज्ञापन, नेपालगन्ज मात्र होइन नेपालका धेरै भागमा मैले आफुले खिचेको फोटो प्रयोग भएको भेटेको छु ।

फोटोग्राफर पनि एक सर्जक हो । कसैले सिर्जना गरेको कुरा प्रयोग गर्दा सर्जकको अनुमति वा सर्जकसंग खरिद गर्नुपर्ने हो । तर त्यो नेपाली व्यवहारमा देखिदैन ।

बुद्ध एयरले मैले खिचेको बागेश्वरी मन्दिरको फोटो व्यवसाय प्रवद्र्धन प्रचारसामाग्रीमा प्रयोग गरेछ । प्रदिप राजवंशी भाईले तत्काल जानकारी गराइहाले । 

मैले बुद्ध एयरलाई म्यासेज गरेपछि त्यो पोष्टमा फोटो क्रेडिट दिएको थियो । त्यसपछि पनि थुप्रैले यो फोटो प्रयोग गरेका छन् । म तिनका पछि लाग्न भने छोडिसकेको थिए ।

पछि लागु पनि कतिको? नेपाली समाजमा फोटो पनि कसैले किन्छ? भन्ने मानसिकताले गर्दा यस्तो भइरहेको जस्तो लाग्छ ।

अब भने लाग्नुपर्ने देखियो ।

तर हालै लर्डस भन्ने होटल चेनले इन्स्टाग्राममा फोटो प्रयोग गरेको छ । मैले जानकारी पनि गराए । तर आज यो लेख छाँपिदासम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

कस्तो छ नेपालको प्रतिलिपि अधिकार ? 

नेपालमा साहित्यिक र कलात्मक सम्पत्तिसम्बन्धी व्यवस्थाको सुरूवात प्रतिलिपि अधिकार ऐन, २०२२ लागु भएपछि भएको हो । हालको अन्तराष्ट्रिय पद्धतिअनुरुप तयार पारिएको नयाँ प्रतिलिपि अधिकार ऐन, २०५९ ले साहित्यिक, कलात्मक र अनुसन्धानात्मक रचनाहरु, नाटक, चलचित्रलगायत श्रव्यदृश्य रचना, चित्र तथा मूर्ति, नक्सा, फोटोेजन्य रचना, कम्प्युटर प्रोग्रामसम्बन्धी कार्यहरूको संरक्षणको व्यवस्था गरेको छ ।

ऐन अनुसार कुनै पनि रचनालाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुनेछ । प्रतिलिपि अधिकार प्राप्त गर्न कुनै पनि रचना, ध्वनि अड्ढन प्रस्तुति वा प्रसारण दर्ता गराउनु अनिवार्य गरिएको छैन । स्वेच्छाले दर्ता गराउन चाहेमा दर्ता गर्न सकिन्छ । 

प्रतिलिपि अधिकार ऐनले कुनै पनि रचनाको धनीलाई आर्थिक र नैतिक अधिकार प्राप्त हुने व्यवस्था गरेको छ ।

प्रतिलिपि अधिकारअनुसारको आर्थिक अधिकारअन्तर्गत रचनाको पुरुत्पादन, अनुवाद, परिमार्जन, संशोधन, रुपान्तरण गर्ने, बिक्रि वितरण वा बहालमा दिने, आयात गर्ने, प्रदर्शन, प्रसारण वा सञ्चार गर्ने आदि कुराको अधिकार रचनाको धनिलाई हुनेछ ।

प्रतिलिपि अधिकार ऐनले अनुमति बिना अरुको रचना वा ध्वनि अंकको प्रतिलिपि उत्पादन गरी बिक्री विरण वा सार्वजनिक सञ्चार गरेमा, भाडामा दिएमा, अरुको रचनाको ख्यातिमा सर पुर्याउने किसिमले अनुकरण गरी विज्ञापन वा प्रचारप्रसार गरेमा प्रतिलिपि अधिकारको उल्लंघन गरेको मानिने व्यवसथा गरेको छ ।

नेपालमा फोटोग्राफी फोटोपत्रकारिता र प्रतिलिपि अधिकार बारे गरिएको छलफल

https://www.facebook.com/share/v/1DcjDFGovY/

नेपालमा प्रतिलिपि अधिकारको अवस्था

नेपाल प्रतिलिपि अधिकार रजिष्टार कार्यालयको हालै सार्वजनिक तथ्यांकले आर्थिक वर्ष २०७९/८० सम्म २ हजार ६ सय ६४ जनाले आफ्नो रचनाका प्रतिलिपि अधिकार दर्ता गराएका छन ।

त्यस अवधिसम्म दर्ता भएका रचना मध्ये ५० वटा फोटोजन्य रचना थिए ।

Bageshwori Temple Viral Photo

आ.ब. २०८०/८१ मा थप ११६ वटा रचना दर्ता भएका छन् । तर यस अवधिमा फोटोजन्य सामाग्री भने दर्ता भएका छैनन् ।

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सुरेशचन्द्र अधिकारी चित्र विधा अन्तर्गत डिजिटल चित्र (आर्टिफिसियल इन्टेलिजेन्स बाट सिर्जित समेत) लाई प्रमाणपत्र उपलब्ध नगराइने गरिएको बताउनुहुन्छ ।

सूचना अधिकारी अधिकारीले प्रतिलिपि ऐनले सबै सिर्जनालाई दर्ता गर्न अनिवार्य समेत नगरेको जानकारी गराउनुभयो ।

यद्यपी सर्जकले आफ्ना रचना बिना अनुमति प्रयोग गरिएको पाएमा आवश्यक कारवाहीको लागि हकदाबी भने गर्न सकिने प्रावधान रहेको छ ।

आफ्नो रचना दर्ता गराउन नि कहाँ सजिलो छ र ?

नेपालको प्रतिलिपि अधिकार कानूनले रचना दर्ता गर्नु अनिवार्य छैन । यद्यपी आफ्नो रचना दर्ता गराउँदा यसले कानुनी रुपमा श्रष्टालाई बलियो बनाउँछ ।

यहि सोचेर मैले पनि बागेश्वरी मन्दिरको फोटो दर्ता गराउने प्रक्रिया थाले ।

नेपाल प्रतिलिपि अधिकार रजिष्टारको बेवसाइटमा गएर आफ्नो प्रोफाइल बनाइसकेपछि फोटो दर्ता प्रक्रिया सुरु भयो ।

दर्ता गर्नका लागि पहिलो दिन बेवसाइट खोल्दा चल्यो । सबै जानकारीहरु राखे । दर्ता गर्नका लागि टिकट बापत १० र रचना दर्ता गरेवापत १०० रुपैयाँ तिर्नुपर्ने रहेछ ।

बेवसाइटमा त कनेक्ट आइपिएसबाट पनि तिर्ने व्यवस्था छ भनेको छ । तर कनेक्ट आइपिएसबाट मरिगए शुल्क तिर्न सकिएन ।

अनि सम्झे सुखदुखको भाइ तिलक गाहामगर । उनलाई जानकारी पठाएपछि राष्टिय बाणिज्य बैंक रुकुमकोटमा भएका उनका साथीले मेरोलागि उक्त रकम तिरेर भौचर पठाइ दिए ।

अहिले चिया पिएको पैसा पनि मोबाइल बैंकिङ्गबाट हुने बेलामा रचना दर्ताको शुल्क तिर्न प्रयोगकर्ता मैत्री भुक्तानी प्रणाली नभएकोमा भने दिक्क लाग्यो ।

भौचर त आयो । भौचर बेवसाइटमा रहेको अनलाइन निवेदनमा राखेपछि मात्र आवेदन पेश गर्न मिल्ने । अर्को दिन त बेवसाइट त खुल्यो तर रचना दर्ताका लागि आवेदन दिने पोर्टल मरे खुले पो ।

केहि दिनको प्रयास पनि बल्ल मैले निवेदन पेश गर्न पाए । स्वीकृत किन भएन भनेर सूचना अधिकारी अधिकारलाई ह्वाट्सएपमा सन्देश पठाएपछि, फोटोजन्य रचनालाई प्रमाणपत्र उपलब्ध नगराउने गरिएको जानकारी पाए ।

एउटा फोटोको प्रतिलिपि अधिकार दर्ता गराउँदाको यो भोगाइले अनलाइनबाट नेपाल सरकारी सेवा लिन अझैपनि कति कठिनाई छ भन्ने प्रष्ट हुन्छ ।

मेरो भन्नु

एउटा फोटोग्राफरले एउटा फोटो खिच्नका लागि धेरै लगानी गरेको हुन्छ ।

लाखौंका क्यामेरा, घण्टौको शीप, ज्ञान र मेहनत लगाएको हुन्छ ।

सित्तैमा पायो भन्दैमा जस्को पायो त्यसको फोटो डाउनलोड गरेर प्रयोग गर्नु अरुको परिश्रमको अवमुल्यन मात्र होइन, अपराध हो ।

नेपालमा फोटोग्राफी पेशा व्यवसायिक बन्दै गएको छ । व्यवसाय प्रवद्र्धनका लागि धेरैले फोटोसहितका सामाग्रीहरु छर्पाइ गर्ने गरेका छन् ।

सामाजिक संजालबाट पनि प्रचार प्रसार गरिने गरिएको छ । यदि त्यस्ता सामाग्रीमा प्रयोग गरिने फोटो किनेरै प्रयोग गर्न थालियो भने फोटोग्राफीको व्यवसायिकरणमा मद्दत पुग्नेछ ।

यसो गर्नमा नेपाल सरकारले बिना अनुमति कसैले खिचेको फोटोलाई प्रकाशन गर्न नपाइने व्यवस्था गर्नु जरुरी छ ।

यो फोटोको सबैभन्दा बढि चिन्ता गर्ने प्रदिप भाई

‘दाई त्यो फोटो फेरी हालेछ ।’
केहिदिन अघि इन्टाग्राममा प्रदिप भाईको म्यासेज आयो ।
‘कल्ले कुन फोटो हाल्यो भाई ?’ मैले भने ।
त्यो हजुरले खिचेको बागेश्वरीको फोटो के दाई । ’

नेपालगन्जमा खुल्न लागेको एउटा होटलले इस्टाग्राम पोस्टमा मैले खिचेको बागेश्वरी मन्दिरको फोटो हालेको रहेछ ।

बागेश्वरीको फोटो भन्ने बित्तिकै मैले बुझीहाले यो त्यही फोटो हो भनेर ।
‘ह्याँ, छोडीदेउ यार ।’ मैले प्रत्युत्तरमा लेखे ।

‘के गर्नुदाई त्यो फोटोको साह्रै माया लाग्छ । पहिलो चोटी मेरो आँखा परेको फोटो हो ।’ प्रदिप भाई सधैंजसो भन्छन्, ‘अहिलेसम्म बागेश्वरी मन्दिरको यस्तो फोटो कसैले खिचेकै छैन् ।’

यो ब्लग २१ अक्टुबर २०२४ मा दैनिक नेपालगन्जमा प्रकाशित भएको छ ।

नेपालगन्जका अगुवा फोटोग्राफर देविप्रसाद रस्तोगीसंग नेपालगन्जको फोटोग्राफी इतिहासको बारेमा गरिएको पडकाष्ट

Related

Leave a ReplyCancel reply

अनुरोध

यस ब्लगमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनको लागि पूर्व स्वीकृतिका लागि contact@bishalpana.com मा इमेल गर्नुहोला। धन्यवाद ।

हालसालैका सामाग्रीहरु

  • फिल्मि ज्ञान-5 Lessons: How to Get Smart with Money?
  • बागेश्वरी मन्दिरको भाइरल फोटो ! Bageshwori Temple Viral Photo!
  • कटुशब्द झेलेकी परिना Gender and Sexual Minorities in Nepal
  • Moist Attack on Nepal Television in 2005: प्रशारण हुन नसकेको त्यो अन्तरवार्ता
  • डा. बिनोद कर्ण: A Plastic Surgeon beyond Surgery- with Video
©2025 bishalpana | Built using WordPress and Responsive Blogily theme by Superb