एक साँझ कार्यालयबाट घर फर्कदै गर्दा पुष्पलाल चोकमा आधा दर्जन बढि ट्राफिकहरुले धम्बोझीतर्फ जाने सवारी रोकेका थिए । रोकिनेहरुको भिडमा म पनि एक थिए । ट्राफिक प्रहरीले अगाडि नबढ्न संकेत गर्दा पनि केही सवारीसाधनहरु जेब्रा क्रसिंग भन्दा अघि बढेका देखिन्थे । सायद ट्राफिक नियम मिचेको भएर होला केहीलाई ट्राफिकले रोकेर कारवाही पनि गर्दै थिए । करिब दुई मिनेट त्यो भिडमा रोकिँदा म भन्दा पछाडी सयबढि सवारीसाधनहरु लाममा लागिसकेका थिए । त्यही दुई मिनेट रोकिँदा मेरो मनमा यो आलेख फुरेको हो ।
अघिल्लो बिहान मैले फेसबुकमा रोकिएका बेला खिचेको फोटो सहित ‘मेरो शहरमा ट्राफिक व्यवस्थापनको यो अभ्यास देखियो । अब चोक चोकमा रातो, पहेलो, हरियो बत्ति (ट्राफिक लाइट) देख्ने इच्छा छ । कहिले पुरा होला?’ भन्ने स्टाटस लेखे । त्यसमा रुम गुरुङ्गले दिनुभएको प्रतिक्रियाले मन छोयो । हो रुमजी नेपालगन्जमा ट्राफिक बढेको छ र अब हामीलाई रातो, हरियो र पहेँलोको आवश्यकता छ । यानिकी ट्राफिक लाइटको ।
नेपालगन्ज–कोहलपुर सडक खण्डको विस्तारपछि यो सडक खण्डमा सडक दुर्घटनाहरु पनि बढेका छन् ।
विशेषगरी चार लेन सडकमा सवारी साधन हाँक्दा ध्यान नपु¥याउनु, लेन नियमको थाहा नुहुनु, नमान्नु र जथाभावी बाटो काट्ने ठाउँहरु हुनु सडक दुर्घटनाका प्रमुख कारणहरु हुन । केही अघि उपमहानगरपालिका प्रमुख, उपप्रमुख आफै खटिएर धेरै ठाउँमा बाटो काट्न बनाइएका खुला ठाउँलाई डिभाडर हालेर अवरुद्ध गरेपनि यो स्थायी समाधान भने होइन । जबसम्म बाटो हिँड्नेहरु ट्राफिक नियम, लेन नियमका बारेमा सचेत भई त्यसका पालन गर्दैनन तबसम्म नगरक्षेत्रमा हुने दुर्घटना न्यूनीकरण हुन सक्दैन ।
सडकमा सुरक्षित हिँडडुल गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । सडक सुरक्षालाई प्रत्याभूत गर्नु राज्यको दायित्व । यो राज्यले प्रदान गर्नुपर्ने सार्वजनिक सेवा पनि हो । त्यसकारण पनि ट्राफिक नियम पालन नभएको भन्दै जरिवाना काट्ने कामले मात्र ट्राफिक व्यवस्थापन चुस्त हुन सक्दैन । यसलाई व्यवस्थित बनाउनका लागि केही रणनीतिक कदम चाल्नु जरुरी छ ।
देखाउने अभ्यास मात्र नहोस
पछिल्लो केही दिन नेपालगन्जका सडकहरुमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ । उनिहरुको उपस्थितिले यो ट्राफिक प्रहरीको जिम्मेवारी सम्हाल्न लागेकाहरुले गरेको अभ्यास भन्ने स्पष्ट बुझिन्छ । यो केही दिन गर्दा ट्राफिक प्रहरीले आफ्नो काम कर्तव्यका बारेमा त शीप हासिल गर्लान तर केही दिनका यस्ता अभ्यासले मात्र नेपालगन्जको ट्राफिक व्यवस्थापन हुन सक्दैन । नेपालगन्जमा सवारीसाधनको चाप बढ्दै गएकाले यो आवश्यक ट्राफिक प्रहरी जनशक्तिको व्यवस्थापन गरी नियमित रुपमा यस्तो काम गरिएमा मात्र जनताहरु अभ्यस्त हुन्छन र ट्राफिक व्यवस्थापन पनि प्रभावकारी हुन्छ ।
सचेतनासँगै कारवाही
राज्यले बनाएका नियम कुनै पनि जनताले थाहा भएन भनेर उम्कन कानुनले छुट दिएको छैन । यति भन्दैमा जबरजस्ती कानून पालना गराउनुमात्र बुद्धिमानी काम होइन । यहाँ जेसिज, लाइन्स, युवा तथा महिला समूह, रोटरी क्लवजस्ता थुप्रै सामाजिक संघसंस्थाहरु छन । उनिहरुसँग आवश्यक समन्वय सहकार्य गरी ट्राफिक सचेतनाका निरन्तर अभियानहरु सन्चालन गर्न तर्फ पनि उपमहानगरपालिका तथा ट्राफिक प्रहरीको ध्यान जानु जरुरी छ । केहीदिनका अभियानले मात्र नेपालगन्ज नगरको ट्राफिक व्यवस्थापन चुस्त हुन सक्दैन । निरन्तरको अभ्यान जरुरी छ । सचेतनासँग ट्राफिक नियमलाई कडा रुपमा पालना गराउनका लागि नियम मिच्नेलाई भने कारवाही गर्न कुनै कसर छाड्नु हुन्न । केही महिना अघि प्रत्येक दिन कार्यालय समयमा ट्राफिक चेकजाँच गरिन्थ्यो । त्यसले मान्छेहरुलाई सवारी चलाउन आवश्यक कागजात बोक्नै पर्छ भन्ने चेतना बढेको थियो । त्यो अभियानलाई किन रोकियो ट्राफिक प्रहरीले सार्वजनिक जानकारी दिनुपर्छ र त्यस अभ्यासलाई पुनः सुरु गर्नुपर्छ ।
चाहियो ट्राफिक लाइट
पाँच वर्ष अघिजस्तो छैन नेपालगन्ज । खुला सडकसँग सवारीसाधनको चाप बढेको छ । अब चोक चोकमा खटाइने केही ट्राफिक प्रहरीले मात्र सवारी व्यवस्थापन गर्न असम्भव प्रायः हुँदैछ । जसरी उपमहानगरपालिकाले अहिले सडकका विभिन्न ठाउँमा डिजिटल यात्रु प्रतिक्षालय राखेको छ त्यसैगरी अब ट्राफिक लाइट पनि राख्नुपर्छ । रातो, हरियो र पहेँलो रंग र यसको अर्थका बारेमा जनतालाई बुझाउनुपर्छ । हामी प्रविधिमय हुँदै जाँदा ट्राफिक लाइट राख्नका लागि उपमहानगरपालिका आफैले कदम चाल्नु जरुरी छ । यसका लागि हाल जारी नगर सभामा यो एउटा छलफलको मुद्दा बन्नुपर्छ ।
अबको केही वर्षसम्मको अवस्थालाई आँकलन गर्ने हो भने नगरका आठ ठाउँमा तत्काल ट्राफिक लाइट राख्नुपर्ने आवश्यकता देखिन्छ । राँझा चोक, कारकाँदो चोक, पुष्पलाल चोक, धम्बोझी (वीरेन्द्र) चोक, विपि चोक, गणेशमान चोक, सेतु विक चोक र त्रिभुवनचोकमा तत्काल ट्राफिक लाइट राख्न तर्फ उपमहानगरपालिकाले कदम चाल्नुपर्छ । यी चोकहरुमा ट्राफिक लाइट राख्नका लागि उपमहानगरपालिकाले आफ्नै बजेट खर्च गर्नुपर्छ भन्ने पछि छैन । यहाँ भएका नीजि व्यवसाय, सहकारी, उद्योग वाणिज्य संघ, नागरिक संघसंस्थाहरुसँग पब्लिक प्राइभेट पार्टनरशिपको अवधारणामा पनि आवश्यक खर्चको व्यवस्थापन गर्न सकिन्छ । यसमा नगरप्रमुखको चासो र सहकार्य गर्ने शिपनै महत्वपूर्ण छ ।
खाँचो नागरिक सहभागीताको
सबै कुरा उपमहानगरपालिकाले बनाउने बजेटमा सम्भव पक्कै छैन । नेपालगन्जमा दर्जनौको संस्थामा नीजि व्यवसाय, उद्योगधन्दा, नागरिक संघसंस्थाहरु छन् । उनिहरुसँगको आवश्यक समन्वय र सहकार्य गरेर ट्राफिक व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि सचेतना अभिवृद्धिका लागि पनि सहयोग लिन सकिन्छ । ट्राफिक व्यवस्थापनका लागि बनाइने नीति निर्माणमा नागरिक समाजको पनि सहभागीता हुन सकेमा उनिहरुले पनि आफ्नो भूमिका निर्वाह गर्न सक्छन् । नगरको विकासमा ट्राफिक व्यवस्थापन एउटा कदम मात्र हो । उपमहानगरपालिकाले नगरको विकासका अन्य काममा पनि यस्ता निकायहरुसँग हातेमालो गर्नु पर्छ । तर उपमहानगरपालिकाले बनाउने कार्यक्रम, नीतिहरुमा नागरिक समाजको सहभागीतालाई नकारियो भने यसले सुन्दर र सम्वृद्ध नेपालगन्ज बनाउने सपना पुरा हुन सक्दैन ।
तसर्थ, नेपालगन्ज उपमहानगरपालिकाले यहाँको ट्राफिक व्यवस्थापनका लागि नगरका भिडभाड हुने चोकहरुमा ट्राफिक लाइट राख्ने कामलाई तत्काल अगाडि बढाउनु पर्छ । यो कामका लागि यहाँका नीजि निकाय तथा नागरिक समाजसँग छलफल र सहकार्य अत्यन्त जरुरी छ । साथै ट्राफिक व्यवस्थापनका लागि गरिने अभ्यासहरु ‘पटके’ नभएर निरन्तरतामा जानुपर्छ । अनिमात्र म जस्ता ‘नेपालगन्जिया’ले भन्न सक्छौ, ‘ट्राफिक व्यवस्थापन सिक्न मेरो शहरमा आउ ।’
Great Story Bishal ji